३ कात्तिक, धादिङ –
साउदी अरबका एक राजकुमारलाई मृत्युदण्ड दिइएको छ । त्यहाँको गृह मन्त्रालयका अनुसार आफ्नै साथीको हत्या गरेको अभियोग पुष्टि भएपछि राजकुमार टुर्की बिन साउद अल–काबिरलाई मृत्युदण्डको सजाय दिइएको छ ।
तीन वर्षअघि विवादको क्रममा आफ्नै साथीको गोली हानी हत्या गरेको अभियोग लागेका अल–काबिरलाई साउदीको एक अदालतले दोषी ठहर गरेको थियो । राजकुमारलाई राजधानी रियादको एक अज्ञात स्थलमा मृत्युदण्ड दिइएको साउदीको गृहमन्त्रालयले पुष्टी गरेको छ । यद्यपी राजकुमार अल–काबिरलाई कसरी मृत्युदण्ड दिइयो भन्ने बारेमा केही खुलाइएको छैन ।
पीडित परिवारले क्षतिपूर्ति लिन अस्वीकार गर्दै अभियुक्तलाई सजाय दिन अपील गरेपछि अदालतले राजकुमारलाई मृत्युदण्ड दिने फैसला सुनाएको थियो । राजकुमार अल–काबिर यो वर्ष फाँसीको सजाय पाउने एक सय ३४ औं व्यक्ति रहेको गृहमन्त्रालयलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । साउदी अरेबियामा मृत्युदण्डको सजाय सामान्य भएपनि राजपरिवारका सदस्यलाई नै मृत्युदण्ड दिएको बिरलै पाइन्छ ।