Fri. Jan 31st, 2025

सरोगेसी अर्थात भाडाको कोख

tilak-ghimire

तिलक घिमिरे ‘निर्मल’ –

भनिन्छ अभाव नै दुष्कर्मको कारक हो । विहान बेलुकाको छाक टार्न, सन्तानको भोको पेटमा माड लगाउन एवं सन्तानको सुखद भविष्यको खातिर जस्तोसुकै जोखिम मोल्न पनि तयार हुने आमाहरु ममताकी सागर, सभ्यताको खानी तथा विकासकी जननी हुन् । आमाले आफ्नो व्यक्तिगत सुख सयलको वास्ता गर्दिनन् सबै अघाए पछि मात्र बचेको खान्छिन् । सबै लालाबाला लाई खाना दिंदा आफूलाई पुगेन भने आज मलाई भोक लागेको थिएन भन्ने पनि तिनै ममताकी खानी हुन् आमा । गरिबी, अभाव र समस्याको कारण अर्काको भ्रुण गर्भमा हुर्काएर अर्काको सन्तानलाई जन्म दिएको विडम्बनापूर्ण उदाहरण हाल विभिन्न सञ्चार माध्यममा सुन्न आइरहेको सेरेफेरोमा म त्यस्तो आमासँग भेट भएको प्रसंग उजागर गर्न चाहन्छु ।

पक्तिकारसँग हालै काठमाण्डौको सुकुम्बासी बस्तीमा बसोबास गर्ने स्थायी ठेगाना धादिङ बताउने देवी परियार (२८) नाम परिवर्तनले यस बारेमा बताएको कुरा सुन्दा आङ्गै सिरिङ्ग हुन्छ । उनका अनुसार एकजना चिनजानकी दिदी काठमाण्डौको एक नाम चलेको अस्पतालमा पियनको रुपमा काम गर्थिन् । उनीहरुका दुरावस्थाको बारेमा ती दिदी परिचित थिइन रे । उनले नै एक दिन सोही अस्पतालको डाक्टरसँग भेट गराइ दिइन् । सो अस्पतालमा एक विदेशी दम्पत्ती चेकजाँचको लागि सदा आउने रहेछन् । तर उनीहरुका बालबच्चा रहेनछन् । डाक्टरले उनीहरुका लागि बच्चा जन्माइदिने भए ५ लाख नगद र एक वर्षसम्मको लागि खाने बस्ने व्यवस्था पनि मिलाइदिने र सोका लागि एकलाख पचास हजार समेत गरी जम्मा ६ लाख पचासहजार दिने बताइन् । श्रीमान श्रीमती छलफल गरी प्रस्ताव उपयुक्त ठह¥याई राजी भए ।

डाक्टरको सल्लाह बमोजिम एक वर्षका लागि त्यस त्यस शहर छोडी जानुपर्ने भयो र उनीहरुकै व्यवस्थापनमा धरानमा एक कोठा लिई त्यहाँ गई बसिन् । समय समयमा डाक्टर र ती विदेशी धरानमा आइरहन्थे र एक क्लिनिकमा चेकअप समेत गराइरहन्थे । बच्चा जन्मेको एक महिना पछि ती विदेशीले सबै पैसा बुझाई बच्चा लिएर गए । भोलिपल्ट हामी पनि काठमाण्डौ सर्ने तरखर गर्दै थियौं । ती विदेशी महिलाले चाहि फोन गरेर खुसी हुँदै धन्यवाद प्रकट गरिन् र यो गुन कदापी भुल्न नसक्ने बताइन् । साथै यो बीस लाखले तपाईको भविष्य रामे हुनेछ र बालबच्चाको पढाई राम्रो हुनेछ भनेर बताइन् । यो सुन्दा उनी छाँगाबाट झरे जस्तै भइन् किनकी बीस लाख रकम दिएका रहेछन् उनीहरुले तर पाइन उनले केवल छ लाख पचास हजार । बाँकी रकम उनै दिदी भनाउदी र डाक्टर मिलेर खाएछन् ।

कोखमा पनि दलाल लागेको चाल पाएपछि उनी आक्रोशित हुन्छिन् । तर कसैलाई भन्ने र उजुरी गर्ने हिम्मत नभएकोले उनले आफ्नो पिडा सहेर बसिरहेकी छिन् । कहिलेकाहिँ भक्कानिन्छिन्, धिक्कार्छिन ती मानव कोखका दलालहरुलाई । तर कसैले चाल पाए मात्र पनि बेइज्जत हुने डरले मनमनै मुर्मुरिएर बस्नु सिवाय उनी सँग कुनै विकल्प नभएकोले बच्चा नहुनेलाई बच्चादान गरेको र त्यो पुण्य कर्म गरेको भनेर मन बुझाउनु सिवाय अरु कुनै विकल्प नभएको गुनासो गर्छिन् ।

उनको हरेक शब्द शब्दमा लुकेको मर्मस्पर्शी भाव एकपटक गम्भीर भएर सोच्ने हो भने सजिलै बुझ्न सकिन्छ कि हाम्रो समाजको अभाव तथा आर्थिक विपन्नता जस्ता कमजोरीलाई समाएर फाइदा लुट्नेहरु बर्गेल्ती भेटिन्छन् यिनै समाजका दलाली पिपासुहरु । अंश, वंश र शरीर माथिको अधिकारलाई संविधानमा नै सुनिश्चित गरिनुपर्छ भन्ने आम महिलाहरुको आवाज रहेको छ। नयाँ संविधानमा अंशको कुरा छोरा र छोरीमा सुनिश्चित छ तर वंशको हकमा भने विशेष परिस्थितिमा बाहेक अन्य अवस्थामा सम्पूर्ण अधिकार पुरुष केन्द्रित छ । यद्यपि कार्यान्वयनमा विभिन्न तत्वहरु भने चुनौतिका रुपमा खडा भएको देखिन्छ ।

यतिबेला नेपालमा केही समयदेखि गुपचुप रुपमा चलिरहेको सरोगेसी सेवा बारे बहस शुरु भएको छ । सेरोगेसी अर्थात भाडाको कोख सम्बन्धी कानुन बनाउन दश महिना अधि बनेको निर्देशिकाको फाइल यतिबेला स्वास्थ्य मन्त्रालयबाटै गायब भएको कुरा संचार माध्यमबाट बाहिर भएको छ र यो सँगै कसरी नेपालमा गोप्य रुपमा आमाको कोखको बिक्री भैरहेको छ भन्ने कुरा पनि बाहिर आएको छ । समाचारमा आए अनुसार अहिलेसम्म नेपालका केही ठूला अस्पतालमा पैसामा आमाको कोख बिक्री भैरहेको थाहा भएको छ । सरोगेसी एकातिरबाट हेर्ने हो भने सेवा होला, तर अर्कोतिरबाट हेर्दा यस्तो विकृत व्यापार हो, जसले पैसाको लोभमा महिलाको शोषण गरिरहेको हुन्छ, त्यो पनि उनीहरुको शरीरको ।

    सरोगेसीले सम्बन्धित महिलालाई के कति फाइदा पु¥याउला, त्यो बहसको विषय होइन । यहाँ बहसको विषय हो, कोखको व्यापार । कति जायज छ त यो व्यापार ? कानुन बन्ने तरखरमा रहेको यो व्यापार गुपचुप रुपमा नेपालमा मौलाोउनुको मुख्य कारण सन् २०१४ मा थाइल्याण्डमा र २०१५ मा भारतभमा यो सेवामाथि प्रतिबन्ध लाग्नु । भन्नमा सेवा भनिए तापनि यसबाट अनेक विकृति जन्मिएपछि यी देशमा सरोगेसीमा प्रतिबन्ध लाग्यो । सन् २००२ देखि भारतमा व्यवसायिक रुपमा सरोगेसी शुरु भएको देखिन्छ । विभिन्न युरोपेली र अमेरिकी देशका निःसन्तान दम्पत्ती, सन्तान जन्माउन नचाहने जोडी तथा समलिङ्गी हरुले आफ्नो देशमा भाडामा सन्तान जन्माउन निकै महंगो पर्ने भएकोले भारत, बंगलादेश जस्ता देशका गरिब महिलालाई प्रयोग गर्ने गरेको र सन् २०१५ सम्म भारतमा आएर यो सेवा लिने गरेकोमा भारतमा यसमा प्रतिबन्ध लागेपछि उनीहरुको गन्तव्य नेपाल बनेको देखिन्छ ।

पछिल्लो समयमा इजरायलीहरुको गन्तव्य नेपाल बनेको छ, जहाँ भारत र बंगलादेशबाट गरिब तथा विपन्न महिलाहरु ल्याएर उनीहरुको कोखबाट सन्तान जन्माएर लैजाने गरेको खुलासा भएको छ । यदि वैशाख १२ गते महाभुकम्प नगएको भए शायद यो कुरा बाहिर आउन अझै कति समय लाग्थ्यो होला भन्न सकिन्न । हालै इजरायलमा नेपाली महिलाको लागि खुलेको कामदार कोटा पनि हतारमा इजरायल लगिएका सरोगेट बच्चाहरुको स्याहारका लागि हो भन्ने हल्ला पनि सुन्नमा आएको छ । सुन्नमा आए अनुसार नेपालमा आएर भाडाका सन्तान जन्माउनका लागि सम्बन्धित पक्षले सन्तानको लागि करोड तिर्दा कोख भाडामा लगाउने आमाले जम्माजम्मी ६ लाख पाउने गरेको कुरा केही दिनअघि प्रसारित एक टेलिभिजन कार्यक्रम मार्फत् जानकारीमा आयो । कुनै पनि अपराध खुला रुपमा हुन्छ भन्नु मुर्खता हुन जान्छ । कानुनी मान्यता पाएपछि नेपालका अस्पतालहरु व्यापारिक केन्द्र बन्न जानेछन् र गरिब परिवारका नेपाली आमाहरुको कोख पनि भित्रभित्रै बिक्रीमा जानेछ ।

यस्तो अवस्थामा कानुनतः स्वेच्छाले कोख बिक्री गर्नु आमाहरुको शरीरमाथिको अधिकार हुन जानेछ ( लैङ्गिक समानता कायम गर्न केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०६३ द्वारा संशोधित ऐन अनुसार वैवाहिक बलात्कारको कानुन बनिसकेको अवस्थाले महिलाको शरीरमाथिको अधिकारलाई स्थापित गरेको बुझ्न सकिन्छ ।)  भने बाध्यात्मक रुपमा झनै बढी आमाका कोखहरु बिक्री हुनेछन् । एकातिर नेपाल जस्तो  गरिब देशका आमाहरु अभाव र गरिबीका कारण कोख बेच्न तयार हुनेछन् भने अर्कोतिर लोभीपापी लोग्नेहरु पैसाको लालचमा आफ्नै श्रीमतीलाई अर्काको सन्तान जन्माउन बाध्य पार्नेछन् ।

हाम्रो समाज त्यही समाज हो, जहाँ पैसाको लागि श्रीमतीलाई बम्बईको कोठीमा पु¥याएका उदाहरण छन्, खाडी र कुवेतमा कमाउन भनि पठाएर चरम यौनशोषण र घरेलु हिंसामा परेका उदाहरण छन् । यस्तो अवस्थामा नेपालका अस्पतालहरुलाई दिन लागिएको सरोगेसी सेवाको अनुमति र यस सम्बन्धी नियामक निर्देशिकाको बारेमा राज्यले गम्भीर भएर सोच्नैपर्छ । यसले सिर्जना गर्ने विकृतिका कारण थाइल्याण्ड र भारतमा जस्तै यसलाई बन्द गर्न र यसको औचित्यमाथि बहस गरिनुपर्छ । कानुन बनाउनै पर्ने भए विदेशी (दुई पक्ष) का लागि मात्र लागू हुने गरी कडा कानुन बन्नुपर्छ, जसमा नेपाली आमाका कोखहरुको प्रयोगमा कडा प्रतिबन्ध लगाउनु पर्छ र सेवा पुरै पारदर्शी बन्नुपर्छ ।

    गरिबीकै कुरा गर्नुपर्दा नेपालमा भाडाका सन्तान जन्माउने केही महिलासँग गरेको कुराकानी सुन्दा उनीहरुलाई लोग्नेले नै पैसाका लागि भाडाका सन्तान जन्माउन बाध्य पारेको देखियो । यो अवस्था भोलि नेपाली महिलाहरुको हकमा ठूलो चुनौतिका रुपमा नआउला भन्न सकिदैंन । अतः सेवाको नाममा महिलामाथि हुने शोषणको यो पाटो तर्फ सरोकारवालाहरुको ध्यान पनि समयमै पुग्नु आवश्यक छ । यसका साथै भोलि भाडामा कोख बिक्री लाई पनि महिला अधिकार तथा शरीरमाथिको परिभाषा भित्र नपारीयोेस् । गरिबी, अभाव र पैसाको कारण मानिस जे गर्न पनि तयार हुन्छ । गरिबीकै कारण नेपाली आमाहरु अर्काको भ्रुण गर्भमा हुर्काई अर्काको सन्तानलाई जन्म दिन तयार हुनुलाई सेवा नभनेर बिडम्बना भन्दा फरक पर्दैन त ?

२०७३ पुस २४ गते प्रकाशित

About The Author