१२ मंसिर, धादिङ –
बुढीगण्डकी जलविद्युत आयोजनाका प्रभावितहरुले मुआब्जा वितरणमा असन्तुष्टि जनाउँदै पृथ्वीराजमार्गमा प्रर्दशन गरेका छन् ।
धादिङको बेनीघाटमा आइतबार धादिङ र गोरखाका स्थानियबासीहरूले सरकारले प्रर्याप्त मुआब्जा नदिएको भन्दै सवारी आवागमनमा समेत अवरूद्व गराएका छन् ।
प्रदर्शनकारीको अवरोधका कारण राजमार्ग हुँदै राजधानी भित्रिने तथा बाहिरिने सवारी साधन समेत प्रभावित भएका छन् ।
जग्गाको उचित मुआब्जा नदिएर डुबान क्षेत्रका वासिन्दालाई सुकुम्बासी बनाउने र आयोजना अघि नबढाउने षड्यन्त्र अनुसार कम मुआब्जा तोकिएको भन्दै बुढीगण्डकी आयोजना राष्ट्रिय सरोकार समितिले यसलाई सच्याउन तीन दिने अल्टिमेटम दिएको छ ।
आइतबार बुढीगण्डकी आयोजना विकास समितिको कार्यालयमा सूचना टाँस गरी सरोकार समितिले तीन दिन भित्र निर्णय नसच्याए कार्यालयमा तालाबन्दी लगायतका अन्य विरोध कार्यक्रमहरु गर्ने चेतावनी दिएको छ। त्यस्तै निर्णय नसच्याएसम्म बुढीगण्डकी विकास समितिका कर्मचारीलाई डुबान क्षेत्रका गाविस प्रवेश गर्न नदिने सरोकार समितिका संयोजक हरेराम ढकालले जानकारी दिए ।
डुबान क्षेत्रको जग्गाको मुआब्जा ५ लाख २५ हजारदेखि ८ लाख ३५ हजार रुपैयाँसम्म तोकिएको विरोधमा गरेका छन् । जिल्ला मुआब्जा निर्धारण समितिले जग्गाको बर्गीकरण हालको भोगचलनको आधारमा नगरेको र मुआब्जा निर्धारण निकै कम गरिएकोमा डुबान क्षेत्रका वासिन्दाले विरोध जनाएको सरोकार समितिका सदस्य मनोहर ढकालले बताए ।
डुबान क्षेत्रका वासिन्दाले कम्तीमा बुढीगण्डकी जलविद्युत आयोजना विकास समितिले दुई वर्षअघि खरिद गरेको जग्गालाई बराबर मुआब्जा दिनुपर्ने, जग्गाको बर्गीकरण हालको भोगचलनको आधारमा गर्नुपर्ने र पुनर्बासको ग्यारेन्टी गर्नुपर्ने लगायतका माग राखेका छन् ।
२०७३ मंसिर १२ गते प्रकाशित