Thu. Mar 6th, 2025

दुई वर्षमा पनि बनेनन् राष्ट्र बैंकका भवन

nepal-rastra-bank

६ पुस,  काठमाडौं –

मुलुकको बहुमूल्य सम्पत्ति, सुन र पैसाको ढुकुटी रहने केन्द्रीय बैंकको भवन भूकम्प गएको झन्डै २ वर्षसम्म पनि पुनर्निर्माण हुन सकेको छैन । ०७२ साल वैशाखको भूकम्पले राष्ट्र बैंक केन्द्रीय कार्यालय बालुवाटार, बैंकिङ कार्यालय थापाथली र टक्सार विभाग सुन्धाराका भवनहरू भत्किएका थिए ।

भत्किएको २० महिनासम्म पनि पुनर्निर्माण हुने सुरसार छैन । भवन बन्न नसक्नुले मुलुकको केन्द्रिय बैंक दयनीय देखिएको छ । यसले मुलुकको ढुकुटी नै असुरक्षित बन्दै गएकोमा विज्ञहरूको चासो छ ।

हालसम्म भत्किएका संरचनाहरू हटाउने कामसमेत भएको छैन । ‘माघदेखि घर भत्काउने काम सुरु हुन्छ,’ स्रोतले भन्यो, ‘त्यसपछि भवन निर्माणको काम सुरु गछौं ।’ भूकम्प गएको २० महिनासम्म भवनको लागत मूल्यांकन र डिजाइनसमेत तयार भएको छैन ।

परामर्शदाता छनोटकै लागि झन्डै २ महिना समय खर्चिएको छ । भूकम्पले भत्काएका सर्वसाधारणका करिब ६ लाख घरहरू बन्न नसकेको विद्यमान अवस्थामा राष्ट्र बैंकको भवन पनि बन्न नसक्नु स्वाभाविक नै मानिएला । तर, सर्वसाधारण जस्तै अनुदान पर्खनु नपर्ने र ढुकुटि समेत सुरक्षा दिनुपर्ने निकायको लाचारी टिढलाग्दो छ ।

‘राष्ट्र बैंक मुलुकको धन सम्पत्ति व्यवस्थापन र सुरक्षण गर्ने निकाय हो,’ राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक भास्करमणि ज्ञवालीले भने, ‘त्यसैले ढुकुटी थन्क्याउने घर पनि बलियो र सुरक्षित हुनुपर्छ ।’ भत्किएको जीर्ण घरमा लामो समयसम्म ढुकुटी राख्दा जोखिम बढी हुने उनको तर्क छ । ‘टहरा र जीर्ण घरबाट सेवा दिने काम छिट्टै रोक्नुपर्छ,’ उनले भने ।

यथाशीध्र भवन निर्माण गर्न चाहे पनि नीतिगत कारणले ढिलाइ भएको राष्ट्र बैंकका अधिकारीहरुको भनाइ छ । ‘सरकारले नीति तथा कार्यक्रममार्फत राष्ट्र बैंकलगायत महत्त्वपूर्ण कार्यालय तथा भवन निर्माणको जिम्मा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई दिएको छ,’ राष्ट्र बैंकका सामान्य सेवा विभाग प्रमुख रमेशकुमार पोखरेलले भने, ‘यस्तो अवस्थामा हामीले चाहेर मात्र हुँदो रहेनछ ।’

भवन निर्माणको लागि पुँजीलगायत साधनस्रोत पुर्‍याइदिने र निर्माणका क्रममा अनुगमन गर्नेबाहेक सबै काम प्राधिकरणको भएको उनले बताए । हाल परामर्शदाता छनोटको काम सकिएको छ । ‘अब छिट्टै जीर्ण घर भत्काउने काम सुरु हुन्छ,’ उनले भने ।
राष्ट्र बैंकको भवन निर्माणको जिम्मा सहरी विकास मन्त्रालयलाई दिइएको र हाल उक्त मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइले राष्ट्र बैंकसँग मिलेर भवन निर्माणका लागि आवश्यक तयारी गरिरहेको पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताए ।

‘राष्ट्र बैंकले आवश्यकता पेस गर्ने, साधनस्रोत जुटाउने, अनुगमन गर्ने काम गर्छ,’ उनले भने, ‘भवन निर्माणको काम केन्द्रीय आयोजना कार्यान्वयन एकाइले गर्छ ।’ भवन निर्माणसम्बन्धी पछिल्लो अवस्थाबारे आफूले बुझ्न बाँकी रहेको उनले जनाए ।

भवनको डिजाइन, लागतलगायत सम्पूर्ण पक्ष मूल्यांनका लागि परामर्शदाताले काम सुरु गरिसकेको र त्यसको सुझावमा आधारमा निर्माणको काम गरिने सहरी विकास मन्त्रालयका प्रवक्ता शिवहरि शर्माले बताए । ‘परामर्शदाताले दुई महिनाभित्र प्रतिवेदन बुझाउनेछ,’ उनले भने, ‘त्यसको आधारमा भवन निर्माणको प्रक्रिया सुरु हुन्छ ।’ छिटोभन्दा छिटो भवन निर्माण गर्न चाहे पनि प्रक्रियागत कारणले ढिलाइ भएको उनले जनाए ।

‘भूकम्पबाट क्षतिग्रस्त पुरातात्त्विक सम्पदा, राष्ट्रपति कार्यालय, उपराष्ट्रपतिको कार्यालय तथा निवास, प्रधानमन्त्रीको कार्यालय, संसद् भवन, सर्वोच्च अदालत, नेपाली सेनाको मुख्यालय, निर्वाचन आयोगको कार्यालय, मानव अधिकार आयोगको कार्यालय, राष्ट्र बैंकलगायतका महत्त्वपूर्ण सरकारी भवनको निर्माण प्रक्रिया अघि बढाइनेछ,’ चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा भनिएको छ, ‘क्षतिग्रस्त सम्पूर्ण संरचनाको निर्माण कार्य सम्पन्न गर्ने गरी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई परिचालन गरिनेछ ।’

सरकारको यही नीतिगत व्यवस्थाको कारण राष्ट्र बैंकको भवन निर्माण काममा ढिलाइ भएको हो । बालुवाटार, थापाथली र सुन्धारास्थित ३ वटा भवनहरू भत्किँदा करिब साढे ३ अर्ब रुपैयाँ बराबरको क्षति भएको थियो । भूकम्पले सुन्धारा र थापाथलीस्थित ढुकुटी रहेको भवनमा पनि क्षति पुगेको थियो । बालुवाटार कार्यालयमा भूकम्पअघि नै नयाँ भवनमा ढुकुटी राखिएको छ । भूकम्पले त्यो भवनमा क्षति पुर्‍याएको छैन । अहिले त्यही भवनमा गभर्नर, डेपुटी गभर्नरहरू र प्रमुख विभाग छन् ।

हाल राष्ट्र बैंकले सुनचाँदीलगायत महत्त्वपूर्ण सम्पत्ति रहेको ढुकुटी बालुवाटारस्थित केन्द्रीय कार्यालय र नोट कोष तथा बैंकिङसम्बन्धी ढुकुटी थापाथलीमा राखेको छ । थापाथलीका अधिकांश भवन जीर्ण अवस्थामा छन् । राष्ट्र बैंकको योजनाअनुसार बालुवाटार र थापाथलीमा एकरएक वटा ठूला र अत्याधुनिक भवन बनाइनेछ । ती भवन निर्माणका लागि आवश्यक पुँजी राष्ट्र बैंकले जुटाउनेछ । कान्तिपुर दैनिकबाट

२०७३ पुस ६ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: