कञ्चनजंघा स्टेडियममा जारी चौथो साफ महिला च्याम्पियनसिपमा आज नेपालले माल्दिभ्ससँग खेल्ने भएको छ । स्थानीय समयअनुसार आज साढे ६ बजे खेल सुरु हुनेछ ।
आफ्नो पहिलो खेलमा नेपालले भुटानलाई ८–० को फराकिलो जित निकाल्दा माल्दिभ्सले श्रीलंकामाथि ५–२ को विजय पाएको थियो । त्यसअघि पहिलो खेलमा श्रीलंका र भुटान भिड्ने छन । संयोग कस्तो छ भने नेपालले माल्दिभ्सविरुद्ध हरेक पटक दोस्रो खेलमा प्रतिस्पर्धा गर्ने मौका पाएको छ । यसअघि कोलम्बोमा सम्पन्न दोस्रो साफ महिला च्याम्पियनसिपमा पनि दोस्रो खेलमै नेपाल र माल्दिभ्सको भेट भएको थियो ।
पहिलो साफ च्याम्पियनसिपमा नेपालले माल्दिभ्सलाई ६–० ले हराएको इतिहास छ । भारतको सिलोङमा गत वर्ष सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुद सागमा पनि नेपालले माल्दिभ्सलाई दोस्रो खेलमै २–० ले हराएको हो ।
नेपाल माल्दिभ्सभन्दा फिफा वरीयतामा माथि छ । माल्दिभ्सविरुद्धको सबै खेलमा नेपाल विजजी बनेको छ । तर, पछिल्लो समय माल्दिभ्सले महिला फुटबल टिमलाई सशक्त बनाउँदै लगेको छ ।