Fri. Jan 31st, 2025

रिसानी माफ होस् सरकार !

रेख बहादुर गुरुङ – 

rek-bdr-gurung

सरकारलाई मेरो कोटी कोटी नमस्कार अनि धेरै धेरै धन्यावाद । हजुरले घर बनाउँ भनेर दिनुभएको ५० हजार रकम मैले बल्ल तल्ल भएपनि पाए । हजुरको यो गुन कहिल्यै विर्सिदिन । म एकदम खुशी छु । तर एउटा कुरामा भने दुखी छु सरकार । तपाईले घर बनाउ भनेर दिनुभएको त्यो ५० हजारले नत भत्केको घर भत्काउन मिल्ने भो, नत बनाउन नै सक्ने भो । हिसाब गर्दै लादा मेरो लाटो हिसाबमा ५० हजार त एकछेउ पनि नहोला जस्तो छ । हुन त जति दिएपनि नपुग्ने भन्नुहोला । बाध्यताले भनेको हुँ सरकार । दँशै आईसक्यो ऋण धन खोजेरै भएपनि दँशै मान्नै प¥यो ।

हामी बुढाबुढीलाई दँशै नआईदिएपनि हुन्थ्यो जस्तो लाग्छनी तर के गर्नु आईहाल्ने रैछ । दैलोमै आईसकेको दँशै नमानौ पनि कसरी । छैन भनुम भने ५० हजार आफ्नो फाँदमा छ तर तपाईले घर बनाउन सुरु गर्नै पर्छ पनि भन्नु भएको छ म एकदम दोधारमा थिए । निन्द्रा पनि लाग्दैनथ्यो तर आज मैले घर नबनाएर दँशै मनाउने निर्णय गरे । यहि ५० हजार बुझ्न सदरमुकामको बैङ्क सम्म आउँदा चानचुन १५÷२० हजार त यत्तिकै सकियो । खान परिहाल्यो, बस्न परिहाल्यो तपाई पत्याउनु हुन्न होला, होटलमा एक रात खाको बसेको ५ सय ७० तिर्न प¥यो । दिनभरी जोतेको पैसा त एक रातलाई पनि नहुँदो रैछ यो शहरमा । यत्तिका महङ्गा बनाका छन्की साहुहरुले कुरा गरि साद्दे छैन ।

भुकम्प गएपछि नै हुन् रे यसरी महङ्गा बनाका यि होटलहरु । हामी जस्तो झुत्रेमुत्रे होटलमा आएर बसेपछि फोहोर गरिदिन्छन् अनि सफा गर्न धेरै खर्च लाग्छ भनेर त होलानी भाउ दोब्बर बनाका खै मलाई त केही हेको छैन । तपाइले यस्तो ५ सय ७० तिर्न पर्ने होटलमा कहिल्यै बास बस्न परेको भए पो थाहा पाउनुत हगि । खैर केही छैन राहतको पैसा आएपछि तिर्छु भनेर पारी गाउँबाट ३ पैसेमा ऋण लिएर आएको थिए अब त्यो पनि तिर्नेछु । भुकम्पमा परेर यो देब्रे खुट्टा राम्रो सँग हिड्न हुँदैन लट्ठी साहार छनि छन त, तर पनि त्यत्ती भर पाउँदिन के । अर्काको मिहेनत गर्न जाउँ भन्दा पनि अब त नसक्ने भो के लाग्छर । खुट्टाले अलि भर नपाउने भएर आधीबाटो भएपनि गाडी चढ्यो गाडी भाडा त्यस्तै महङ्गो ।

२ सय लाग्ने ठाउँमा ४ सय बनाको छ । अलि घटाउन बाबु पैसा छैन भन्दा, “चढे चढ नचढे नचढ भाडा त्यै हो, ४ सय भन्दा घट्दैन बर्खा बाटो छ” भनेर हप्काए लौ भनेर ४ सय नै तिरे । बाटो तिर चाही म खादिन थे, खान मन लाग्दा लाग्दै पनि कत्ती छाक भोकै हिडेर सदरमुकाम सम्म आए । कालो अक्षर भैँसी बराबर आफु त, कागज पत्र पनि के के हो के के मिलाउन नजान्ने । कुखुरा बास्ने वित्तीकै झिसमिसेमै उठेर बैङ्कमा लाईन बस्न गयो । कहिल्ये यो पुगेन उ पुगेन भनेर भन्नु हुन्छ सरहरुले ।

पहिले पनि कागज पत्र नपुगेर कत्ति दिन यत्तिकै फर्किनु प¥यो । हाम्रै गाउँमा यो बैङ्कका सर मिसहरु आएर पैसा दिनुभएको भए धेरै खुशी हुन्थेउ, ऋण काढ्न पर्थेन, पैसो धेरै खर्च हुन्थेन होला भन्ने मनमा लाग्थ्यो । तर अर्काे मनले यस्तो सुकिला मुकिला मान्छेहरु कहाँ हाम्रो गाउँको त्यो धुलो हिलोमा जान्छन् त भन्ने लाग्थ्यो । सरकार तपाईले गाउँ गाउँमै गएर पैसा बाड्दिनु भनेर बैङ्कका सर मिसहरुलाई भनिदिनु भको भए पनि मान्ने थेनन् होला यि अल्छीहरु । धन्न पाए पाउँनत । एक रुप्पे पनि तलमाथी छैन तपाईले पठाउनुभएको ५० हजार नै पाए । नानीहरुले त्यही टहरो पनि कमेरो र रातो माटोले पोतेर यत्ति राम्रो बनाछन्की तपाईलाई कसरी व्यक्त गरुँ ।

लालाबालाहरु चिचि, पापा नयाँ नाना भनेर उर्फिदै छन् । दुईटी छोरीहरु त अलि बुझ्ने छन् हामीलाई स्कूलको डिरेस मात्र किन्दा पनि हुन्छ भन्याछन् । तर अरु दुईटालाई के गरुँ ? रुन्छन् कराउँछन् चित्त बुझाउनै परो । मेरो पनि यो शिरको कालो टोपी वर्षाै भो नफेरेको यस्पाला फेर्ने मन छ । श्रीमतीलाई पनि एउटा धोती त फेरिदिनै प¥यो । पाहुना पासो आउछन् तल्लो घरको छोरीको नयाँ टिका आउने रे यो दँशैमा ।

छोरी ज्वाँईलाई पनि अलि अलि दक्षिणा दिनै प¥यो । कोसेली टन्न लिएर आएका हुन्छन् नल्याईजो न नानी भन्न पनि नमिल्ने ल्याईहाल्छन् । कोसेली अनुसारको दक्षिणा दिनै प¥यो चेलिबेटीको मन दुखाउन हुन्न भन्छन् फेरी चित्त दुखायो भने के गर्ने ? दुई बोरी भएपनि मन्सुली चामल ल्याउनै प¥योे २५ सय छुट्टाको छु आउछकी आउँदैन हो कुन्नी, १ हजारकोे भैसींको मासु बोलेको छु, दुईओटा भाले चाही मै सँग छ भैसींको मासु नखानेलाई कुखुराले चलाउन पर्ला । दुईपाच रुप्पे भएपनि आफ्नो ओल्लोघर पल्लो घरको भुराहरुलाई टिका लगाएर दक्षिण दिनै प¥यो ।

यत्तिका बुझ्ने हजुरलाई चान्काचुन्की अरु हिसाब त के सुनाउनु र ? बरु एउटा कुराले भने मन असान्त भईरहेको छ, पहिलो किस्ता स्वरुप पाएको ५० हजार रकमले घर बनाउन सुरु गरेकै हुनै पर्ने रे भन्ने झुटा हल्लाहरु आईरहेको छ । गाट्ठी कुरा त हजुरलाई थाहा छैदछनी होईनर ? यदि घर बनाउन सुरु गरिएन भने पुरा पैसा नपाउने भन्ने हल्ला फिजाईरहेका छन् । त्यस्तो हो भने चाही यो हल्ला फिजाउनेहरुको मुख थुन्नु सरकार । जे पनि हल्ला फिजाउँछन् भन्या ।

अनुदान रकममा सम्झौता गर्दा कति खर्च लाग्यो? हामीलाई के के समस्या छ सप्पै बुझिहाल्नु भाछनी होईनर ?अब दिने बाँकी रकम चाही एक पैसा पनि खर्च गर्दिन सरकार । तर यो दँशैको मुखैमा दिनुभएको ५० हजार चाही खर्चिए है । कत्ती ऋण काढेर दँशै मान्नु । रिसानी माफ होस सरकार ।

उहि हजुरको
जनता

About The Author