Fri. Feb 28th, 2025

कृषिमा प्रविधिको प्रयोग, किसानहरुको दैनिकी बदल्दै आधुनिक कृषि औजारहरु

meal-distrubte

मनिष दुवाडी / १३ पुस,  धादिङ –
धुषा गाउँ विकास समिति वडा नं ३ मिजार गाउँकी अनिता चेपाङलाइ पहिले धान कुट्न र मकै पिस्न पर्यो भने ३ घण्टाको बाटो लगाएर छिमेकी गाउँ जानुपथ्र्यो । न त मेलमा भनेको समयमा पालो पाइन्थ्यो न त फर्कने मेलोमेसो नै । तर अहिले भने समय फेरिएको छ उनले मकै कोदो गहुँ र जिरामसला पिध्नको लागि घरमा नै कम्वाइन मिल भित्राएपछि पहिलेका दुःख कष्टलाइ त भुल्न थालेकी छिन नै उनको दैनिकी नै परिवर्तन हुन थालेको छ ।

कृषि क्षेत्रमा पछिल्लो समय बढ्दै गएको यान्त्रिकरणले खेतीकिसानी गर्ने किसानहरुको जीवनशैलीमा नै परिवर्तन आउन थालेको छ । धान मकै पिस्नको लागि एक दिन खर्च गर्नुपर्ने पहिलेको दुःखका दिन सम्झदै अनिता चेपाङले भनिन, ‘गाउँमा मेल थिएन, छिमेकी गाउँ गयो कहिले मेल विग्रेको हुने, कहिले बत्ती नहुने त कहिले पालो नपाउने समस्या थियो, अहिले त घरमै सवैथोक एउटै मेसिनबाट कुट्न र पिस्न मिल्ने मिल ल्याउन पाइएको छ, एकातिर समयको बचत भएको छ भने पहिलेको जस्तो दुःख भोग्नुपरेको छैन ।’

अनिता जस्तै खेतीपाती गरेर जिवीका चलाउने किसानहरु मिलेर एउटा कृषि समुह बनाएका छन ‘साचक मिजार गाउँ कृषि समुह’ । भुकम्पपिडितहरुको लागि राहत र पुनस्थापनाको विभिन्न कार्यक्रमहरु संचालन गरिरहेको सस्था अक्सफाम र प्रयास नेपालले उनीहरुको समुहलाइ निशुल्क रुपमा कम्वाइन मिल, खेत जोत्नको लागि प्रयोग गरिने सानोे हात ट्याक्टर, कोटो चुट्ने र फल्ने मेसिन दिएपछि उनीहरुको खेतीपाती गर्ने तरिका र जीवनशैलीमा नै परिवर्तन आएको छ । प्रयास नेपालले अक्सफामको सहयोगमा धुषा र कुम्पुर गाउँ विकास समितिमा मात्रै १९ वटा साना हाते ट्याक्टर र १० वटा कम्वाइन मिल १ दर्जन भन्दा बढी कोदो चुट्ने मेसिन लगायतका उपकरणहरु किसानहरुलाइ निशुल्क दिएको छ ।

1-tractor-le-joteko

समुहका सवै सदस्यहरुले पालैपालो प्रयोग गर्नेगरि सवैको घरघरमा लैजान मिल्ने कृषि उपकरणहरु निशुल्क पाएपछि उनीहरु खुसी भएका छन । पृथ्वीराजमार्गसंग जोडिएको गाविस भएपनि दुर्गम र विकट बस्तीको रुपमा चिनिएको वडा न ३ को मिजार गाउँमा अधिकाँश चेपाङ र दलित समुदायको बसोबास छ । खोरिया र पाखो बारिमा खेतीपाती गरेर जिविका चलाउने उनीहरुलाइ खेतीपाती गर्नको लागि कृषि औजारहरु पाएपछि निकै दङग छन ।

स्थानिय विन्दा सुखेतीले भनिन, ‘आजकाल खेत जोत्नको लागि गोरु पनि पाइदैन, पाखो बारी पनि बाँझै हुने अवस्था आएको छ, साना साना गह्राहरुमा पनि जोत्न मिल्ने हातेट्याक्टर ल्याएपछि जोत्नलाइ धेरै सजिलो भएको छ । एकातर्फ गोरु पाइए पनि महिला लै गोरु जोत्न हुँदैन भन्ने परम्परा छ त्यसैमाथी गाउँमा पुरुषहरु पनि पाउनै गाह्रो । साना हाते  ट्याक्टरहरु त महिलाले पनि सजिलै जोत्न मिल्ने भएपछि खेतीपाती गर्न पनि धेरै सजिलो हुने भएको छ ।’ कृषि समुहका सदस्यहरुले उपकरणहरु प्रयोग गरेपश्चात केही रकम पनि उठाउने र जम्मा भएको रकमले फेरी नयाँ साधनहरु थप्ने बताएका छन ।

नेपाल सरकारले नै पछिल्लो समय कृषिमा आधुनिकिकरण भित्राउने अभियान अनुरुप प्रविधिमैत्री खेतीपातीको लागि कृषि औजारहरु सहुलियत दरमा कृषकहरुलाइ वितरण गर्ने गरेको छ । जिल्ला कृषि विकास कार्यलय धादिङका बरिष्ठ कृषि विकास अधिकृत केशव देवकोटाले भने, ‘नेपाल सरकारले पनि कृषकहरुलाइ अनुदानमा कृषि उपकरणहरु प्रदान गर्ने गरेको छ । त्यसैमाथी अहिले विभिन्न संघसस्थाहरुले कृषि समुहहरुलाइ निशुल्क कृषि औजारहरु दिन थालेपछि पछिल्लो समय खेतीपाती गर्ने तरिका र खेतीपातीमा प्रविधिको प्रयोग पनि बढ्न थालेको छ ।’

२०७३ पुस १३ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: