अस्मिता खतिवडा / २९ कात्तिक धादिङ- धादिङमा मधुमेहका विरामीहरुको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको पाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यलय धादिङका तथ्याङ्क सहायक दुखीलाल शाहका अनुसार आर्थिक वर्ष २०७१/०७२ मा ३ सय ३३ जनामा मधुमेह रोग देखिएकोमा आर्थिक वर्ष २०७२/०७३ मा ४ सय ७७ जनामा मधुमेह देखिएको छ ।
जुन ०७१/०७२ को तुलनामा १ सय ४४ ले बढि हो । आर्थिक वर्ष २०७३/०७४ मा त्यो सङ्ख्या अझै बढ्ने संभावना देखिएको तथ्याङ्क सहायक शाह बताऊँछन् ।
कुनै बेला धनी र बुढाबुढीलाई लाग्ने रोगका रुपमा चिनिने मधुमेह आजकल तिब्ररुपमा युवापुस्तामा सरिरहेको छ । डाक्टरहरुका अनुसार मानिसको बढ्दो व्यस्तता र जीवनशैलीमा आएको परिवर्तनका कारण सहरबजारमा मधुमेहका बिरामीको संख्या ह्वात्तै बढेको हो ।
मोटोपना, शरीरिक निस्कृयता, असुन्तलित खानपिन, मानसिक तनाव लगायतका कारण अहिले मानिसहरुमा मधुमेहको समस्या धमाधम देखिन थालेको डाक्टरहरु बताऊँछन् । जिल्ला अस्पताल धादिङमा अहिले बुढाबुढी मात्र नभई युवाअवस्थामा नै मधुमेहका समस्या लिएर आउने बिरामीको संख्या बृद्धि भइरहेको छ ।