Mon. Jan 27th, 2025

न्याय अहिले पनि जटिल छ

radhika-sapkota-2

काभ्रे जिल्लामा २०३७ सालमा जन्मिनु भएकी राधिका सापकोटाले २०६९ सालदेखि धादिङ जिल्लालाई आफ्नो कर्मभुमि बनाउनु भएको छ । महिला मानवअधिाकर रक्षकहरुको धादिङ जिल्लाको संस्थापक अध्यक्ष भएर महिला हिंसा विरुद्धको अभियानलाई जिल्लामा सकृया बनाउनु भएकी सापकोटा हाल महिला मानवअधिकार रक्षकहरुको राष्ट्रिय संजालको सदस्य तथा सहयात्री समाज नेपालको कार्यकारी निर्देशकको रुपमा काम गरिरहनु भएको छ । यसै सन्दर्भमा सापकोटासंग पाविलन्यूज डटकमले गरेको कुराकानी ।

मानवअधिकारको समग्र अभियान भन्दा छुट्टै किन आवश्यक पर्यो महिला केन्द्रित मानवअधिकारको विषय ?

– सम्पूर्ण मानवअधिकार महिला अधिकार हो । मानव अधिकारले सम्पूर्ण मानवको अधिकारलाई नै वोल्छ । त्यसै मानवअधिकार भित्र महिला अधिकार पनि समेटिएको छ । जैविक रुपमा महिलाहरु भिन्न छन् । महिलाहरुको पाठेघरसंग सम्बन्धित सवाल महिलाहरुको विशेष सवाल हो । बच्चा जन्माउने, हुर्काउने, दुध चुसाउने जस्ता कुराहरु र त्यससंग सम्बन्धित अधिकारको विषयमा मानवअधिकारको समग्रताले समेट्न सकेको छैन जसका कारणले महिला केन्द्रित   अधिकारको कुरा उठाउनु परेको हो ।

महिलाहरुको यो विशेष अवस्थाको आडमा रहेर समाज र राज्यले गरेको विभेद र त्यसले निम्त्याएको परिस्थिती पनि महिला अधिकारलाई छुट्याएर हेर्नुपर्ने कारक हो । महिलाहरुलाई राजनैतिक, सामाजिक र आर्थिक रुपमा गरिएको पक्षपातले गर्दा महिलाहरु पछि पारिएका छन् । जसका कारणले संसारभरीको आधा हिस्सा ओगेटाका महिलाहरुले विभेद र हिंसा भोगिरहेका छन् । एउटा मान्छेले प्राप्त गर्ने आधारभूत अधिकारबाट समेत बञ्चित गरिएका छन् । यसैलाई पूर्ण बनाउनका लागि हामीले मानवअधिकारसंगै महिलाअधिकारका कुरा उठाइरेहेका छौं ।

२. महिला हिंसाको पदावलीको घेराबाट लैङ्गिक हिंसाको सवाल उठाउदै हुनुहुन्छ, कारण के होला ?

–  संसारभरी धेरै लामो समय सम्म महिला हिंसाका मुद्धाहरु उठे । महिलाहरुमाथि हुने अिंसाको मुद्ध महिलाहरुले मात्रै उठाउने हो भन्ने मान्यता स्थापित भयो । हिंसा प्रभावित महिलाहरु र त्यसको अधिकार स्थापित गराउन बोल्नेहरु पनि महिलाहरु, हिंसा गर्ने पुरुषहरु यो अवस्थाले गर्दा महिला र पुरुष दुई भागमा विभाजित भए । अधिकारका क्षेत्रमा काम गर्ने पुरुषहरु पनि महिलाहरुका अधिकारका सवालमा खास गरी हिंसा विरुद्धको सवालमा चुप वस्न थाले । महिला अधिकारकर्मीहरुले पनि महिलाहरुको सवाल हाम्रो हो, हामीले मात्र बोल्ने हो भन्ने बुझाई भयो भने पुरुष अधिकारकमीृहरुको पनि महिलाहरुको हिंसाको सवालमा हामी वोल्ने हैन भन्ने धारण रह्यो ।

यसले महिलामाथि हुने हिंसाको मुद्धा कमजोर हुँदै गयो । अर्कोतिर महिलामाथि हुने हिंसा भनेको लैङ्गिकताको आधारमा भएको हिंसा हो नकि महिलाको शारिरीक अंग प्रत्यङ्गका कारणले । महिलाको ठूलो स्तन हुनु र योनी हुनु हिंसाको कारण नभएर समाजको सोच, संरचना र मूल्य र मान्यता मुख्य कारण हो । पछिल्लो समयमा तेस्रो लिङ्गिहरुको अधिकारको कुरापनि उठिरहेको छ । त्यसैले यसलाई फराकिलो पारेर हेर्न र यो मुद्धलाई सबैको साझा मुद्धा बनाउन महिला हिंसाबाट लैङ्गिक हिंसाको प्रयोग भएको हो । यो हुँदा हुँदै पनि बास्तवितकता के हो भने संसारभरी नै लैङ्गिकताको आधारमा हुने हिंसाबाट प्रभावितहरुमा ९९ प्रतिशत महिलाहरुकै संख्या रहेको छ ।

हिंसाका प्रभाव र क्षेत्र कुन कुन हुन् ?

– हिंसा कहाँ हुन्छ भनेर हेर्ने हो भने सबै भन्दा बढि आफ्नै घरभित्र भैरहेको छ । घर, विद्यालय, बाटे, पानी, पँधेरो, सबै स्थानमा हिंसा हुने गरेको पाइन्छ । शारिरीक, मानसिक, यौनिक, आथिक र राजनीतिक रुपमा महिलाहरुमाथि हिंसा भैरहको छ ।   जिल्लाको हकमा हेर्ने हो भने घरेलु हिंसा सबै भन्दा बढि भएको देखिन्छ भने यौनिक हिंसा पनि डरलाग्दो रुपमा बडेको छ । यौनिक हिंसालाई हेर्दा बालिकाहरु र अपाङ्गता भएका महिलाहरुमाथिको यौनिक हिंसा बढि देखिन्छ ।

हिंसाको प्रभावलाई हेर्दा हामीले अहिले सम्म महिलाहरुमाथि परेको प्रभावलाई र सानो रुपमा मात्रै यसको प्रभावलाई विश्लेषण गरिरहेका छौं  । तर एउटा महिला हिंसामा पर्दा त्यो परिवारको सबै सदस्यहरुलाई नकारात्मक असर गरिरहेको हुन्छ । आर्थिक, सामाजिक र पारिवारिक रुपमा पर्ने असरले एउटा परिवारको अवस्था नाजुक बनाईरहेको हुन्छ । त्यसले समाज र पुरै राज्यको आर्थिक सामाजिक अवस्थामा समेत प्रभाव पारेको हुन्छ । महिला हिंसाको तत्कालिन, छोटो समय र लामो समयमा हुने धेरै प्रभावहरु हुन्छ् । यस्ता हिंसाले व्यक्तिगत, पारिवारीक र सामाजिक रुपमा नकारात्मक असर पार्छ । जसको असर क्षेत्रिय, राष्ट्रिय र अन्तराष्ट्रिय तहमा पनि हुन्छ ।

 महिला माथि भै रहेको हिंसाको सबैभन्दा जटील विषय के हो ?

–   हामीले धादिङ जिल्लालाई हेर्ने हो भने १ वर्षमा ४४३ जना महिला तथा बालिकाहरु हिंसा प्रभावित भएको तथ्यांक सहयात्री समाज नेपालले सार्वजनिक गरेको छ । ४४३ मध्ये २६९ जना महिलाहरु आफ्नै श्रीमानबाट हिंसा प्रभावित भएका छन् भने ५४ जना आफ्नै परिवारका सदस्यबाट हिंसा प्रभावित भैरहेका छन् । महिला हिंसाको सबै भन्दा जटिल विषय भनेको नै यही हो । महिलाहरु आफ्ना सबै भन्दा नजिकका मान्छेहरुबाटै हिंसा प्रभावित भैरहेका छन् । सहयात्री समाज नेपालको तथ्यांकलाई नै आधार मान्ने हो भने ४४३ मा जम्मा ११ जना महिलाहरु मात्रै कहिलै पनि नचिनेका मान्छेहरुहरुबाट हिंसा प्रभावित भएका छन् ।

यसरी हेर्दा महिलाहरुको लागि आफ्नो घर सबैभन्दा जोखिमको स्थान र आफ्ना नजिकका मान्छे सबै भन्दा जोखिमका मान्छेका रुपमा रहेको पाइन्छ । हामी जसलाई संरक्षक भनेर विश्वास गरिरहेका छौं उनीहरुबाट नै महिला र वालिकाहरुले हिंसा भोगिरहेका छन् । फेरी पारिवारिक सदस्यले गर्ने हिंसा एकपटक हुने र सकिने भन्ने हुदैन धेरै लामो समय सम्म निरन्तर हिंसा भैरहेको हुन्छ । हिंसा प्रभावितहरुले पनि परिवारका सदस्यबाट भएको हिंसालाई सितिमिति बाहिर ल्याउन सक्दैनन् । बाहिर ल्याउँदा उनीहरु त्यो घर परिवार र समाजबाट नै बहिस्कृत हुने र विस्थापित हुनुपर्ने अवस्थाहरु रहन्छ । यो महिला हिंसामा रहेको सबै भन्दा जटिलता हो ।

समाधान कहाँ अड्क्का् छ ?

– महिला हिंसा अन्त्य वा हिंसामा परेका महिलाहरुको न्याय अहिले पनि जटिल बनिरहेको छ । न्याय महिलाहरुको लागि अझै आकाशको फल आँखा तरि मर भने जस्तै भएको छ । कानुनहरु निमार्ण भएका छन् तर कार्यान्वयन अझैपनि चुनौतिपूर्ण छ । समाजको कानुन अझै पनि राज्यको कानुन भन्दा बलियो बनिरहेको छ । न्यायिक निकाय सम्म महिलाहरुहरुको पहुँच अझै पुग्न सकेको छैन । प्रहरी कार्यालय नदेख्ने थुप्रै महिलाहरु छन् । आफूमाथि भएको हिंसालाई हिंसा हो भनेर बुझ्न समय लाग्छ, बुझेपछि त्यसको प्रतिकार गर्न अझै थुप्रै वर्ष सम्म महिलाहरुले हिम्मत जुटाउनु पर्ने अवस्था छ ।

लामो समय सम्म हिंसा सहेर सहनै नसक्ने भएपछि मात्रै महिलाहरु त्यसको विरुद्धमा वोल्न थाल्दछन् । जब वोल्छन् त्यसपछि उनीहरुले घरपरिवार र आफन्तहरुको ढोका बन्द गर्नुपर्ने वाध्यता छ । एक्लै न्यायका लागि लड्नुपर्ने अवस्था एकातिर छ भने अर्कोतिर हाम्रो न्यायिक संरचना अझैपनि हिंसा प्रभावित महिलाहरु मैत्रि हुन सकेका छैनन् । लामो समय सम्म हिंसा सहेर आएका महिलाहरुलाई सम्मान, सुरक्षा र पुर्नस्थापनाको व्यवस्था गर्नुपर्ने राज्यको जिम्मेवारी भएपनि त्यो अझै पुरा हुन सकेको छैन । अहिले सम्म पनि हिंसा प्रभावित महिलाहरुलाई सहयोग गरेकै कारण  गाविसहरुमा राजनीतिक निर्णय गरेर महिला मानवअधिकार रक्षकहरुलाई निषेध गर्ने कुराले राजनीतिक दलहरुको अपराधलाई संरक्षण गर्ने कुरा प्रस्ट हुन्छ ।

हिंसा प्रभावित महिलाहरुलाई उनीहरुको न्यायका लागि, पुर्नस्थापनाका लागि सहयोग गर्ने महिला मानवअधिकार रक्षकहरुपनि सधै जोखिममा परिरहेका छन् । यि सबै कुराले एकातिर हिंसा प्रभावित महिलाहरुलाई न्याय सम्म आउन रोकिरहेको छ भने अर्कोतिर अपराध गर्नेहरुको मनोवल बढाई रहेको छ । महिलामाथि हुने हिंसामा शुन्यशहनशिलत भनेर राज्यका नीतिमा भनिएपनि अझै त्यसको झल्को व्यवहारमा पाउन सकिएको छैन । अहिले सम्म पनि कति कानुनहरुमा अस्पस्टता छ वा कानुनमा भएको झन्भटिलो र लेन्दी प्रकृयाले न्याय सम्म प्रभावितको पहुँच पुगेको छैन ।

एउटा घरेलु हिंसामा कुरा गर्ने हो भने एउटा श्रीमानसंग मुद्धा लड्ने श्रीमती घरपरिवारबाट टाढा रहेर सडकमा खालि हात मुद्ध लडिरहेकी हुन्छ , सम्पत्तिको मालिक, घरपरिवार, समाज र राजनीतिक दलको आड भरोसा पाएको पहुँचवाला मान्छेसंग । अनि हाम्रो कानुनले बेलुका खानका लागि गरिएको माना चामलको फैसला १ वर्षमा गर्छ, कही कतै यो व्यवस्था छैन की १ वर्ष ऊ कहाँ जाने ? के खाने ? वा कसरी वाँच्ने भन्ने । त्यसैले यी सबै बाधाहरु अटाउन नसक्दा सम्म, हाम्रा सोच र मानसिकतामा परिवर्तन गर्न नसक्दा सम्म यो अडिरहन्छ ।

समाज रुपान्तरणको यो अभियानमा संलग्न रगकहरुको सुरक्षाको जोखिमको कुरा यहाँले उठाउनु भयो अलि प्रस्ट पार्नुहोस् न  । यो अभियानले कस्तो साथ सहयोग पाएको छ ?

–  महिलामाथि हुने हिंसा अपराध हो र यसलाई अपराधको रुपमा स्थापित गर्दे हिंसा प्रभावित महिलाहरुको न्यायका लागि लागिरहेका महिलामानवअधिकार रक्षकहरु अहिले एकदमै जोखिममा परिरहेका छन् । महिलाहरुलाई सहयोग गरेर उनीहरुलाई न्याय प्राप्त गर्ने अवस्था सम्म पुर्याएकै कारणले कति महिला मानवअधिकार रक्षकहरुले ज्यान समेत गुमाएका छन् । यही काम गरेकै कारण महिलामानवअधिकार रक्षकहरु कहिले पिडकबाट, कहिले समाजबाट, कहिले राजनीतिक दलहरुबाट, त कहिले राज्यका निकायहरुबाटै असुरक्षित हुने गरेका छन् ।

तपाईले धादिङकै सन्दर्भमा हेर्नुहुन्छ भने कैयौं पटक महिला मानवअधिकार रक्षकहरुलाई ज्यानमार्ने धम्कि आएका छन्, उनीहरुको चरित्रमा दाग लगाउने प्रयास भएका छन् । कति महिलामानवअधिकार रक्षकहरुको जीवन नै असुरक्षित भएको र सुरक्षाका लागि सदरमुकाम आएर बस्नु परेको छ । भरखरै मात्रै हिंसा प्रभावित महिलाहरु राखिएको सुरक्षित आवास गृह माथि सरकारको निकायले आक्रमण गर्यो । हामी धेरैले देख्दा त्यसलाई भवन , एउटा संरचनामाथिको आक्रमण देख्यौं तर त्यसलाई विश्लेषण गर्ने हो भने त्यो भवनमाथि हैन पितृसत्तात्मक सोच संचरचना , मूल्य र मान्यताले ग्रसित मानसिकताले महिला मानवअधिकार रक्षकहरुको काममाथि गरेको सबै भन्दा ठूलो प्रहार हो । राती राज्यले गरेको वर्वता र अन्यायको पराकास्ट हो । यही घटनाले नै महिला मानवअधिकार रक्षकहरुको अवस्थालाई प्रस्ट पारेको छ ।

महिलाहरुको मानवअधिकार स्थापित गर्न टाउकोमा कफन बाँधेर मैदानमा हिडेका महिला मानवअधिकार रक्षकहरुको योगदान र सघर्ष कै कारण आझ महिला हिंसा अपराधको रुपमा स्थापित हुन सकेको छ । पछिल्लो समय महिलामाथि हुने हिंसाको मुद्धा महिलाहरुको मात्रै हो भन्ने सोचमा परिवर्तन आउन थालेको छ । लैङ्गिकतामा आधारित ंिसा विरुद्ध पुरुषहरुको सहभागिता आशालाग्दो रुपमा बढिरहेको छ । हामीमाथि लागेको दाग हामीले नै मेटाउनु पर्छ भन्ने धारणाले पुरुषहरु लागि रहनु भएको छ । यसले यो आन्दोलनलाई बलियो बनाउन सहयोग गर्नेछ ।

संस्थागत रुपमा के गरिरहनु भएको छ विषयगत हिसाबले ?

–  सहयात्री समाज नेपाल महिला माथि हुने हिंसा विरुद्ध काम गर्ने मुख्य उद्देश्य लिएर स्थापना भएको संस्था हो । यसले जिल्लामा हिंसा प्रभावित महिलाहरुलाई न्यायका लागि सहयोग गर्ने काम गरिरहेको छ । संस्थाले सुरक्षित आवास गृह संचालन गरिरहेको छ जसका कारणले ंिहंसामा परेका महिलाहरुको पुर्नस्थापना सहज बन्न सकेको छ । यतिमात्रै नभएर हिंसा प्रभावित महिलाहरुलाई मनोसामाजिक विमर्श, कानुनी परामर्श समेत गर्दै आइरहेको छ । संस्थाले २५ वटा गाविसमा महिलामानवअधिकार रक्षकहरुको गाविस संजालहरु निमार्ण गरी उनीहरुको क्षमता विकास गरेर गाविसमा नै हिंसा प्रभावित महिलाहरुलाई सहयोग गर्ने वातावरण निमार्ण गरेको छ ।

हिंसाका घटनाहरुलाई रिफर गर्ने एउटा सिस्टमलाई मजवुद बनाउन संस्थाले काम गरिरहेको छ । यसका साथै लैङ्गिक हिंसा, महिला अधिकारका बारेमा सचेतना वृद्धि गर्ने काम संस्थाले गरिरहेको छ । हिंसा न्युनिकरणका लागि विभिन्न अभियानहरु संचालन गरिरहेको छ । यसै गरी संस्थाले महिलाहरुका मुद्धाहरुलाई समुदाय तहदेखि उठाएर केन्द्र सम्म पुर्याई नीति निमार्ण र परिमार्जनका लागि समेत भुमिका खेलीरहेको छ । पछिल्लो समयमा महिलमाथि हुने हिंसाको मुद्धा महिलाहरुको मात्रै मुद्धा बनाएर यसको न्युनिकरण संभव छैन भन्ने बुझेपछि लैङ्गिकताका आधारमा हुने हिंसा विरुद्धको अभियानमा पुरुषहरुको सहभागिता वृद्धिका लागि काम गरिरहेको छ ।

पुरुष समुहरु, किशोर समुहहरु निमार्ण गर्ने, जिल्लामा विभिन्न कामहरु गरेर उहाँहरुको सहभागिता वृद्धिका लागि काम गरिरहेको छ । महिलाहरुको आर्थिक, सामाजिक र राजनीतिक शसक्तिकरणका लागि संस्थाले  काम गर्दै आइरहेको छ । महिलाहरुको स्वास्थ्य, सरसफाई र सुरक्षाका लागि पनि संस्थाले काम गरिरहेको छ । समग्रमा भन्नु पर्दा सहयात्री समाज नेपाल जिल्लामा लैङ्गिकताको आधारमा हुने हिंसा विरुद्ध काम गनेृ एउटा संस्थाको रुपमा स्थापित भई धेरै महिलाहरुको अधिकार र समग्र महिलाहरुको मुद्धा स्थापित गर्न लागिरहेको छ ।

आशावादी हुुनुहुन्छ ? परिवर्तन संभव छ ? त्यसका लागि के के चाहिन्छ ?

– आशावादी भएर नै हामीहरु यसरी लागिरहेका छौं । परिवर्तन संभव छ । किनकी हिजो महिलामाथि हुने हिंसालाई हिंसाका रुपमा नभएर भाग्यको रुपमा सोच्ने एउटा अवस्थाबाट बाहिर ल्याउन हामी सफल भएका छौं । जसले गर्दा कम्तिमा अहिले हिंसलाई अपराधको रुपमा स्विकार गर्न लागिएको छ । यदि यो समयमा हामीले संघर्ष गरेनौं र चेतनामा परिवर्तन गराउन सकेनौं भने हाम्रा सन्ततिले पनि यो विभेद र हिंसा भोग्नुपर्ने छ । हामीले यो जिम्मेवारी पाएका छौं, एउटा युगको परिवर्तन गरी नयाँ युग निमार्ण गर्ने यो जिम्मेवारीलाई पुरा गर्नु त्यत्ति सहज छैन । मानिसको वर्षौ देखिको सोच र व्यवहार परिवर्तन गर्नेकुरा आफैमा कठिन कुरा हो । हामीले कालोलाई सेतो भन्न जति गाह्रो छ त्यत्ति नै गाह्रो छ महिलाहरुको स्वतन्त्रता र अधिकारलाई स्विकार गर्न । तर पनि संभव छ ।

हामी सबै चेतनशिल मानिसहरुको लगाव भयो भने हामी सक्छौं । किनकी यो देशको आधा हिस्साालाई काम नलाग्ने बनाएर जहिले पनि घिसारिरहने हो भने हाम्रो देशको समग्र विकास संभव छैन त्यसैले यो हिंस्सालाई उठाउन जरुरी छ, संग ल्याउन र उनीहरुको क्षमताको उपभोग गर्न जरुरी छ । यसका लागि एकजना दुईजना हैन हजारौं हजार व्यक्तिहरुको समर्पण चाहिन्छ । नीति नियम चाहिन्छ, त्यसको कार्यान्वयन प्रभावकारी चाहिन्छ । प्रतिवद्धत्ता चाहिन्छ र परिवर्तनको सपना देख्ने धेरै मनहरु हामीसंगै चाहिन्छ अनि संभव छ यो अभियानको सफलता

 अन्त्यमा, सरोकारवालाहरुसंग के अपेक्षा राख्नु हुन्छ ? आव्ह्रान गर्नुहुन्छ ?

– यो देशका सबै भन्दा बढि उत्पादन गर्ने उमेर १६ देखि ४० वर्ष भित्रका महिलाहरु हिंसाबाट प्रभावित भएका छन् । ज्यान गुमाएका छन्, अंगभंग भएका छन् वा मानसिक सन्तुलन गुमाएर बसेका छन् । यिनीहरुको क्षमतालाई हामीले त्यत्तिकै मारिरहेका छौं । हिंसाको एउटा पीडाले उनीहरु भित्रको क्षमता मरिरहेको छ । त्यसैले यदि यी महिलाहरुलाई हिंसा मुक्त बनाएर हामीले उनीहरुलाई अवसर दिने हो भने उनीहरुले यो देशको विकासको लागि ठूलो योगदान पुर्याउन सक्छन् । यो एउटा घर भित्रको कुरा हो, परिवार भित्रको कुरा हो तर यसको असर त्यसमा मात्रै सिमित छैन पुरै देशको अर्थतन्त्रलाई यसले प्रभाव पारिरहेको छ । यसलाई बुझिदिन आग्रह गर्न चाहान्छु । यो अभियान मेरो वा अरु कोही १,२ जनाको अभियान हैन हामी सबै सचेत नागरिकको अभियान हुन जरुरी छ । त्यसैले म यसै मार्फत सबै सचेत नागरिकलाई लैङ्गिकताको आधारमा हुने ंिहंसा विरुद्धको अभियानमा लाग्नका निमित्त आव्ह्रान गर्न चाहान्छु ।

२०७३ मंसिर २७ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: