१ कात्तिक, धादिङ –
जीवन निर्वाहको लागि गरिने परम्परागत कृषि प्रणालीमा सुधार गरी धादिङका किसानहरु तरकारी खेतीमा व्यावसायिक बन्न थालेका छन् । देशको मुख्य र राजधानीसंग जोड्ने पृथ्वी राजमार्ग र त्रिभुवन राजपथससंग सिमाना जोडिएका र आसपासका गाविसका किसानहरु अलसिजन तरकारी खेतीमा लागेका छन् । केही वर्ष अघि तेल मसला खान भन्दै एक ढोका तरकारी वेच्नेहरु अहिले छोराछोरीलाई राम्रो शिक्षा दिन भन्दै लाखौको तरकारी बेच्ने भइसकेका छन् ।
पहिला एक डोका तरकारी बेच्न कालिमाटी तरकारी बजार जानु पर्ने बाध्यता हटेसंगै किसानहरु धेरै उत्पादन गर्न तर्फ लागेका छन् । किसानहरुले धेरै परिमाणमा उत्पादन गरे व्यापारीहरु खेतवारीमै गाडी लिएर पुग्ने भएकाले किसानहरु उत्पादनमा लागेको राष्ट्रिय समुह किसान महासंघ धादिङ सदस्य श्यामचन्द्र आचार्य बताउछन् । तरकारी उत्पादनमा लाग्ने किसानहरुको आर्थिक हैसियत राम्रो बन्दै गएको भएपनि किसानहरुले लागतको तुलनामा तरकारीको उचित नपाएको आर्चायको आक्रोश रहेको छ । चार महिनासम्म श्रम र लगानी गर्ने किसानले भन्दा एक दिन लगानी गर्ने व्यापारीले धेरै कमाउने व्यवस्थाको अन्त्य भए नेपाल तरकारीमा परनिर्भता अन्य हुने आर्चायको दाबी छ ।
जिल्ला कृषि विकास कार्यालयको तथ्यांक अनुसार जिल्ला जिल्ला ६ हजार २२ हेक्टर ( १२ हजार ४ सय ४०) रोपनी) क्षेत्रफलमा तरकारी खेती गरिन्छ । त्यस क्षेत्रफलमा ७६४७९ दशमलव ४ मेट्रिक टन तरकारी उत्पादन हुन्छ । जिल्लाको छत्रेदेराली, जीवनपुर, नौविसे, थाक्रे, तर्सपु, केवलपुर, गोगनपानी र भुमेस्थान गाविस व्यावसायिक तरकारी पकेट क्षेत्र हुन । यसैगरी वैरेनी, कल्लेरी खाल्टे, कुम्पुर, किराञ्चोक, पिण्डा, गजुरी, महादेवस्थान, वेनिघाट, सलाङ, धुषा र जोगिमारा समेत तरकारी पकेट क्षेत्र हुन । यी १९ गाविसका १० हजार भन्दा बढी किसान अलसिजन तरकरी खेती गर्दै व्यावसायिक बनेकाछन् ।
व्यावसायिक पकेट क्षेत्रमा ४५१६ हेक्टर (९ हजार ३ सय २० रोपनी) क्षेत्रफलमा ५७८०५ मेट्रिकको टन (५ लाख ७८ हजार ५० क्विन्टल) सरदर मूल्य ४५ रुपँयाका दरले विक्री हुदाँ २ अर्व ६० करोड १२ लाख २५ हजार किसानहरुले पाएको केशव घिमिरेले बताए । वेनीघाट ५ टुकटिनीका इश्वर उप्रेतीले कृषि सुधार तरकारी तथा फलफुल सहकारी संस्था चरौदीमा १५ लाख रुपयाँ भन्दा बढीको तरकारी विक्री गरेको व्यवस्थापक शिव उप्रेतीले बताए ।
धादिङका किसानको परिश्रम र मेहिनतलाई सम्मान गर्नुको सट्टा तरकारी पकेट क्षेत्रमा २ वटा सिमेन्ट उद्योग र ३३ वटा इट्टा भट्टा सञ्चालन गराएर सरकारले किसानहरुलाई उपेक्षा गरको पकेट क्षेत्रका किसानहरु आक्रोसित छन् । सरकारले किसानलाई कमजोर ठानेर नै होला तरकारी पकेट क्षेत्रमा उद्योग खोल्न दिएको सहि व्यवस्थापन नगरे वा किसानलाई प्रतिकुल असर गरे उत्पादन रोकेर आन्दोलन गर्ने राष्ट्रिय समुह किसान महासंघ धादिङका अध्यक्ष कमल गुरुङले बताए ।
कृषि विकासको मुलधारबाट बाहिर रहेका चेपाङ समुदायलाई समेत तरकारी उत्पादनमा व्यावसायिक २० जनालाई तालिम सहित ४० हजारका दरले आर्थिक सहयोग गरेको वरिष्ठ कृषि विकास अधिकृत महेन्दराज कौडालले बताए । २० वर्ष लगाएर किसानहरुलाई व्यावसायिक बनाइयो तर अहिले तरकारी पकेट क्षेत्रमा उद्योग खोलेपछि किसानहरुले सोधेको प्रश्नको जवाफ दिन सकिएको छैन वरिष्ठ कृषि विकास अधिकृत कौडालले बताए ।