१० कार्तिक– ब्रालिका पूर्व फुटबल खेलाडी कार्लोस अल्बर्टोको निधन भएको छ । सन १९७० मा ब्राजिललाई विश्व कपको उपाधि दिलाउने टिमका कप्तान अल््बर्टोको ७२ वर्षको उमेरमा मंगलबार निधन भएको हो ।महान खेलाडी पेले रहेको टिमका कप्तान कार्लोस पनि ब्राजिलका महान फुटबल खेलाडी हुन । उनले सन १९७० को विश्व कप फाइनलमा इटालीलाई ४–१ ले हराउने क्रममा विश्व कप इतिहासकै उत्कृष्ट गोल गरेका थिए ।
उनले ८६ औं मिनेटमा गरेको लो फिनिसको गोल विश्व कप इतिहासको उत्कृष्ट गोल मानिन्न छ । अल्बर्टो सन १९६४ देखि १९७७ सम्म ब्राजिलको टिममा रहँदा ५३ खेल खेले र ८ गोल गरे । उनको हृदयघातका कारण रियो दि जेनेरियोमा निधन भएको हो । अल्बर्टो सन १९९८ मा घोषणा गरिएको २० औं शताब्दीको विश्व टिममा परेका थिए ।
यस्तै उनी फिफाले सन २००४ मा सार्वजनिक गरेको उत्कृष्ट जीवित एक सय खेलाडीको सूचीमा पनि परेका थिए । खेल जीवनपछि उनले १३ क्लब तथा ओमान र अजरबैजानको राष्ट्रिय टिमको प्रशिक्षकको रुपमा पनि काम गरे । उनी फुटबल इतिहासका उत्कृष्ट राइट–ब्याक खेलाडी मानिन्छन ।