२३ मंङ्सीर, काठमाण्डौँ – नेपाल र भारतबीच भएको विद्युत व्यापार सम्झौता (पिटिए)विपरीत भारतले क्रस बोर्डर विद्युत व्यापार निर्देशिका कार्यान्वयनमा ल््याएको छ । पिटिएको व्यवस्थाविपरीत भारतीय ऊर्जा मन्त्रालयले सोमबार निर्देशिका जारी गरेको छ ।
भारतीयबाहेक अन्य मुलुकका निजी कम्पनीले उत्पादन गरेको विद्युत आयात नगर्ने व्यवस्था निर्देशिकाले गरेको हो । नेपाल–भारतबीच भएको पीटीएमा नेपाल भारतबीत विद्युत्को खुला व्यापार हुनसक्ने व्यवस्था छ ।
विद्युत व्यापारलाई रणनीतिक, राष्ट्रिय र आर्थिक महत्वको मुद्दा भएको भन्दै निर्देशिकामार्फत भारतले विदेशी निजी कम्पनीले नेपाल, भुटान र बंगलादेशमा उत्पादन गरेको विद्युत आयात नगर्ने निर्णय गरेको छ । यद्यपि, भारतले नेपालबाट विद्युत आयात गर्नसक्ने व्यवस्था भने निर्देशिकामार्फत पहिलोपटक गरेको छ ।
‘पिटिएमा भएको व्यवस्थाअनुसार भारतले अझै विभेदरहित पहुँच दिएको छैन, यहाँको जलविद्युत्मा भारतीय लगानी संरक्षण गर्ने गरी निर्देशिका ल्याएको देखिन्छ,’ ऊर्जा मन्त्रालय स्रोतले भन्यो, ‘तर, यसले भारतमा विद्युत बिक्रीका लागि ढोका भने खोलेको छ ।’
निर्देशिकामा गरिएको व्यवस्थालाई राजनीतिक र कूटनीतिक तहबाट संशोधन गर्न पहल गरिनुपर्ने उनले बताए ।
दुई मुलुकबीच ४ कात्तिक ०७१ मा विद्युत व्यापार, सीमापार प्रसारण लाइन संयोजन एवं प्रसारण सञ्जाल संयोजनसम्बन्धी सम्झौता (पिटिए) भएको थियो । पिटिएको धारा २ (ख)मा दुई मुलुकले साझा विद्युत बजारमा सबै आधिकारिक अनुमतिपत्र प्राप्त सहभागीलाई सीमापार प्रसारणलाइन संयोजनमा विभेदरहित पहुँच प्रदान गर्ने सहमति जनाउँदै सम्झौता गरेका थिए ।
नेपालले विभिन्न बैठकमा यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउने विषयलाई भारतसमक्ष मुख्य रूपमा उठाउँदै आएको थियो । नेपालले भारतबाट विद्युत आयात गर्दै आएपछि नेपालबाट भारततर्फ निर्यात भने हुने गरेको छैन । नयाँ पत्रिका दैनिकबाट ।