काठमाडौं, २६ असोज – नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले संविधान कार्यान्वयनको लागि आफ्नो पार्टी गम्भिर रहेको उल्लेख गर्दै अहिले संविधान संशोधन गर्ने वेला नै नभएको जिकिर गरेका छन् ।
उनले भने,‘संविधानले नै हामीलाई समयसिमाभित्र बाँधेको छ, अहिले संविधान कार्यान्वयनको लागि समय निकै थोरै छ, कामहरु धेरै गर्न बाँकी छन्, हामी यतिवेला संविधान संशोधनमा होईन बरु कार्यान्वयनमा फोकस हुन जरुरी छ ।’ उनले तत्काल संविधान संशोधन प्रक्रिया अघि बढाईए मुलुकमा द्धन्द्ध तथा अन्तरविरोध बढ्ने समेत गुनासो पोखे ।
उपाध्यक्ष ज्ञवालीले थपे,‘अहिले हामीले तराई मधेश केन्द्रित दलको लागि मात्रै संशोधन गर्ने हो भने अरु साथीहरुको पनि आफन असन्तुष्टिहरु छन्, सबैका कुराहरुमा अल्झिने हो भने संविधान कार्यान्वयनको लागि खै समय ?’ यद्धपी उनले संविधान संशोधन के–के विषयमा गर्ने भन्नेबारे सत्ता पक्षले अहिलेसम्मे ठोस प्रस्ताव समेत अघि बढाउन नसकेको आरोप लगाए । उनले भने,‘के–के विषयमा संशोधन गर्ने कुराहरु त ल्याउनुपर्यो नि, काँग्रेस र माओवादी केन्द्रका साथीहरुले भेगमा कुरा गरिरहनुभएको छ, यसरी त कसरी हुन्छ ?’
उनले संविधान संशोधनको विषयमा अल्झिँदा संविधान कार्यान्वयन नै छायाँमा पर्ने समेत चिन्ता व्यक्त गरे । उनले संविधान कार्यान्वयनको लागि तीन वटै निकायको चुनाव समयमै सम्पन्न गर्नुपर्ने अहिलेको आवश्यकत्तालाई बुझेर प्रमुख दलहरु अघि बढ्नुपर्ने सुझाव समेत दिए । उनले भने,‘अहिले स्थानीय तहको निर्वाचन भयो भने ठूलो सफलता हुन्छ, अहिले नै संशोधनको विषयमा अलमलिनु हुँदैन, पहिला चुनावमा जाऔं, जनमत लिएर आएर आफ्ना मुद्दा स्थापित गर्न पनि सकिन्छ नि ।’