०५ पुष, धादिङ-
करिअरको चालीसौं हृयाट्रिकसहित रियल मड्रिडलाई दोस्रो पटक क्लब विश्वकपको उपाधि दिलाएका क्रिष्टियानो रोनाल्डोले भनेका छन् कि उनका लागि यो बर्ष ‘उत्कृष्ट’ रहृयो ।
३१ बर्षीय रोनाल्डोले यो बर्ष क्लब विश्वकपको उपाधिसहित युरोपियन च्याम्पियन्स लिग र युरो २०१६ को उपाधि पनि जिते ।
रोनाल्डोले यसै साता चौथो पटक विश्वको उत्कृष्ट फुटबलरको रुपमा बेलोन डि’ओरको उपाधि पनि जिते । ‘यो ट्रफीसँगै हामीले सबैभन्दा राम्रो तरिकाले बर्षको अन्त्य गर्न चाहन्थ्यौं’ पोर्चुगिज फरवार्डले भने ।
‘मैले पनि सोचेको थिइनँ कि खेलको अन्त्य यसरी होला, जहाँ मैले रियलको जितमा तीन गोल गर्ने अवसर पाएँ ।’
म आफ्ना टिमका साथीहरुलाई फेरि धन्यबाद दिन चाहन्छु कि उनीहरुको साथ विना मैले कुनै व्यक्तिगत उपाधि जित्न सक्दिनथेँ ।’
‘हामीले च्याम्पियन्स लिग, युइएफए सुपर कप र क्लब विश्वकपको उपाधि जित्यौं । मैले पोर्चुगलबाट युरोकपको उपाधि पनि जितेँ । यो एकदमै उत्कृष्ट बर्ष रहृयो । यसअर्थमा म निक्कै खुसी छु’ रोनाल्डोले भने ।
रोनाल्डोले ला लिगाको शीर्ष स्थानमा रहेको रियलका लागि जारी सिजनको अहिलेसम्म २२ खेलमा १६ गोल गरेका छन् । ‘हरेकले सधैं क्रिष्टियानोले अझै राम्रो गरोस भन्ने चाहन्छन्, मैले हरेक खेलमा आफ्नो उत्कृष्ट प्रदर्शन दिएको हुन्छु’ रोनाल्डोले भने ।
‘यद्यपि मानिसहरुले मेराबारेमा धेरै कुरा गर्छन्, तर म त्यसमा अभ्यस्त भइसकेको छु । मैले मेरो क्षमता मैदानमा देखाइरहेको छु र अहिलेसम्म राम्रो गरिरहेको छु । मैले मेरो प्रदर्शनलाई पछिल्लो १० बर्षमा एकपछि अर्को उत्कृष्ट प्रदर्शन गरिरहेको छु । म फुटबलमा इन्जोय गर्छु अरुले के भन्छन् मेरो चासोको बिषय रहँदैन ।’
२०७३ पुस ०५ गते प्रकाशित