बोधनारायण श्रेष्ठ –
विभिन्न दिवसहरुको भिडमा अर्को एक दिवस आएको छ, विश्वचर्पी दिवस, १९ नोभेम्बर । नट अ जोक । सन् २०१६ विश्व चर्पी दिवसको नारा छ, “चर्पी र रोजगारी” । नारा पनि अलिक फरक प्रकारको पक्कै छ ।
विश्व चर्पी संगठनको स्थापना दिवस १९ नोभेम्बर २००१ को दिन नै विश्वचर्पी सम्मेलन भएको थियो । त्यही समयदेखि सरसफाइमा विश्वको ध्यान आकर्षण गर्नका लागि विश्व चर्पी दिवस मनाउन लागिएको तथ्य विश्व चर्पी संगठनले बताएको छ ।
नेपालको सन्दर्भमा सरसफाइको कुरा गर्दा हाल ३८ वटा जिल्लाहरु खुला दिसा मुक्त भएको छ भने राष्ट्रिय सरसफाइ सुविधा ८७ प्रतिशत पुगेको छ । अझै पनि १३ प्रतिशत जनता (करिव ३७ लाख ५० हजार) जना मानिस खुला ठाउँमा दिसा गरिरहेका छन् । सन् २०१७ सम्ममा सबै नेपालीहरुले शौचालय बनाउँनेछन्, प्रयोग गर्नेछन् र खुला स्थानमा दिसा गर्दैनन् भन्ने लक्ष्य नेपाल सरकारको रहेको छ । यो लक्ष्य हाँसिल गर्न पक्कै पनि कठीन छ तर असम्भव भने छैन किन भने एक घरले एक चर्पी बनाउने र प्रयोग गर्ने हो । मानिसहरुको मस्तिष्कमा चर्पी बनाउनु भनेको ठूलो पहाड फोर्नु जस्तै चुनौति छ ।
नेपालका ८१ प्रतिशत विद्यालयमा शौचालय सुविधा छ (भूकम्पअगाडिको तथ्यांक) तर ७८ प्रतिशतमा मात्रै पानीको सुविधा छ । भएका शौचालयहरुको समूचित प्रयोग र व्यबस्थापन आफैमा ठूलो प्रश्न चिन्ह छ । करिव ८२ प्रतिशत स्वास्थ्य संस्थामा खानेपानी र ८१ प्रतिशतमा शौचालय सुविधा रहेको तथ्यांक छ । यो सुविधा मुख्य त कर्मचारीहरुको लागि मात्र छ ।
त्यस्तै सरकारी कार्यालयहरुमा पनि खानेपानी र शौचालय सुविधाहरु सेवाग्राहीको लागि पर्याप्त हुन सकिरहेको अवस्था देखिदैन । हामीले प्रयोग गर्ने गरेको सार्वजनिक शौचालयको अवस्था कस्तो छ भन्ने कुरा हामी सवैलाई थाहा नै छ । केही नमूना छन् भने धेरै कठीन पूर्वक प्रयोग गर्नपर्ने प्रकारका छन् ।
अब अलिकति चर्चा गरौ यस वर्षको विश्व चर्पी दिवसको नारा र नेपालको सन्दर्भ । हाल नेपालका ३७ वटा जिल्लाहरुमा खुला दिसामुक्त अभियान सञ्चालन भैरहेको छ । यस वर्षको विश्वचर्पी दिवसको नारा चर्पी र रोजगारी रहेको छ । रोजगारीलाई नेपालको सरसफाइ अभियानसंग जोडेर संक्षिप्त विश्लेषण गर्दा यसले राष्ट्रमा राम्रो रोजगारको अवसर सिर्जना गरेको देखिन्छ ।
गत आर्थिक वर्ष २०७२/०७३ को अवधिमा जम्मा३ लाख २४ हजार ६०० शौचालय निर्माण भएको देखिन्छ । यदि एउटा शौचालय निर्माण गर्न १५ जना (५ दक्ष र १० अदक्ष) कामदार लाग्ने हिसाव गर्दा ४८ लाख ६९ हजार दिन रोजगारी सृजना भएकोे देखिन्छ । अर्को भाषामा भन्दा १३ हजार ३ सय ४० जनाले १ वर्ष नियमित काम गरेको देखिन्छ । यसलाई दक्ष र अदक्ष विभाजन गरी हेर्ने हो भने १६ लाख २३ हजार दक्ष र ३२ लाख ४६ हजार अदक्ष जनशक्तिले काम गरेका छन् । जसलाई आर्थिक आयको हिसावले विश्लेषणगर्दा वर्ष भरिमा २ अरव ९२ करोड १४ लाख ज्याला लिने दिने काम भएको देखिन्छ । (यसमा दक्ष जनशक्तिको प्रतिदिन रु. ८०० र अदक्ष जनशक्तिको रु. ५०० को दरले हिसाव गरिएको छ ।) खुला दिसामुक्त अभियान सञ्चालन भएका जिल्लाहरुमा सालाखाला ४० जना पूर्णकालिन सामाजिक परिचालक, प्रज्वलक तथा अन्य कर्मचारीहरु छन् । यसबाट करिव १५५० जना व्यक्तिहरुले रोजगार पाएका छन् ।स्रोतःखानेपानी तथा ढलनिकास विभाग र युनिसेफ नेपालको प्रतिवेदन ।
अब सरसफाइको अभावले उत्पादनमा हुने नोक्सानी तथा ह्रासको पनि कुरा गरौ । फोहोर पानी र कमजोर सरसफाइको कारणले हरेक वर्ष विश्वमा ३ लाख १५ हजार बालबालिकाको मृत्यु भैरहेको छ । (ज्धबतअज(द्दण्ज्ञट० त्यस्तै करिव ५० प्रतिशत बालबलिकामा कुपोषण र शारीरिक तथा मानसिक वृद्धिमा नकरात्मक असर पाइएको छ (विश्व स्वास्थय संगठन, २०१६)
ग्रामीण समुदायमा शौचालय निर्माण र प्रयोगमा गरिने लगानीले ५ देखि ७ गुणासम्मको प्रतिफल दिने तथ्य ज्गततयल अध्ययन प्रतिवेदन २०१५ ले देखाएको छ । त्यस्तै विश्व वैंक समूह २०१६ ले भारतमा गरेको अध्ययनले शौचालयन भएका मानिसहरुले दिसा गर्नको लागि सुरक्षित खुला स्थान खोज्न, जान र आउन लाग्ने समयको क्षतिको कारणले भारतले प्रतिवर्ष १० विलियन अमेरिकी डलर बराबरको आर्थिक क्षति ब्यहोरी रहेको छ जुन कूलग्राहस्थ उत्पादनको २० प्रतिशत हुन्छ । नेपालमा हाल शौचालय नभएका मानिसहरुको (१६ वर्ष मुनिका बालबालिका बाहेक) ले दिसा गर्ने स्थान खोज्न, जान र आउनको लागि प्रतिदिन करीव २१,२५० दिन बराबर बाध्यात्मक रुपमा अनाबश्यक क्षति गरिरहेका छन् । यो करिव ५८ वर्ष बराबरको समय हुन आउँछ । यो रोजगार तथा उत्पादनमा परेको नकरात्मक पक्ष हो, शौचालय नभएको कारणले ।
काम गर्ने स्थानमा शौचालय सुविधा नहँुदा कामदारमा आउने चिन्ता र समस्याले उद्योग तथा कम्पनीको उत्पादनमा नकरातमक प्रभाव परेको कुरा जिनेस फर सोसियल रेसपोन्सीबिलिटी २०१० को प्रतिवेदनमा उल्लेख छ ।
दीगो खानेपानी र सरसफाइको क्षेत्रमा नीजी क्षेत्रमा धेरै मानिसहरुले रोजगार पाइरहेका छन् । नेपालका पूराना नगरपालिकाहरुमा वातावरणीय सरसफाइ शाखा अन्तर्गत काम गर्ने धेरै कर्मचारीहरु छन । वीरगञ्ज उपमहानगरपालिकामा मात्र करीव २५० जना स्वीपरहरु कार्यरत छन् । त्यस्तै, चितवनको भरतपुर र रत्ननगर नगरपालिका, नवलपरासीको रामग्राम नगरपािलकाको फोहोर ब्यबस्थापानको काम निजी क्षेत्रले गरिरहेको छ । तनहूँ जिल्लाको पृथ्वी राजमार्गमा पर्ने बिमलनगर, चूनपहरामा रहेको सार्वजनिक शौचालयसंगै ७ वटा साना पसलहरु राखिएका छन जुन सानो भएपनि रोजगारीको हिसावले उदाहरणीय छ । राजमार्गका अन्य क्षेत्रमा रहेका र नगरका वीचमा रहेका सार्वजनिक शौचालयबाट पनि रोजगारीको सृजना गर्न सकिन्छ ।
दीगो विकास लक्ष्य सन् २०१६ देखि २०३० सम्मको लागि आएको दीगो खानेपानी र सरसफाइ कार्यक्रमले नेपालमा रोजगारीको अवसरलाई अझै खुला गर्नेछ भने सरसफाइको क्षेत्रमा भएको प्रगतिले मानिसको उत्पादन क्षमतामा बृद्धि गर्नेछ र कमजोर सरसफाइको कारणले हुने सबै प्रकारका हानी नोक्सानीहरुलाई घटाउनेछ । समग्रमा यसले राष्ट्रको गरीवीलाई घटाउन र सम्वृद्धि बढाउन योगदान गर्नेछ । त्यसैले चर्पीलाई चर्पी, पाइखाना, टट्टीघर, शौचालय, ल्याट्रिन, ट्वाइलेट भन्दा पनि आराम घर अर्थात रेष्टरुम बनाऔ ।
जय विश्वचर्पी दिवस ।