त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर उत्तीर्ण गर्नुभएका गणेश आगम ढुङ्गानाले यसभन्दा अगाडि ब्याङ्गलोर विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातक तथा भारतकै प्रतिष्ठित टाटा सामाजिक विज्ञान संस्थान, मुम्बईबाट प्रकोप व्यवस्थापनमा स्नातकोत्तर गरेका थिए । साथै उनलाई इन्डोनेसिया विश्वविद्यालय, जाकर्ताबाट विश्व विविधतामा सम्मानित स्नातक प्रदान गरिएको छ ।
ढुंगानाले प्राज्ञिक विद्यार्थी परिषदको सचिव भै विश्व युवा तथा विद्यार्थी संगठनको सचिव भएर समेत काम गरेका थिए । उनले मंगोलिया, भारत, चीन, इन्डोनेसिया साथसाथै नेपालका विभिन्न जिल्लाहरुमा युवा नेतृत्वको बारेमा उत्प्रेरक एवं वक्ता भएर सहभागी छन् ।
ढुंगाना एक सृजनशील लेखक पनि हुन् । उनले अहिलेसम्म बाल बोली कविता संग्रह, आवाज मुटुको कवितासंग्रह, भर्टेक्स कथासंग्रह तथा डेस्टिनेसन निबन्धसंग्रह गरी ४ वटा पुस्तक प्रकाशन गरिसकेका छन् । उनी कार्तिकेय राष्ट्रिय बालप्रतिभा पुरस्कारबाट समेत सम्मानित भएका छन् । उनकै नेतृत्वमा हालसालै शुरु भएको बेटर नेपाल अभियानले राष्ट्रिय चर्चा बटुल्दै गर्दा पाविलन्यूज डटकमका संवाददाता अस्मिता खतिवडाले गरेको कुराकानी :
बेटर नेपाल अभियान के हो ?
– यो एउटा सोचको यात्रा हो । राष्ट्र निर्माणको लागि आफैंसंग भएका मूल्य मान्यतालाई समयअनुसार परिस्कृत गर्दै समाज र राष्ट्रलाई समृद्ध बनाउन सकिन्छ भन्ने मान्यताको उपज हो । विकास र परिवर्तन आयातित विचार र पद्धतिहरु भन्दा आफ्नै माटोमा हुर्किएकाले दिगोपन ल्याउँछ भन्ने वकालत हो ।
अभियानमा को–को छन् ?
– यो अभियानमा प्रेम र सद्भावले बाँधिएका युवाहरु छन् जो समृद्ध नेपालको सपनासंगै हुर्किदै छन् ।
गर्ने कार्यहरु के–के हुन् ?
– हाम्रो प्रमुख कार्य भनेको चरित्रवान् व्यक्ति निर्माण हो । जो कुनै जात जाति ,भाषा, धर्म , विचार र अन्य कुनै कारणले विभाजित नरही देशलाई समृद्घ बनाउने प्रकृयामा आ–आफ्नो ठाउँबाट सहयोग पु¥याउन र व्यक्ति निर्माणको प्रकृयालाई हामीले तीन तवरले अगाडि बढाएका छौं । कला–साहित्य, सूचना प्रविधि र उत्प्रेरणा–परामर्श ।
अभियानमा अरुलाई कसरी सहभागी गराउनुहुन्छ ?
– हामीले हाम्रा गुरुहरुको सल्लाह र सुझावलाई हृदयबाटै मनन् गर्दै उहाँहरुको मनमा बसेका कोपिलाहरुलाई अभियानमा सहभागी गराएका छौं । यो अभियान हामीहरुले बिभिन्न विश्वबिद्यालयका गुरुहरुको सल्लाह र सिफारिसमा हाम्रो मुख्यसमितिमा राखेका छौं । र सम्पूर्ण ईच्छुक र प्रतिबद्घ युवाहरुलाइृ मार्ग खुल्ला राखेका छौं ।
यो अभियानले देशले के पाउंछ ?
– यो अभियानले देशमा प्रेमको शक्ति फैलाउने छ । र राष्ट्रलाई समृद्घ बनाउनको लागि यो एक माध्यम बन्न सक्नेछ । आज देशमा एकताको खडेरी लागेको छ । र त्यसलाई मलजल गर्न प्रेमको वर्षाको आवश्यकता छ ।
भविष्यको नेपाल कस्तो कल्पना गर्नुभएको छ ?
– नेपाल आफँैमा एक सुन्दर ज्ञानभूमि हो । हामीले आफ्नो अस्तिव र क्षमतालाइृ नबुझ्दा धेरै पछाडि परेका छौं । मेरो सोच मा यो देश भविस्यमा नेपाल एक धार्मिक पर्यटकीय स्थल, दक्षिण एसियालाई नै पर्याप्त उर्जा निर्यातकर्ता, अर्गानिक कृषि भुमी र प्राचिन सभ्याताको अध्ययन भुमीको रुपमा बिश्वको एक उत्कृष्ट गन्तव्य बन्न सक्छ ।
अभियानमा युवाहरु नै किन ?
– समृद्घ नयाँ पालुवा हुर्किनु पर्छ । र यो युवा पालुवाहरु कर्मठ र निष्ठवान् हुन्छन् ।
लाखोैं युवाहरु रोजगारीको सिलसिलामा विदेशिरहेका छन्, यो अभियानले ती युवाहरुको बारेमा पनि केही सोचेको छ?
– हामीले देशमा नै सम्भावना खोजिरहेका छौँ । जव विदेशिएका युवाहरुले ती सम्भावनाहरुलाई देख्छन् र यहीँ कर्म गर्न थाल्छन्, देश पनि सम्वृद्घ बन्छ र घरका आँगनमा मुस्कानहरु फुल्दै जान्छन् ।
युवाका मुख्य समस्या के हो जस्तो लाग्छ ?
– वास्तवमा युवामा समस्या नै छैन समस्या त समाजले राखेको दृष्टिकोण हो । र त्यही दृष्टिकोणले बिस्तारै विकृति , विसंगति लगायतका बिल्लाहरु युवालाई भिराउन थाले र युवाहरु त्यसमै फसे , थिचिए र भासिए । अब आवश्यकता छ त उनिहरुलाई प्रेमले सफा गरि जिम्मेवारीको भारी बोकाएर अवसरको मार्गमा हिडाउने अनि देखिनेछ चमत्कार ।
नीतिगत तहमा युवा सहभागिता बढाउन के गर्नुपर्ला ?
– ठूला तहमा भएकाहरुको मानसिकतामा परिवर्तन र युवाको क्षमता र दक्षतामाथि सकारात्मक दृष्टिकोण राख्नु पर्छ ।
अन्तमा,
म राम्रो छु भन्ने सोच्नु , राम्रो बन्न राम्रा कार्यहरु गर्नु , सोचमा परिवर्तनसंगै व्यवहारमा परिवर्तन आउँछ । त्यो नै समृद्घको पहिलो बिन्दु हो । धन्यावद ।
२०७३ मंसिर ६ गते प्रकाशित