Fri. Jan 31st, 2025

सुखको खोजीमा भौतारिदाँ

sarita
सरिता श्रेष्ठ –

आयमहरु फरक होलान् तर, आम मानिसहरु जन्मेदेखि सधैं सुखको खोजीमा छन् । राम्रो लगाउ, मिठो खाउ जस्ता प्रविधिले गलत्याएको समाजमा आम नेपालीहरु भौतिक सुख प्राप्तिका लागि कुदिरहेका छन् । सुखको खोजीमा कोही गाउँदेखि सहरबजार त कोही विदेशिएका छन् । हर मानिसहरु जीवन र त्यसको सार्थकताको खोजीमा हुन्छन् । अभाव र गरिबीले डामिएर सुविस्ताको खोजीमा निस्केका कति मानिसहरु विचलनको अवस्थामा छन् । त्यहि रुमल्लीन पुगेका छन् ।

मानिसहरु सुखको पछि दौडिदाँ दौडिदै दुखै दुख झेल्नु परेको कुरा नै महसुस गर्दैनन् । दुखको चपेटामा चेपिएर उम्किदै विदेशको सुख सयलमा रमिन पुग्छन् । कस्तो सम्बन्ध सपना र आशाहरुको किरण हो यो विदेश । सबैको मुखमा उच्चारणको केन्द्रविन्दु, सुखका लागि यो बिदेश । जो अपुर्ण हुन्छ, अनिश्चित, अज्ञात र अमुर्त हुन्छ । त्यही अपुर्णतामा जीवनका मीठा समयहरुको प्राप्ति खोज्दै मान्छे परदेशी भैरहेछ । यौबन धरौटीमा छ, सुखको खोजीमा जीवन धरापमा छ । तर मानिसको सोच खाली त्यहि रमझममा नै छ ।

दुई छाक खान, लालाबाला हुर्काउन र टिनको छानोमुनि ओत लाग्नु पर्ने बाध्यताबाट बिस्तारै टड्कीन विदेशको सुनौलो कल्पनामा हुन्छन् । अनि अभाव र गरिबीले डामिएर सुविस्ताको खोजीमा निस्कन थाल्छन्  मान्छे । तर, गरिबी र परिस्थतिले निचोरेपछि सानो गल्ती गरेर भए पनि भविष्य राम्रो बनाउने सपना कसले देख्दैन र ! बाध्यता भनेको विकल्पको अनुपस्थिति नै त हो । रहर यही वस्तुगत विडम्बना वरिपरि घुमेको छ । त्यसलाई पूरा गर्न हरबखत सुनौला आयामहरुको खोजीमा तड्पीएका छन् । अमुर्त सत्यको खोजीमा मान्छे भौतारिरहेको छन् ।

मानिस सारा संसार सुख सयल, मोजमस्ती र आनन्दको खोजीमा छ । त्यो आनन्द पैसा, भौतिक सुख–सुविधा, बार वा क्यासिनोमा भेटिदैन । न किन्न नै मिल्ने न देखाउन नै । जति भित्री सुख सुविधा छ त्यो बाहिर भेटिने सुख तुरुन्तै दुःखमा परिणत हुन्छ । सुखको सपनामा विदेशिएकाहरु कत्ति डामिएर फर्किएका छन् त कत्ति अलपत्र छन् । केहीको जीवन सुखको सपनामा नै भतभती भएका छन् भने कोही संसारले नदेख्ने गरी विलिन भएका छन् । क्षणिक सुखका लागि मिठो सपना देख्नेहरु अरुका अनुभूति र संर्घषका कार्यलाई नजिकबाट नियाल्नु जीवनको बास्तविक भोगाइ हुनेछ ।

हिजो नेपालीहरु लाहुरे बनेर भारतमा दरवान र कुल्ली काम गरेर नेपाल फर्कन्थे । लाहुरेको सुगन्धित तेल राखेर बनाएको जुल्फी कपाल र एकजोर सफा लुगा लगाएर गाउं पसेको देख्दा, उसका चकाचकका कुरा सुनेर हिजो धेरै लाहुरे बन्थे । अहिले विदेश गएर आएकाको तामाझाम र कुरा सुन्नुपर्ने अवस्था छैन । हिजो जस्तो चिठ्ठी पठाएर महिनौ कुरेर खवर सुन्नु र सुनाउनुपर्ने अवस्था छैन । अहिले प्रविधिको फड्को मराइले संसार सांघुरिएको छ । इन्टरनेटका माध्यमबाट स्काइप र फेसबुक जस्ता सामाजिक सन्जालले युवा जमातलाई विकसित देशले तानिरहेको छ । आफू संगैको साथीको उता चकाचक, उसले प्रयोग गरेका अत्याधुनिक डिजिटल डिभाइसहरुले यताको युवाको मन तुलबुल तुलबुल पारिरहेको छ ।

अचेल पढेलेखेका युवाको चासो युरोप, अमेरिका तथा अस्ट्रेलिया भएको छ भने थोरै पढेका वा नपढेकाहरुको गन्तव्य भने खाडी मुलुका र मलेसिया हुने गरेको छ । बिदेशमा छोराछोरी वा अन्य परिवार रहेकाको नेपालमा रवाफसंगै आर्थिक अवस्थामा केही भए पनि पुर्याएको सहयोगले सबैलाई आफना छोरा छोरीलाई भरिसक्य विदेशै पठाउने मोह बढ्दो छ । विकाससंगै विभिन्न भौतिक सुख, सुविधा चुलिंदै गएपनि मानिसहरुमा डिप्रेसन, अनिद्रा, मानसिक स्वास्थ्य समस्याहरु र आत्महत्याको दरमा बृद्धि हुन थालेको छ। जसलेगर्दा मानिसको जीवन अनिन्द्राको शिकार बन्न थालेको छ । कतिले आनन्दसंग निदाउन नपाउंदा अनेकन मानसिक रोगको शिकार बन्नुपरिरहेको छ । यस्तो स्थितिलाई बदल्न मानिसमा मौलिक परिवर्तन नल्याइकन हुंदैन ।

भनिन्छ, मानिसको जीवन कुमालेको चक्र जस्तै हो । हजारौं दुख, कष्ट, हण्डर खाएर भए पनि जीवन बिताईरहेको हुन्छ । काल्पनिक सुखको आशमा मानिसले दुखका सागरहरु पार गर्दछ । फेरी मानिसले धैर्य लिएर बस्दैन, अनि अर्को दुखको भुमरीमा हाम फाल्छ । जीवन यात्राका दौरानमा कयौं घुम्तीहरु, उकाली ओरालीहरु पार गर्दा पाइला पाइलामा ठेस लाग्यो होला तर सहन्छ.। मानौ सहनु उसको नियति हो । जीवनरुपी यात्रा रोकिदैन केहि गरे पनि, अनि जति चोट, पींडा, दुख, कष्ट सहनु किन नपरोस, अगाडी बढ्दै गर्दा जति आँधी, हुरी, तुफानले उसको बाटोमा अबरोध खडा किन नगरोस दुख, कष्ठ र अप्ठ्यारा छिचोलेर अगाडी बढिरहन्छ ।

कसैले यो जीवनलाई ’संघर्षको मैदान’को रुपमा पनि हेरेका छन् । यो संघर्षको मैदानमा हार वा जीत अबश्य हुन्छ, हार्नेको सम्झना मात्र बाँकि रहन्छ तर जितेर बिजयश्रीको माला पहिरहनुलाई नै सफल जीवनको  रुपमा हेर्दछन् । कसैले यो जीवनलाई त्याग, बलिदान, परोपकार र मानवताको ’कसी’मा असली ’दशी’को रुपमा मान्दछन् । परिभाषा गर्नेहरुले यो जीवनलाई ’कर्कलाको पानी’ जस्तै क्षणिक अस्थित्वमा रहने भएकोले समय छदै केहि काम गर्नुलाई सार्थक जीवनको रुपमा हेर्दछन् । जीवनलाई शोकेसमा सजाएर राखेको ’चुरा’ जस्तो कुनै युवतीको हातमा लगाउदा लगाउदै प्याट्ट फुट्न र टुट्न सक्ने अस्थाई बस्तु जस्तै हो भनि कल्पना गर्दछन् ।

आज सन्चार जगत् र सूचनाको फड्को माराइका कारण सामान्य मध्यम परिवारका लागि पनि ढोका खुलेको छ । युरोप, अमेरिकालगायत अन्य विश्वका देशहरुमा नेपालीले खर्च तिरेर पढाउने वर्ग त हातका औंलामा गन्नसक्ने मात्र होलान् । अहिले युरोप, अमेरिका पढ्न जो जान्छन् ती पढ्न मात्र जाने हैनन्, तिनले काम गरेर आफैले कमाएर पढ्ने गर्दछन् तर नेपालमा छंदा तिनै युवा कलेज जाने भएपछि अपवादका रुपमा धेरै चाहिं यहां काम गर्न मन पराउंदैनन् । नेपालमा पढाइपछि पास भएको प्रमाणपत्र लिएर के गर्ने भन्ने अन्योल छ ।

उद्योगधन्दा छैनन्, व्यवसाय गर्न सबैसंग पुंजी नहुन सक्छ । हामीले लिएको प्रमाणत्रले आफना खुट्टामा उभिन सिकाउंदैंन । विकसित देशमा दुइवटै अवसर भएका कारण पनि मानिसहरु विदेश जान मरिहत्ते गर्ने रहेछन् । बिहान बेलुका वा रात्रीकालीन काम गरेर पनि पढाइलाई निरन्तरता दिनसक्ने वातावरण छ । पैसा हुनेले पढाइ मात्र गर्नसक्ने र कमाएर पढ्न पर्नेले काम र पढाइ मिलाएर गर्न पाउने व्यवस्था भएकाले पनि युरोप, अमेरिका, अस्ट्रेलिया, क्यानडा आदि ठाउंमा जान लालयित हुन्छन् । अझ छोरा छोरी भेट्न जाने आमा बावु , वा अन्य परिवारका लागि पनि भाषा कक्षाहरु ठाउंठाउंमा खोलिदिएका छन् ।

चिल्ला कार, आधुनिक बड्गाला र डिजिटल सामानको सपनाले हरेकलाई लोभ्याइरहेको छ । मान्छेले सोचें जस्तो, आँकलन गरेजस्तो जीवनका भोगाइहरु त नहोला । तर तयस्ता कुराहरु मनमा नै दबाएर सुन्दर नेपालको कल्पना गर्नसक्नुपर्छ । सुखी हुने इच्छा सबैमा हुन्छ, तर चाहना भएर मात्र सुख भन्ने चिज हाम्रो अगाडि तेर्सिदैन । न त कसैको वंशमा हुन्छ न त कसैले इच्छा गर्दैमा पाइन्छ । यद्यपी मानिस सुखको प्राप्तिका लागि जुझारू भएर लाग्नुपर्छ । बुद्ध, नानक, जिसस, मोहम्मद, आईन्स्टाइन, ग्यालीलियोदेखि नवप्रसिद्ध मान्छेहरूलाई समेत मानिसहरूले खोट लगाउन सकेका छैनन् तसर्थ पूर्ण जीवनको खोजीमा हैन, सरल तर सुखी जीवनको अभ्यासमा लागौं । आंशु बगाएर हैन, मुस्कान छरेर संसार बदलौँ ।

२०७३ पुस २ गते प्रकाशित

About The Author