Thu. Feb 27th, 2025

दार्खामा कृषि उपज संकलन बिक्रि केन्द्र स्थापना

darkha-sankalan-kendra-1-copy
अर्जुन श्रेष्ठ / १७ मंसिर,  धादिङ – 
ग्रामिण किसानहरुको उत्पादन तथा उत्पादकत्व वृद्धिका साथै बजारिकरण सुनिश्चित गर्नका लागि उत्तरी धादिङको दार्खा–५ डुन्डुरेमा उत्तरी धादिङ कृषि उपज संकलन बिक्रि केन्द्र स्थापना गरिएको छ ।

अन्तराष्ट्रिय गैर सरकारी संस्था नोर्लाको आर्थिक सहयोगमा सामुदायिक उत्थान पद्धतिका लागि मञ्च फोकस नेपाल धादिङ र जिल्ला कृषि विकास कार्यालय धादिङको समन्वयमा स्थापना गरिएको हो । यस संकलन केन्द्र फोकस नेपालद्धारा संचालित हिमालयन सामुदायिक विकास परियोजना एभीसीडी परियोजना मार्फत १ लाख ३५ हजार लगानीमा निर्माण गरिएको हो । प्रशंसा साना किसान कृषि सहकारी संस्था लिमिटेड झार्लाङको नेतृत्वमा संकलन केन्द्र अहिले संचालन भैरहेको छ ।

विशेषगरी उत्तरी धादिङमा आलु, सिमि, भेडा र बाख्रापालनको राम्रो पकेट क्षेत्र मानिन्छ । तर उत्पादित कृषि जन्य उत्पादनले बजार नपाएपछि लामो समयदेखि किसान मर्कामा परिरहेका थिए ।

darkha-sankalan-kendra-2

अहिले उत्तरी धादिङका किसानहरु उत्पादित आलु विक्री गर्न संकलन केन्द्र आइपुग्छन् । यस संकलन केन्द्रबाट दार्खा, झार्लाङ, सेर्तुङ, तिप्लिङ, लापा, री गाविसबासीहरु लाभान्वित बनेका छन् । स्थानीय ठाउँमै संकलन केन्द्र स्थापना भएपछि कृषि कर्ममा सहज भएको र उत्साह थपिएको किसानहरु बताउँछन् ।

विभिन्न संघ सस्थाले कृषि क्षेत्रलाइ अंगालेर जिविको चलाउदै आएका किसानलाइ सहयोग गर्दै आएको छ । कृषि कर्ममा लागेको किसानहरुले विभिन्न तालिम पाएपछि उत्पादनमा पनि वृद्धि हुन थालेको छ ।
हिजोआज आलु विक्रि गर्न आउने किसानको चाप बढ्न थालेको छ । संकलन केन्द्रमा दैनिक ६/ ७ क्वीन्टल आलु विक्रिका लागि आउने गर्दछ । ३० हजार केजी क्षमताको भएपनि आर्थिक अभावका कारण किसानको उत्पादन खरिद गर्न समस्या रहेको संकलन केन्द्रका अध्यक्ष रामबहादुर तामाङ बताउँछन् ।

उत्तरी धादिङ कृषि उपज संकलन विक्रि केन्द्र संकलन भएका कृषि जन्य उत्पादन दार्खाका छिमेकी गाविसहरु, धादिङको सदरमुकाम लगायत आसपासका जिल्लाहरुमा निर्यात गरिदै आएको छ ।

 २०७३ मंसिर १७ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: