Fri. Jan 31st, 2025

मनोसामाजिक समस्या : परदेशी र घरदेशीलाई के कारणले हुन्छ

ramkumar-thapa
रामकुमार थापा – 
बैदेशिक रोजगारलाई हेर्दा जति राम्रो देखिएको छ त्यसभित्र त्यति नै विकराल समस्याहरु रहेका छन् ।  बैदेशिक रोजगार अहिले प्रत्येक नेपालीको घरघरको समस्या भएर आईरहेको छ । यो भन्दैमा सबैलाई समस्या छ भन्ने पनि होईन । विदेश गएर पैसा कमाउने, घरपरिवारलाई सुख सँग पाल्ने र आफ्नो भविष्य उज्जवल पार्ने सबैको सपना हुन्छ । तर सोचेको जस्तो सबैलाई हुदैन समस्या पर्छ अनि निकै अप्ठेरा अवस्थाको समना गर्नुपर्ने देखिन्छ । धादिङमा रहेर बैदेशिक रोजगारको कारण देखिएको मनोसामाजिक समस्या न्युनिकरणको लागि विदेश गएर फर्किएका अनि विदेशमा समस्यामा परेका व्यक्तिहरुको परिवारसँग भेटेको छु ।

 झट्ट हेर्दा विदेश गएर कमाएर ल्याएको देखिन्छ । त्यसैले घर परिवार पनि राम्रैसँग चलेको देखिन्छ तर वैदेशिक रोजगारीका कारण भित्रि रुपमा परिवारमा धेरै समस्याहरु रहेका छन् । धादिङका विभिन्न गाँउ विकास समिति गएर काम गरेको अनुभव बताउने हो भने सानो सानो कुराहरुको कारणले पनि परिवारमा निकै ठुला समस्याहरु परेको देखिन्छ। वैदेशिक रोजगारका विषयमा राम्रो सँग बुझेर नजादा वा एजेन्टको विश्वासमा परेको कारण धेरै समस्यामा परेको पाईयो । एक पटक विदेश गएर कमाउन नसकेपछि पुनः अर्को देशमा गएर काम गर्नेहरु समस्यामा परेको देखीन्छ । विना सिप  विदेश जाने, विदेशमै बेपत्ता भएर बस्ने वा उतैबाट बिरामी भएर फर्कने र ऋण तिर्न नसकेर रितै हात घर फर्कनेहरु धेरै मनोसामाजिक समस्यामा परेको भेटें ।

धादिङ कुम्पुर गाविस वडा नन्बर ३ माझिटारका दामोदर पण्डित २०६३ सालमा मलेसीया गए तर अहिले सम्म उनी परिवारको सम्पर्कमा छैनन् । गएको नौ महिना सम्म त फोन सम्पर्क भएको थियो तर त्यसयता अहिले सम्म उनी जीवत छन वा मृत्यु भईसकेको हो केहि अत्तोपत्तो छैन । धादिङ पाल्पाभज्याङका कृष्ण प्रसाद लम्साल मलेसीयाबाट नेपाल फर्केका उनी विमानस्थलबाटै बेखबर भएका १२ बर्ष भईसकेको छ ।  काठमाण्डौ ओलिएको सम्म थाहा त तर उनी अहिले सम्म उनको पनि कुनै अत्तोपत्तो छैन ।

यता धादिङ नीलकण्ठ ८ का शिव प्रसाद कोईराला मलेसिया गएको १ बर्ष भईसक्यो तर अहिले सम्म कुनै खबर छैन । यसरी बेपत्ता हुनेहरुको संख्या दिनानुदिन बढ्दै छ । चन्द्रज्योति एकिकृत ग्रामिण विकास समाज (सिड्स) धादिङ द्धारा सन्चालित सुरक्षित आप्रवासन सामि परियोजना अन्तरगत सुचना तथ परामर्श केन्द्रमा मात्रै बेपत्ता भएर खोजिदिन आग्रह गरेर आएको निवेदन २७ भन्दा बढी छ ।  यी प्रतिनिधि पात्र मात्रै हुन् । यसरी धादिङबाट बैदेशिक रोजगारमा गएर परदेशको भुमिमा हराउनेहरुको संख्या यकिन छैन । यसरी ऋण काटेर विदेश हानिएकाहरु यसरी बेपत्ता हुँदा परिवारमा कस्तो असर पर्ला आंकलन गर्न सकिएला र ? घरका बालबच्चा, श्रीमती, आमाबाबु, दिदि बहिनी मात्रै होईन छिमेकका साथिभाई पनि मनोसामाजिक समस्या परेका छन् । श्रीमती र बालबच्चाहरु बाबु फकर्ने आशामा बाटो हेरीरहेका छन् । उनीहरुको समस्या कस्ले सुन्दिने र कस्ले खोजिदीने

 उनीहरु जस्तै परदेश जाने र उनीहरुका आफन्त विभिन्न कारणले मनोसामाजिक समस्यामा परिरहेका छन् । ती कारणहरु यस्ता छन् ।

  विदेशमा विरामी पर्नु, दिर्घ रोगी भएर घर फर्किनु, मानसिक सन्तुलन गुमाएर घर आउनु वा विदेशमै ज्यान जानु । जानिजानि वा समस्यामा परेर घरमा फोन नगर्नु । काममा सहयोग गर्ने बहानामा गाउँका पुरुषहरु महिलासँग नजिकिनु र त्यसको गलत तरिकाले फाईदा लिनु । विदेशबाटनै अर्को विवाह गरेर आउनु वा उतै घरजम गरेर बस्नु । शारीरिक,मानसिक, यौन र भावनात्मक रुपमा परिवारको सदस्यबिच दुरि बढनु तथा परिवारका सदस्यहरुले मनोवैज्ञानिक र सामाजिक सुरक्षाको अभाव महसुस गर्नु ।

अरु व्यक्तिहरुको देखासिखिमा खर्च गर्नु, समाजले स्वीकार गरेको भन्दा अलग्गै व्यवहार गर्नु । व्यवसायिक योजना नबनाउनु सधैंभरी विदेशको पैसा आउँछ भन्ने सोचेर खर्च गर्नु र खर्च गरेको पैसाको हिसाबकिताब विदेश जाने व्यक्तिले मागेमा देखाउन नसक्नु । छोरा विदेश गएपछि सासु ससुरासँग मनमुटाब बढनु, लान्छना र भेदभावको सिकार हुनु । समय समयमा पैसा नपठाउनु । अरुको कुरा सुनेर श्रीमतीलाई विदेशबाटनै शंका गर्नु, आरोप लगाउनु र फोन गरेर गाली गर्नु ।विदेशमा भागेर काम गर्नु ।
आफु विदेश जाँदा परिवारका सदस्यहरुमा आउन सक्ने प्रभाव तथा जोखिमहरुको व्यवस्थापन विनानै विदेश जानु । साना छोराछोरि छोडेर विदेशिँदा तथा गर्भवती महिलाको मनमा पर्ने असर बारे ध्यान नपुर्याई विदेश जानु ।

विदेश गएपछि नेपालमा रहेकी श्रीमतीले घर, खेतीपाति वा व्यवसाय धान्न नसक्नु । श्रीमान श्रीमतीबिच सासु ससुरा र बुहारीबिच विश्वासको अभावले पारपाचुके हुने वा परिवार बिखण्डन हुनुका साथै परिवारमा झैझगडा हुने अबस्था आउनु । श्रीमान वा श्रीमतीले अर्को बिहे गरी बालबालिकाको मानसिक अवस्था कमजोर हुने, पढाईमा समस्या देखिने, स्कूल छोड्ने र नसालु पदार्थ सेवन गर्ने गर्नाले । श्रीमान वा श्रीमतीमध्ये कोहि एक जना विदेश गएको छ भने उसले पठाएको पैसा अर्का सदस्यले खर्च गर्ने, पैसा सासु ससुराले लिने कि बुहारीले लिने भन्ने विवाद देखिनाले ।  श्रीमान् विदेशिएपछि  श्रीमती गाउँका अन्य ब्यक्तिको आँखाको तारो बन्नु र प्रत्यक्ष तथा अप्रतक्ष्य तरिकाले यौन सम्बन्ध कायम राख्न ललाईफकाई गर्नाले अत्याधिक ब्याजदरमा ऋण लिनु अथवा घर जग्गा एजेण्टको नाममा बन्धकी राखेर विदेशिनु, एजेण्टले विदेशिने व्यक्ति र तिनका परिवारलाई धम्क्याउनु ।

  नेपालमा मेडिकल फेल भएपनि सेटिङ्ग मिलाएर विदेशिनु र दुई तीन महिनामै स्वदेश फर्कनु ।   विदेशिने व्यक्ति नफर्किंदा परिवारलाई आर्थिक,सामाजिक,सांस्कृतिक र मनोवैज्ञानिक भार बढनु । विदेशिने व्यक्तिसँगको शारीरिक, मानसिक र भावनात्मक दुरि बढदै जानु । घरमा रहेका परिवारका सदस्यहरुले दैनिक जीवनयापन र खर्च गर्ने बानिमा देखासेखी गर्नु, लहलहैमा लागेर विदेशबाट पठाएको पैसाको दुरुपयोग गर्नु । परिवारका सदस्यहरुको सधैंभरी यसरी नै पुग्छ भन्ने मानसिकता रहनु, विदेशबाट आएको पैसाको व्यवसायिक योजना बिनानै लहलहै र देखासेखीमा लगानी  गर्नु । कमाएर  पठाएको पैसा फजुल खर्च गर्नु र कमाउने मानिसले खर्चको हिसाब किताब मागेमा देखाउन नसक्नु ।

   छोराछोरी पढाउन शहरमा डेरा लिनु अनि गाउमा भएका सासु ससुरालाई वास्ता नगर्नु ।  विदेशबाट श्रीमतीले कमायर पठायको पैशा जुवा तास र रक्सी खानमा खर्च गर्नु ।  काम गर्ने दौरानमा स्वास्थ्यमा समस्या आई कम्पनिले स्वदेश फर्काउनु । विदेशिने व्यतिसँग शारीरिक, मानसिक, सामाजिक, भावनात्मक र मनोबैज्ञानिक रुपमा दुरि बढनाले पहिला मन पर्ने व्यक्ति पछि मन पर्न छोड्नु ।  यस्ता मनोदशा देखापर्ने घटनाको स्वरुपले गर्दा परिवारको सदस्य रोजगारीका लागि विदेशमा रहँदा र जाँदा परिवारका अन्य सदस्य हरुमा समस्या आउँछ । खासगरी विरामी पर्र्दा, आफना दुखःसुखका कुराहरु बाँढ्न नपाउँदा सहज वा असहज दुवै खालका भावना मनमा उत्पन्न हुने गर्छन ।

२०७३ मंसिर २८ गते प्रकाशित

About The Author