Thu. Mar 6th, 2025

नाकाबन्दीका वेला चीनबाट तेल ओसार्ने ट्यांकरले पैसा पाएनन्

nepal_oil_corporation_final_766387566_163115679
२१ मंसिर, काठमाडौं –
नाकाबन्दीका वेला चीनबाट तेल ओसार्ने ट्यांकरको ढुवानी भाडा अझै भुक्तानी भएको छैन ।

चीनबाट १३ लाख लिटर पेट्रोल ओसार्न प्रयोग गरिएका ट्यांकरका भाडाबापतको रकम नपाएको ढुवानी व्यवसायीले बताएका छन् ।

भारतले नाकाबन्दी गरेका वेला चीनको केरुङबाट रसुवागढी हुँदै करिब १३ लाख लिटर पेट्रोल आयात गरिएको थियो । उक्त पेट्रोल आयात गर्न एक सय ३७ ट्यांकर परिचालन भएको बागमती ट्यांकर ढुवानी व्यवसायी संघका अध्यक्ष वासु दाहालले जानकारी दिएको  छ ।

आयल निगमको थानकोट डिपोबाट केरुङमा तेल ओसार्न पहिलोपटक १३ कात्तिकमा १२ ट्यांकर गएका थिए । पहिलो लटको तेल काठमाडौंमा १६ कात्तिकको साँझ आइपुगेको थियो ।

केरुङबाट तेल ओसार्नका लागि निगम र ढुवानी व्यवसायीबीच ‘उचित भाडा कायम गर्ने’ समझदारी भएको ट्यांकर व्यवसायी उमेश बानियाँले बताए । ‘राष्ट्रलाई इन्धन आपूर्ति गर्न हदैसम्म कठिनाइ भएका वेला हामीले कठिन बाटोको परवाह नगरी उचित भाडा उपलब्ध गराउने निगमको मौखिक आश्वासनमा इन्धन ओसार्‍यौँ,’ उनले भने, ‘तर, भाडा पाउने वेलामा निगमले एकतर्फी रूपमा किलोमिटरका आधारमा गणना गरेको छ ।’

उनका अनुसार निगमले प्रतिट्यांकर राउन्ड ट्रिप भाडादर १८ हजार ६ सय रुपैयाँ निर्धारण गरेको छ । ‘त्यतिवेला उचित भाडादर उपलब्ध गराउने मौखिक सहमति गर्दा निगमका कर्मचारी ५०–५५ हजार रुपैयाँसम्म उपलब्ध गराउनसक्ने आश्वासन दिएका थिए,’ उनले भने, ‘तर, अहिले हाम्रो लागतले पनि नभ्याउने भाडादर दिन खोजिएको छ ।’ उनले एक ट्रिपमा तेल ओसार्न करिब ३५ हजार रुपैयाँ खर्च भएको दाबी गरे । नयाँ पत्रिका दैनिकबाट

२०७३ मंसिर २१ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: