२९ असोज, रसुवा –
हिमाली पदयात्राका लागि लाङटाङ तथा गोसाइँकुण्ड क्षेत्रमा पर्यटकको आगमन वृद्धि भएको छ ।
चालु आवको साउनदेखि अहिलेसम्म एक हजार ५०० भन्दा बढी पर्यटक लाङटाङ राष्ट्रिय क्षेत्रभित्र प्रवेश गरिसकेका छन् । गत वर्षको सोही अवधिभन्दा आगमन करिब पाँच सयले वृद्धि भएको छ ।
अहिलेसम्म पर्यटक प्रवेश शुल्कबाट रु ५३ लाख ९० हजार राजस्व प्राप्त भएको छ । असोज, कात्तिक महिना पर्यटकको आगमन हुने मुख्य याम भएकाले दैनिक ५० भन्दा बढी पर्यटकको हिमाली क्षेत्रमा आगमन हुन थालेको लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयका निमित्त प्रमुख संरक्षण अधिकृत केशवराज भेटवालले जानकारी दिए ।
भूकम्पपछि पुनःनिर्माण अन्तर्गत लाङटाङ तथा गोसाइँकुण्ड र तामाङ सम्पदा मार्गमा पर्यटकीय होटेल तथा लजको व्यवस्थापन भइसकेकाले पाहुनालाई खानपिन र बसोबासमा कुनै समस्या नआउने व्यवसायीले बताएका छन् ।