कालिका नगरपालिका–१ शक्तिखोरकी सानुमाया चेपाङले चार महिना अधि कुहिएको बच्चा जन्माइन् । मरेको बच्चा जन्मिएका कारण उनले आफ्नो महिलो सन्तानको साससमेत देख्न पाइनन् । गर्भवती अवस्थामा जाँच नगराएकै कारण उनले पेटमै बच्चा गुमाउनु प¥यो । गर्भवती अवस्थामा चारपटक जाँच र नियमित आइरन चक्की अनिवार्य खानु पर्छ । तर, सानुमायाले गर्भ जाँच पनि गराइनन् । आइरन चक्की पनि खाइनन् । सोही कारणले उनको पहिलो सन्तानले संसार देख्न पाएन । बेथा लागेका पाँच दिनपछि शक्तिखोर स्वास्थ्य चौकीमा आएर उनले कुहिएको बच्चा जन्माइन् ।
‘बच्चा कुहिएको अवस्थामा जन्मियो’ स्वास्थ्य चांैकीका प्रमुख रणधिर यादवले भने, ‘आमाको अवस्था पनि नाजुक थियो धेरै ठूलो कोसिस गरेर आमालाई बचाउन सफल भयौं ।’ गर्भवती अवस्थामा नियमित चेकजाँच नगराउने र आइरन चक्की प्रयोग नगर्दा विकट पहाडी बस्तीमा बसोबास गर्ने चेपाङ महिलाहरुको गर्भमै बच्चा मर्ने गरेका छन् ।
सानुमाया भन्दा पहिला पनि आइरन चक्की नखाएकै कारण एउटी चेपाङ महिलाले जन्माएको बच्चालाई बचाउन नसकिएको स्वास्थ्य चौकीका प्रमुख यादवले बताए । शक्तिखोर अन्य पहाडी गाविसको तुलनामा सुगम क्षेत्र भित्र पर्दछ । शक्तिखोरका चेपाङ महिलाहरुले राज्यले दिएको सेवालाई बेवास्ता गरेका कारण गर्भवती अवस्थामा समस्यामा पर्ने गरेका छन् । शक्तिखोर भन्दा धेरै विकट क्षेत्रहरु चितवनको पहाडी क्षेत्रका छन् ।
शक्तिखोरका चेपाङ महिला त गर्भवती जाँच, आइरन चक्कीको प्रयोग नगर्न र सुत्केरी गराउन स्वास्थ्य संस्थामा जादैनन् भने विकटका अन्य गाविसका चेपाङ महिलाहरुको अवस्था अझै दयनीय हुन सक्ने यादवले बताए । अधिकांश चेपाङ महिलाहरु गर्भवती अवस्थामा स्वास्थ्य संस्था जादैनन् । गईहाले भने पनि नाजुक अवस्थामा जाने गरेका छन् । पहाडी गाविसमा रहेका स्वास्थ्य चौकीको तथ्याङ्कलाई हेर्दा ३० प्रतिशत महिला मात्र गर्भवती जाँच र सुत्केरी गराउन स्वास्थ्य संस्था जाने गरेका छन् ।
शक्तिखोरमा सुत्केरी गराउन आउने अधिकांश गर्भवती महिलाको अवस्था चिन्ताजनक हुने गरेको स्वास्थ्य चौकीका प्रमुख यादवले बताए । ‘कोही त बच्चा जन्माउनै नसक्ने अवस्थामा आउछन्’, उनले भने, ‘बच्चा जन्माउन प्रयास गर्दा आमाकै ज्यान जाने हो कि भन्ने त्रास हुन्छ । चेपाङ महिलामा चेतनाकै अभावले बच्चाहरु गर्भमै मर्ने गरेको उनको बुझाइ छ । सरकारले दिएको सेवा नपाएर सुत्केरी अवस्थामा आमा र बच्चाले ज्यान नगुमाउन परोस् भनेर शक्तिखोर स्वास्थ्य चौकीले गाउँगाउँमा महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरेको छ ।
‘घरघरमा पुगेर सम्झाउदा पनि केही लाग्दैन’, स्वास्थ्य स्वयंसेविका राममाया चेपाङले भनिन्, ‘आज सम्झायो भोलि बिर्सन्छन् ।’ सरकारले विकटका स्वास्थ्यचौकीमा गर्भवती गराउन बर्थिङ सेन्टर राखेको छ । सुत्केरी हुन नसकेर आमा र बच्चाले अकालमै ज्याज गुमाउन नपरोस् भनेर सरकारले ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा बर्थिङ सेन्टर राखेको हो । तर, चेपाङ महिलाहरु सुत्केरी गराउन बर्थिङ सेन्टरसम्म पनि आउदैनन् ।
शक्तिखोर स्वास्थ्य चौकीमा रहेको बर्थिङ सेन्टरमा वार्षिक २५२ जनाको सुत्केरी गराउने लक्ष्य लिइएकोमा आव। २०७०र०७१ मा ८० जना, २०७१र०७२ मा ६० जना, २०७२र०७३ मा ८६ जना र चालु आर्थिक वर्षमा १० जनाले मात्र बर्थिङ सेन्टरमा सुत्केरी गराएको स्वास्थ्य चौकीका प्रमुख यादवले बताए । शक्तिखोरमा लक्ष्य प्राप्त गर्ने मुश्किल छ उनले भने अझै पनि विकट क्षेत्रमा बेथा लाग्दा जंगल जाने चलन यथावत छ । बर्थिङ सेन्टरमा सुत्केरी गराए वापत सरकारले सुत्केरी महिलालाई पाँच सय रूपैयाँ दिने गरेको छ । शक्तिखोरको बर्थिङ सेन्टरमा सुत्केरी गराउने महिलालाई पाँच सय रूपैयाँ र सुपानेट झुलसमेत दिने गरेको यादवले बताए ।
चितवनपोष्ट दैनिकबाट