Fri. Mar 7th, 2025

झुक्याएर संशोधन प्रस्ताव टेबल गरियो : नेता नेपाल

madhav-kumar-nepal
२५ पुस,   इटहरी –

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले झुक्याएर संविधान संशोधन प्रस्तावलाई संसद्मा टेबल गराउने कार्य आपत्तिजनक भएको बताएका छन्।

प्रेस चौतारी सुनसरीले इटहरीमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ नेता नेपालले भने, ‘‘सभामुखले झुक्याएर प्रस्ताव दर्ता गराउने काम संसदीय पद्दतिविरुद्ध छ ।’’

उनले प्रदेश नं ५ का जनताले नचाहेको र माग नै नगरेको विषय चलाएर सत्ता पक्षले संविधानको व्यवस्थालाई समेत ठाडो रुपमा उल्लङ्घन गर्ने काम गरेको आरोप लगाए।

उनले तत्कालीन अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्तिमा संलग्न नेताहरुले गल्ती भएको स्वीकार गरेको तथ्यले पनि नेताहरुप्रति जनतामा अविश्वास बढ्न थालेको बताए।

वरिष्ठ नेता नेपालले अन्य छिमेकी मुलुकमा नागरिकतासम्बन्धी व्यवस्था निकै जटिल र कडा भएको उल्लेख गर्दै नेपालमा भने जसले जे चाह्यो त्यही अनुकूल सहज ढङ्गले नागरिकता प्राप्त गर्न सक्ने गरी संविधानमा उल्लेख गर्न पाउनुपर्छ भन्ने सवाललाई स्वीकार्न नसकिने बताए।

संविधानका सफल कार्यान्वयनसँगै देशले प्राप्त गरेको उपलब्धिलाई संस्थागत गर्न तथा यसको कार्यान्वयन गराउन लाग्नुपर्नेमा वर्तमान सरकार यो वा त्यो बहाना बनाएर निर्वाचनको मिति तोक्नसमेत हिच्किचाइरहेको टिप्पणी गरे।

उनले केही नेताहरुले मधेसको नाममा गरेको राजनीतिकै कारणले चुनाव हुन सक्दैन भन्ने भ्रम रहेको बताए। रासस

२०७३  पुस २५ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: