Tue. Nov 26th, 2024

सेमजोङबासीले पाएको खुसी (फोटोहरु हेर्नुहोस्)

शंकर श्रेष्ठ / ४ कात्तिक, धादिङ – 

healthpost-bulding

बुधबार सेमजोङबासीमा छुट्टै रौनक छाए, उनीहरुको मुहारमा खुसी छाए । भुकम्प गएको १८ महिनापछि गाँउमा स्वास्थ्यचौकी निर्माण भएपछि छुट्टै खुसी थपिएको छ । बैशाख १२ गतेको भुकम्पले जग समेत ध्वस्त बनेको स्वास्थ्य चौकीमा नयाँ भवन निर्माणपछि स्वास्थ्यकर्मी र स्थानीयको अनुहारमा खुसी छाएको छ ।

पानी पर्न थालेपछि विरामी जाँच्दै गरेका स्वास्थ्यकर्मीहरुलाई मात्रै होइन घामपानीले च्यातिएर छ्याङ्छ्याङ परेका पाल (टेन्ट) टालटुल गर्दागर्दै छिमेकी पनि दिक्दार थिए । तर अब त्यो सास्तीको दिन गएको छ । नवनिर्मित भवनले बिरामी, स्वास्थ्यकर्मी र स्थानीय स्वयंसेवि सबैको समस्या समाधान गरिदिएको छ ।

स्वाथ्यकर्मी र स्थानीयकोमा यो खुसी जर्मन सरकारको आर्थिक सहयोगमा जीआईजेडले दिलाइदिएको हो । भवनमा ओपीडी, औषधि स्टोर, प्रशासन, कर्मचारी निवासका लागि छुट्टाछुटै कोठा त छदैछ प्रसूति सेवा प्रदान गर्नका लागि पनि छुट्टै कक्षको व्यवस्था मिलाइदिएको छ । नौ कोठे भवनमा चारवटा शौचालयलको व्यवस्था छ ।

senjong-photo-2
सेमजोङ स्वास्थ्य चौकीको नयाँ भवन उद्घाटन संगै बुधबार अन्य चार स्वास्थ्यचौकी भवन पनि जर्मन सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । कार्यक्रमकै बीच जर्मन राजदुत माथियस मेयरले स्वास्थ्य मन्त्रालयका प्रमुख जनस्वास्थ्य प्रशाशक एवं अन्तराष्ट्रिय सहयोग महाशाखा प्रमुख भोगेन्द्राज डोटेललाई कटुञ्जे, धुवाकोट १, धुवाकोट २ र बुढाथुम स्वास्थ्यचौकीको नवनिर्मित स्वास्थ्यचौकी भवनको चावी जिम्मा लगाए ।

नवनिर्मित भवनको चावी बुझेको खबर पाउँदा कटुञ्जे स्वास्थ्य चौकीका अहेब दिपेन्द्र ठाकुर पनि निकै खुसी छन् ।
सुरक्षित भवनमा सुत्केरी गराउदा धेरै सुत्केरी र शिशुको ज्यान जोगिने सेमजोङ स्वास्थ्य चौकीका अनमी सिता खनालले बताइन् ।

rajdut

स्वास्थ्य चौकीका नयाँ भवन बनेपछि स्वास्थ्य स्वंयसेविका पनि हर्षित भएकाछन् । ‘जचाउन आउने गर्भवतीलाई छ्याङछ्याङ् देखिने पालभित्र राखेर जाँच गराउनु पर्दा लाजमर्दाे हुन्थ्यो, यत्तिभएसी ढुक्क भयो’ सेमजोङकी एक स्वास्थ्य स्वयंसेवीकाले बताइन् ।
भवन नहुँदा झेल्नु परेको समस्या भनिसाध्यै नभएको गनेडाँडा स्वास्थ्य चौकी धुवाकोटका बोधप्रसाद नेपालले सुनाए । दुईचार महिनामै पाल काम नलाग्ने भैगो, त्यसपछि जस्ताले बारेको टहरामा बिरामी जाँच्न थालेदेखि केही राहत मिल्यो । नयाँ भवनले गर्दा बिरामीले पनि राम्रो सेवा पाउने नेपालले टेलिफोन कुराकानीमा खुसी सुनाए ।

नर्वेका राजदुत श्येल टोर्माेड पेटर्सनले सेमजोङकै शान्ति प्राथमिक विद्यालयमा जीआईजेड मार्फत निर्माण हुन लागेको विद्यालय भवनको शिलान्यास गरेका छन् । नर्वेजियन राजदुतको सहयोगमा भुकम्पले क्ष्ाितग्रत बनेको धादिङको आठ ओटा विद्यालयको भवन पुननिर्माण गर्न लागेको छ ।

   यस अघि मुरलीभञ्ज्याङ, ढोला, सल्यानकोट, मुलपानी, सुनौलाबजार, खाल्टे, जोगिमारा, महादेववेसी, जीवनपुर, नौविसे र किरान्चोक गरी एघारओटा स्वास्थ्यचौकी भवन निर्माण गरी हस्तान्तरण गरिसकेको जर्मन विकास सहयोगका लेखमणी ढकालले जानकारी दिए । ‘हामीले ११ ओटा भवन गत साउनमा हस्तान्तरण गरिसकेका थियौं, एउटा भवनमा ४२ लाख बराबर लगानी भएको छ’ उनले जानकारी दिए ।

semjing-healthpost-2
भुकम्पले तहसनहस भएको ठाउँमा सहयोग गर्न पाउँदा अत्यन्तै खुसी लागेको जर्मन राजदुत माथियस मेयरले बताए । ‘जतिसकेको हामीले सहयोग गरेका छौं, तपाइहरुले यो सहयोगको सहि सदुपयोग गर्नुहुनेछ भन्ने विश्वास लिएका छौं ।’ मेयरले सबै स्वास्थ्यचौकी भवनको सहि उपयोग गर्न स्वास्थ्यकर्मी र स्थानीयहरुसंग आग्रह गरे ।

भुकम्पले धादिङ जिल्लाका ४६ स्वास्थ्य संस्था र ४३ बर्थिङ सेन्टर क्षतिग्रस्त बनेका स्वास्थ्य कार्यालयको तथ्याङ्क छ । क्षतिग्रस्त स्वास्थ्यसंस्थाहरुमा वर्नहार्ट वर्डवाइडले चिकित्सा उपकरणको आपूर्ति गराएको छ ।

About The Author

अन्य समाचारहरु: