Fri. Mar 14th, 2025

जिल्लामा शान्ति, सुरक्षा स्थापित गर्न धादिङ प्रहरी सक्रिय छ : प्रहरी उपरीक्षक खत्री

पछिल्लो समय ग्रामीण सडक देखि राजमार्ग क्षेत्रहरुमा दैनिक जसो सवारी दुर्घटनाहरु भइरहेका छन् । धादिङ जिल्लामा लैङ्गिक हिंसा, मानववेचविखन र लागुऔषध ओसारपसारका घटनाहरु पनि उत्तिकै घटिरहेका छन् । नजिकिंदो चाडपर्व र बढ्दै गरेका अपराधिक क्रियाकलाप, घटना व्यवस्थापनमा जिल्ला प्रहरी कार्यलयको योजना के छ त ? र चाडपर्वका अवसरमा आम नागरिकलाई शान्ति सुरक्षाको अनुभुति दिलाउनका लागि प्रहरीको सक्रियता कस्तो छ ? जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी उपरीक्षक शरदप्रसाद खत्रीसंग पाविलन्यूज डटकमका संवाददाता अस्मिता खतिवडाले गरेको कुराकानी

sharad-khatri-1

यो वर्षको दशैं तिहारमा आम नागरिकलाई शान्ति सुरक्षाको अनुभुति दिलाउनका लागि प्रहरीको सक्रियता कस्तो छ ?
  शान्ति सुरक्षाको सन्दर्भमा कुरा गर्नुपर्दा अन्य समयमा भन्दा नेपालीहरुको राष्ट्रिय महान चाडपर्वका अवसरमा हामी प्रहरीहरु अलि बढि नै सक्रिय भएर लागिरहेका हुन्छौ्रं । जस अनुरुप हामीले हामी संग विद्यमान जनशक्ति लाई फिल्डमा परिचालन गरेर नागरिकहरुमा शान्ती सुरक्षाको अनुभुति दिलाउने प्रयास गरिरहेका छौं । राजमार्गका सन्दर्भमा, दुर्घटनाका सन्दर्भमा विभिन्न योजनाहरु निर्माण गरेका छौं । ग्रामिण भेगका सडकहरुको अवश्था निकै नाजुक छ त्यसको सन्दर्भमा पनि ट्राफिक प्रहरी साथीहरु परिचालन गरिरहेका छौं । त्यसैगरी चाडपर्वमा गाऊँ देखि सहर सम्म हुने झै–झगडाहरुलाई न्युनिकरण गर्नका लागि मोबाइल ड्युटिका कार्यक्रमहरु थप गरेका छौं र अझै बढि प्रभावकारी रुपमा संचालन गर्ने योजना बनाएका छौं ।

 विगतका वर्षहरुमा उत्तरी धादिङ उच्च सुरक्षा जोखिममा देखिएको छ नि?
अं, यो कुरा मैले पनि धादिङ आएपछि सुनें । हाम्रो धादिङको दार्खा झार्लाङ क्षेत्रमा बढि मादक पदाथ सेवन गरि झै–झगडा, लुटपाट देखि काटमार कै घटना समेत हुने रहेछ । विगतमा पनि त्यो खालको अप्रिय घटनाहरु भएका रहेछन् । त्यसलाई मध्यनजर राखेर सेर्तुङ र दार्खा इलाका प्ररही कार्यलयमा थप प्रहरी पठाइसकेका छौ्र । यसरी विगतका घटनाहरुलाई मध्यनजर गर्दै यसपटक कडा सुरक्षाको व्यवस्था गरिएको छ ।

चाडपर्व नजिकिए संगै विदेशमा रहनुभएका दाजुभाई दिदिबहिनीहरु नेपाल फर्कने क्रम बढ्दो छ, यस्तो बेलामा लुटपाटका घटनाहरु पनि त्यत्तिकै मात्रामा घटिरहेका हुन्छन्, प्रहरीका केहि भिन्न कार्यक्रम छन् ?
यहाँले भन्नुभए जस्तै हामीले पनि यस्ता घटनाहरु घटेका समाचार एकदमै सुन्छौं । कतिपय भारतबाट आउंदा बोर्डरमै लुटिएका कुरा देखि चोकबाटै पनि चोरीका घटनाहरु भएका खबरहरु पनि त्यत्तिकै छन् । त्यसैले हामी एकदर्म सचेत छौं । मानिसको अलि बढि भिडभाड हुने ठाउँमा, किनमेल हुने स्थानहरुमा पनि हामीले सादा पोसाकमा प्रहरी खटाइरहेका छौं । दाजुभाई दिदिबहिनीहरुलाई पनि हामीले सचेत गराइरहेका छौं । त्यसैले पनि यो वर्ष सायदै त्यस्ता घटनाहरु नहोलान् भन्ने आशा गरौ्र ।

अब थोरै दुर्घटनाका कुरा गरौं, ग्रामिण सडक देखि राजमार्ग क्षेत्रहरुमा दैनिक जसो सवारी दुर्घटनाहरु भइरहेका छन्, दुर्घटना न्युनिकरणमा चाहिं प्रहरीको ठोस निर्णय के छ ?   
– पक्कै पनि । केहि दिन अगाडी मात्र हाम्रै मार्पाकमा पनि धेरै दुखद घटना घट्यो । राजमार्गमा त झनै दुर्घटनाहरु धेरै नै घटिरहेका छन् जुन राष्ट्रिय समस्या कै रुपमा पनि रहेका छ अहिले । सडकको स्तर उन्नती उस्तै छ तर सवारी साधनहरु एकदमै बढिरहेको अवश्था एऊटा कुरा भयो भने हामी पैदल यात्रीहरु पनि सजक नरहंदा दुर्घटना निम्तिराखेको अवस्था छ । त्यस्तै चालक साथीभाईहरुको हेलचक्राईंका कारण पनि घटनाले स्थान पाइरहेका छन् । तिव्र गति, ओभरटेक लगायतका कुरामा चालक साथीहरुले सजकता नअपनाऊँदा पनि घटना भइरहेका छन् । त्यसकारण हामीले विभिन्न स्थानमा विभिन्न कार्यक्रमहरु चलाइरहेका छौं । विगतमा चलेको कार्यक्रम सवारी चालक संग एक क्षण कार्यक्रमलाई निरन्तरता दिएका छौं । चालक साथीहरु धेरै थकानमा र तनावमा हुन सक्नुहुन्छ । उहाँहरु संग ५÷१० मिनेट रिफ्रेस गराउन गफगाफ गर्ने, सजकताका कुराहरु, सवारी नियमका कुराहरु गर्ने गरिरहेका छौं ।  हाम्रा ट्राफिङ साथीहरु पनि पहिले भन्दा अलि बढि नै खटिरहेका छन् ।

sharad-khatri2

प्रहरीले शान्ति सुरक्षा देखि दुर्घटना न्युनिकरणमा आफ्नो भुमिका निर्वाह गरिराखेको छ, तर कहिले काहिं राजनितिक दवावका कारण प्रहरीको कार्यसंपादन फितलो भयो भन्ने सुनिन्छ नी ?
– खासै त्यस्तो दवावहरु त छैनन् । कहिलेकाहिं आफ्ना कार्यकर्ताका करा लिएर राजनितिक दलका साथीहरु आउनुहुन्छ । तर  प्रहरीको कार्यसंपादनमा प्रभाव नै पर्ने गरि भने म धादिङ आएदेखि नै अनुभव गरेको छैन । व्यवहारीक हिसाबले गर्न सक्ने हुन सक्ने रिक्वेस्टहरुलाई हेरिन्छ, हेर्नुपनि पर्छ । तर निति नियम नै उत्खनन हुने गरि, शान्ति सुरक्षा नै भङ्ग हुने खालका कुरा भने खासै आएका छैनन् ।

 धादिङमा पछिल्लो समय लैङ्गिक हिंसाका घटनाहरु बढिहरेका छन्,  घटना न्युनिकरणका लागि तपाईंहरुले संचालन गरिरहनुभएको कार्यक्रमको प्रभावकारीता कत्तिको पाउनुभएको छ ?
युनिसेफको सहयोगमा महिला तथा बालबालिका निर्देशनालयको निर्देशनमा जिल्लामा कार्यक्रम चलाऊन हामीलाई धेरै थोरै बजेट आएको छ र निर्देशिका नै पनि आएको छ । सोहि अनुरुप हामी लागिरहेका छौं । कार्यक्रमको प्रभावकारीता पनि निकै छ । तर अन्य काममा व्यस्त हुनुपरेको ले उक्ते कार्यक्रमलाई हामीले अलि समय दिन नसकेको हो की भन्ने महसुस पनि मैले गरेको छु । विभिन्न अपराधिक घटनाहरु, सवारी दुर्घटनाहरुले गर्दा समय व्यवश्थापनमा कठिनाई भइरहेको छ । तर महिला तथा बालबालिका कार्यलयको सहयोगमा जति पनि कार्यक्रम ग¥यौं ति कार्यक्रमहरु उत्कृष्ट छन् । यस्ता कार्यक्रमलाई पछिल्ला दिनहरुमा अझै प्रभावकारी र उत्कृष्ट बनाउने कुरामा हामी प्रयासरत छौं ।

जिल्लाको गल्छी, नौविसे, नागढुङ्गा, जोगिमारा लगायतका बाटो हुंदै हुने मानव बेचविखनका घटना रोक्नका लागि प्रहरी कसरी लागिपरेको छ ?  
एकदमै लागिपरिरहेका  छौं । नागढुङ्गामा हामीले चेकपोष्ट राखेका छौं । माइती नेपाल संग पनि सहकार्य र समन्वय गरिराखेका छौं । उहाँहरुकै सुचनाका आधारमा हामीले खानीखोलाबाट मान्छु पक्राउ गरेर थुनामा राखेका छौं । अहिले मुद्धा चलिरहेको अवस्था छ । त्यति धेरै त हैन तर मानव वेचविखन न्युनिकरणका लागि हामीले खानीखोला, गल्छी, जोगिमारा लगायतका राजमार्ग क्षेत्रहरुमा कार्यक्रम चलाइरहेका छौं ।

धादिङ जिल्लाका व्यक्ति र भुगोल दुवै लागुऔषधको कारोबारमा मुछिरहेका छन् । प्रहरीलाई छायाँमा पारेर यस्ता काम भइरहेका छन् की प्रहरीको सक्रियता नै कम छ यसमा ?
प्रहरीको सक्रियता त जत्ति पनि छ । अहिले एक महिना मै हामीले ८/१० वटा सम्म पक्राउ गरिराखेका छौं । मुद्धा पनि चलाईरहेका छौं । विशेषगरी खानीखोला क्षेत्र, आप्सेचौर क्षेत्र, गजुरी लगायतका राजमार्ग क्षेत्रबाट पनि व्यक्तिहरु पक्राऊ गरिरहेका छौं । र अर्को क्षेत्रको कुरा गर्नुपर्दा, उत्तरी भेग । उत्तरी भेगबाट सिधै नुवाकोट हुंदै बाहिरिने रुटहरु रहेछन् । त्यताबाट पनि हामीले पक्राउ गरिरहेका छौं । विदेशका जेलहरुमा पनि उत्तरी धादिङका व्यक्तिहरु पर्नुभएको छ भन्ने सुन्नमा आएको छ । त्यसैले हामीले यस सम्बन्धी जनचेतनामुलक कार्यक्रम पनि संचालन गरिरहेका छौं र सकेसम्म हर क्षेत्रमा प्रहरी खटाएका छौं ।

पछिल्लो समय प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा अंगका प्रमुखका विचमा सम्बन्ध चिसिंदो छ भन्ने सुनिन्छ नी ?
त्यस्तो त हैन । त्यो कदापी पनि हैन । बाहिरबाट हेर्दा त्यस्तो देख्नुभएको होला । तर हामी विच सुमधुर सम्बन्ध छ । म त झन् प्रत्यक्ष प्रमुख जिल्ला अधिकारी ज्युको निर्देशनमा उहाँको मातहतमा रहेर काम गर्नुपर्छ । कहिले काहिं काम गर्ने सिलसिलामा केहि कुरा नमिल्न सक्छ । तर हाम्रो सम्बन्ध सुमधुर छ ।

 आम नागरिकहरुबाटै टिकाटिप्पणीहरु आइरहेका छन् नी त ?
– हैन..हैन । हामी एकदमै मिलेर लागेका छौं । प्रमुख जिल्ला अधिकारी ज्यु निर्देशनमा काम गरिरहेका छौं । जिल्लामा शान्ति सुरक्षा स्थापित गराउन प्रयासरत छौं ।

अन्तमा,
धादिङबासी सम्पुर्ण दाजुभाइ दिदिबहिनीहरुमा दशैं तिहारको अवसरमा धेरै शुभकामना । तपाईंहरुको दैनिकी रमाइलो संग वितोस् । रमाइलो गर्नुहोस् तर रमाइलोका नाममा अनैतिक काममा नलाग्नुहोस् । सजकता र संयमता बनाइराख्नुहोस् , शुभकामना । धन्यावाद ।

About The Author

अन्य समाचारहरु: