Wed. Nov 27th, 2024

कुपोषण हटाउन धादिङमा ‘सुआहारा’ कार्यक्रम सञ्चालन

kuposhan
सरिता श्रेष्ठ / १४ पुस,  धादिङ –

बालबालिका तथा सुत्केरी महिलाहरुलाई पोषक तत्वको अति नै आवश्यक हुन्छ ।  सुनौला हजार दिनका बालबालिका र तिनका आमाहरूको स्वस्थ्य निकै संवेदनशील मानिन्छ । तिनै बच्चा र तिनका आमालाई लक्षित गरी धादिङ जिल्लामा सुआहारा कार्यक्रम सञ्चालन गरिएको छ ।

युएसएआइडीको सहयोगमा नेपाल सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभाग जिल्ला स्वास्थ्य कार्यलयले धादिङमा मातृशिशु मृत्युदरलाई घटाउन सुहाआरा कार्यक्रम सञ्चालन गरेको हो । बालबालिकामा हुने कुपोषणका जोखिमबाट मुक्त गरी स्वस्थ्य समाज निर्माण गर्ने उद्देश्यले जिल्लामा दोस्रो चरणको कार्यक्रम सुरु गरिएको हो । यो कार्यक्रम देशभर धादिङ सहित ४० जिल्लामा संचालन भएको छ ।

गर्भवती महिलाको ९ महिना अर्थात दुई सय ७० दिन र बच्चा जन्मेपछिको दुई बर्ष अर्थात सात सय १२ गरी एक हजार दिनलाई सुनौला हजार दिनको रुपमा मानिएको छ । यसरी आमा र बच्चाको पोषणयुक्त व्यवहारमा ध्यान दिने गरी सुआहारा कार्यक्रम लागु भएको हो ।

धादिङ जिल्लामा कुपोषणको अवस्था एकदमै नाजुक छ । बाल स्वास्थ्य पोषण सप्ताह अभियान कार्यक्रम अन्र्तगत गत कात्तिक १ गतेदेखि ७ गतेसम्म सञ्चालन गरिएको अभियान अन्र्तगत धादिङ जिल्लामा ६ सय १९ जना बालबालिकाहरु कुपोषित छन् ।

६ महिना देखि ५ वर्ष उमेर समूहका बालबालिकाहरुमा गरिएको सर्वेक्षणमा ६९ जनामा कडा र ५ सय ५० जना बालबालिकाहरुमा मध्यम खालको कुपोषण देखिएको जिल्ला स्वास्थ्य कार्यलय धादिङका निरीक्षक विष्णु रिजालले जानकारी दिए । खास गरी चेपाङ, दलित र पिछडिएको समुदायका बालबालिकाहरुमा कुपोषणको समस्या देखिएको छ ।

बालबालिकाहरुमा देखिने यस्ता कुपोषणलाई हटाउन अभियान सञ्चालन गरिएको बाल स्वास्थ्य महाशाखाका प्रमुख राजकुमार पोखरेलले बताए । गर्भवती अबस्थामा स्वास्थ्य जाँच, खानपान, बच्चा जन्मेपछि दूध चुसाउने समय, बच्चालाई खुवाउने खानालाई ध्यान दिन सिकाउने गरेर प्रत्येक घरमा सुआहारा कार्यक्रम पुग्ने पोखरेलले जानकारी दिए ।

कार्यक्रमले ग्रामिण भेगका बालबालिकाहरूका लागि पोषिलो खाना बनाउन सिकाउने अभियानलाई तीव्रता दिइनेछ । बच्चाका आमाहरूलाई पोषिलो खाना बनाउन सिकाएर बच्चाको पोषणमा सुधार ल्याउने अपेक्षा गरिएको छ ।

२०७३ पुस १४ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: