Wed. Nov 27th, 2024

ट्युमरको उपचार गर्न नसक्दा ११ वर्षदेखि गोठमा बास

tumar-copy

६ पुस, हेटौडा –

पश्चिम मकवानपुरको हाँडिखोला गाविस वडा नं ४ की ५१ वर्षीय माइलीमाया हिम्डुङको अनुहारमा ट्युमर पलाएको छ । अनुहारमा पलाएको ट्युमरको उपचार गर्न नसक्दा विगत ११ वर्षदेखि गोठमा बस्न बाध्य बनेकी छन् ।

न्युन आर्थिक अवस्था रहेको हाँडीखोला ढस्यानकी हिम्डुङको उपचार गर्न नसक्दा उनलाई परिवारले गोठमा राखेर पाल्न वाध्य बनाएका हुन् ।  अनुहारको ट्युमर बढेर सम्पूर्ण अनुहार ढाकेको, टाउको तथा सम्पूर्ण अनुहारभरी खटिरा आई पाकेको र गन्धको कारण घरमा राख्न असहजिलो भएपछि विगत ११ वर्षदेखि उनलाई गोठमा राख्नु परेको हिम्डुङका श्रीमान गोमानसिंह हिम्डुङले  बताए ।

tumer-copy

२०६० सालमा पिनास भएको, २०६१ सालमा नाकमा मासु पलाएपछि   बिर अस्पतालमा उपचार गरेको तर त्यसको १ वर्ष पछि पुनः  नाकमा मासु पलाउन थालेको बताउँदै गोमानसिंहले आर्थीक अभावको कारण उपचार गर्न नसक्दा आफुहरु निकै पीडामा परेको बताए ।

६ छोरी र १ छोरा सहित ९ जनाको परिवार पाल्नको लागि ४ काठ्ठा पाखो बारी रहेको बताउँदै गोमानसिंहले आफु श्रीमतिको उपचार गर्न भन्दा छाक टार्नको लागि मजदुरी गर्नु परेको कारण उपचार गर्न नसकेको बताए ।

पहिलो पटक उपचार गर्दा १ लाख ५० हजार रुपैयाँ खर्च भएको र उक्त ऋण तिर्नको लागि अंशमा आएको आधा भन्दा धेरै जग्गा बेच्नु परेको बताउँदै उनले श्रीमतीको उपचारको लागि सहयोग गर्न सम्पूर्णलाई आग्रह समेत गरे ।
२०७३ पुस ६ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: