Thu. Feb 27th, 2025

धान फलेन भुसमात्रै फल्यो, दशैमा के खाने ?

dhan-dekhaudai-kisan-3
शंकर श्रेष्ठ / २१ असोज  धादिङ –

दशै अघि नै धान भित्र्याउँला, त्यसैको चामलले दशै मानौला र पाहुना टारौला भन्ने तल्लोबेसीका राजु श्रेष्ठको सपना अधुरै रहने भएको छ । जिल्ला कृषि विकास कार्यालयले अनुदानमा दिएको धानमा भुसमात्रै फलेपछि उनको दशै खल्लो बन्ने भएको हो ।

 भएको पाँच रोपनी खेतमा राजुले धानबाली लगाएका थिए । रोपो राम्रो भयो । बाला झुल्ने बेला पुरै धान खेतमा सुक्यो । राजु भन्छन्, ‘खेतबारीको नाममा यत्ति खेत हो, धेरै फलाउला भनेर ऋण खोजेर अगौटे धानको विउ (हर्दिनाथ १) किनेर लगाए, अहिले भुस मात्रै फल्यो, अब दशै कसरी मान्ने थाहा छैन ।’ यही खेतमा लगाएको धानले राजुका ८ जनाको परिवारले चामलको भात खाँदै आएका थिए ।

राजुको मात्रै होइन, बुद्धिप्रसाद पोखरेलको पनि व्यथा उस्तै छ । उनले पनि ६ रोपनी खेतमा धान लगाए । बाला लाग्यो तर एउटै पनि झुलेन । ‘मरिमेटेर दुःख गरियो, एक गेडो पनि भरिलो दाना फलेन, यो वर्ष के खाने होला ?’ बुद्धिप्रसादले सुनाए । अघिल्लो वर्षहरुमा २५ मुरी धान फलाएको खेतमा यो वर्ष एक बोरा धान पनि नफलेको किसानहरुले गुनासो गरेका छन् ।

dhan-dekhaudai-kisan-2

 कृषि विकास कार्यालय धादिङले ५० प्रतिशत अनुदानमा प्रतिकिलो २७ रुपैयाँ ५० पैसामा निलकण्ठ नगरपालिका, त्रिपुरेश्वर र सलाङ गाविसका किसानहरुलाई बिउ उपलब्ध गराएको थियो । सुनौबजार स्थित तल्लोबेसीका मात्रै ३७ जना किसानले करिब ९० रोपनी खेतमा यो धान लगाएका छन् । भने जिल्लाभर करिब ७ सय ४० रोपनी खेतमा लगाइएको धान नफलेको राष्ट्रिय समूह कृषक महाहसंघ नेपालका उपाध्यक्ष भक्तबहादुर बस्नेतले बताए ।

‘मल, बीउ किनेर धान लगाएँ, बोट जत्तिपनि छ धान फलेन, सुनौलाबजारका विष्णु कोइरालाले भने, ‘सबै बाली सखाप भयो, वर्षभरि के खाने ? ठूलो समस्या खडा भएको छ ।’ अघिल्लो वर्ष भुकम्पले खेती राम्रो भएन अहिले फलेन निम्न वर्गीय किसानलाई खाद्यान्न अभावको चरम समस्या पर्ने भएका छन् ।

 कार्यालयले बितरण गरेको भएपनि धान नफलेको जिल्ला कृषि विकास कार्यालयले स्विकार गरेको छ । नियमित कार्यक्रम अनुसार क्षेत्रिय कृषि अनुसन्धान केन्द्र परवानीपुरबाट बिउ ल्याएको कृषि प्रसार अधिकृत दुर्गादक्त पन्थीले बताए । ‘अघिल्लो वर्ष यहि धान राम्रो उत्पादन दिएको थियो, त्यसैलाई आधार मानेर बिउ ल्याइयो’ पन्थीले भने । गत वर्ष पानी कम परेकोले यस वर्ष पनि पानी कम पर्छ भनेर कम पानीमा चाँडै उत्पादन दिने हर्दिनाथ–१ जातको धान ल्याएको भएपनि यस वर्ष पानी बढि फलेकोले धान नफलेको उनले जानकारी दिए ।

dhan-dekhaudai-kisan-4

बाली रोग विज्ञान महाशाखाले भने नेक ब्लास्ट रोगले गर्दा धान नफलेको प्रमाणित गरेको छ । महाशाखाबाट आएको टोलीले स्थलगत निरिक्षण गरी धानको ल्याव परिक्षण गरेको थियो ।
सरकारले उपलब्ध गराएको धानको बिउ नफलेपछि किसानहरु क्षतिपूर्तिको माग गरेका छन् । निलकण्ठ नगरपालिकाको तल्लोबेसी, त्रिपुरेश्वरको खहरे र सलाङका किसानहरुले आफ्नो परिवारलाई खुहाउने अन्न नभएको भन्दै यस अघिदेखि नै पटक पटक क्षतिपूर्तिको माग गरिरहेका छन् ।

 धान झुल्नेबेला बाला सुकेर कनिका समेत नफलेपछि किसानहरुको खाद्य सुरक्षाको माग गर्दै जिल्ला स्थित खाद्य अधिकारको क्षेत्रमा काम गर्ने संघसस्थाहरुले पनि सरकारसंग क्षतिपूर्तिको माग गरेका छन् । विहिबार जिल्ला कृषि विकास कार्यालय मार्फत नेपाल सरकार कृषि विकास मन्त्रालयमा ज्ञापनपत्र पठाएको छ । नेपाल सरकारको आधिकारिक कार्यालयले उत्पादन र वितरण गरेको धानको बिउका कारण किसानको घरमा खाद्य असुरक्षाको अवस्था सिर्जना भएकोले किसानलाई क्षतिपूर्ति दिलाउन माग गरिएको छ ।

About The Author

अन्य समाचारहरु: