Sat. Mar 15th, 2025

सबैको रहर : बलियो घर

भूकम्पका कारण नेपालमा करीब ५ लाख भन्दा घरमा ठूलो क्षति पुगेको छ । भत्किएका यी घरहरू बनाउन खर्बौं रुपैयाँ लाग्ने अनुमान सरकारले गरेको छ । साथै, भत्किएका घरहरू अब कसरी र कुन डिजाइनमा बनाउने भनेर सर्वसाधारण पनि अलमलमा परेका छन् । कमजोर आर्थिक अवस्थाका कारण पनि उनीहरू अब कस्ता घर बनाउने भन्नेमा चिन्तित छन् । सरकारले पूर्ण क्षति भएका घरहरूका लागि दिने क्षतिपूर्तिको रकमले मात्र घर निर्माण गर्न कठिनाइ पर्ने देखिन्छ । त्यसैले, अहिले कम खर्चमै आकर्षक र बलियो घर कसरी बनाउन सकिन्छ भनेर खोजी हुन थालेको छ । कसरी बनाउन सकिन्छ त थोरै लागतमै उपयुक्त घर ?, भुकम्प प्रतिरोधी घर बनाउँदा के कस्ता कुरामा ध्यान दिनुपर्छ ? पाविल साप्ताहिकका अस्मिता खतिवडाले भुकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट) का कार्यक्रम व्यवस्थापक रञ्जन ढुङ्गेलसंग पाविलन्युज डटकमका संवाददाता अस्मिता खतिवडाले गर्नुभएको कुराकानी

ranjan

बैशाख १२ को भुकम्पमा कस्ता घरहरु बढि मात्रामा लडेको पाउनुभयो ? अबको पुर्ननिर्माणमा के कस्ता कुरामा ध्यान पु¥याऊनुपर्ने देखिन्छ ?
 –    भूकम्पले जमिनको प्रकृति अनुुसार क्षति गरेको हामीले देख्यौं । त्यसैले आवास लगायतका भौतिक निर्माण गर्नुअघि भूबनोटबारे आश्वस्त हुनु आवश्यक छ । भू बनोट अनुसारकै डिजाइनमा निर्माण गर्ने परिपाटी बस्न आवश्यक छ । प्रकोप नक्साहरूको अध्ययन र प्राविधिक जाँचबुझ तथा माटो परीक्षणबाट जमिनको अवस्थाबारे जानकारी लिन सकिन्छ । सरकारले तयार गरेको भवन आचारसंहिता सहरमा बन्ने घरहरूको हकमा सीमित छ । भवनसंहित गाउँपाखामा बन्ने सामान्य घरको हकमा पनि लागु हुनेखालको हुनुपर्यो । स्थानीय स्रोतसाधन प्रयोग गरेर पनि बलिया घर बनाउन सकिने प्रविधि हाम्रो आवश्यकता हो । हामीकहाँ सहरभन्दा गाउँ धेरै छन् । घर बनाउन कस्ता–कस्ता निर्माण सामग्री प्रयोग भएका छन् ? फस्को ढुंगाका रोडा त होइनन्, बालुवामा अभ्रक र माटोको मात्रा धेरै छ कि ?, घर निर्माण गर्ने ज्यामी कति सिपालु छन् ?, घर निर्माणका क्रममा प्राविधिक रायसल्लाह लिइएको छ कि छैन ? भन्ने जस्ता कुरामा विशेष ध्यान पु¥याऊनुपर्ने देखिन्छ ।  इन्जिनियरले बनाएको नक्सा पन्छाएर आफ्नै इच्छाअनुसार कोठाचोटा र बरन्डा निकाल्ने प्रवृत्ति त्यागौँ । सबै अवस्था, विधि, प्रविधि, निर्माण सामग्री मिलेको अवस्थामा मात्रै बलियो र सुरक्षित घर बन्न सक्छ ।

 अहिले कम लागतमा बलियो घर बनाऔं भन्ने कुरा चलिरहेको छ ? यो कसरी संभव छ ?

– पक्कै पनि संभव छ । तर सस्तो भनेर अत्याधि सस्तो खोज्यौं भने पनि हामीले सोचे जस्तो बलियो घर बन्दैन । हामीले घरको नक्साको कुरादेखी घरको डिजाइन, घर बनाउने समाग्री तथा ठेकेदारको छनोट लगायतका स–साना कुरामा ध्यान दिनु आवश्यक छ । जस्तैः

  नक्साको चयन
घर बनाउँदा सबैभन्दा पहिला नक्सा (डिजाइन)मा ध्यान दिनुपर्छ । कत्रो, कस्तो र कुन किसिमको घर बनाउने र कति लागत लाग्ने भन्ने नक्सा बनाउँदा नै तय गर्नुपर्दछ । आफ्नो जग्गाको साइजअनुसार उपयुक्त र सबै ठाउँको सदुपयोग हुने किसिमले घरको नक्सा इञ्जिनीयरलाई बनाउन लगाउनुपर्छ । यसले तपाईंको घरको लागत पहिले नै थाहा पाउन सकिन्छ ।

 पछि डिजाइन परिवर्तन नगर्नहोस्
कतिपय मानिस घर बनाइसकेपछि त्यसको भित्र निर्माण गर्ने भान्साकोठा, सुत्नेकोठा, बाथरूम आदिको डिजाइन परिवर्तन गर्दछन् । यसले गर्दा डिजाइन खर्च बढ्ने, कामदार खर्च बढी हुने, घरको क्षमता फरक हुने र त्यसको निर्माण महँगो पर्छ । त्यसैले, पहिले नै सही डिजाइन छनोट गरी सोहीबमोजिम निर्माण गर्नुपर्दछ ।

    वर्गाकार आकारमा घर बनाउनुहोस्
घर निर्माण विशेषज्ञहरूका अनुसार आयताकार वा अन्य घरभन्दा वर्गाकार घर बनाउँदा धेरै सस्तो पर्छ । आयताकार घरको भन्दा वर्गाकार घरको निर्माण लागत १५ देखि २० प्रतिशतसम्म कम पर्ने इञ्जिनीयरहरू बताउँछन् । साथै, एक तलाको ठूलो घर र त्यसमा कोठाहरू बनाउनुको सट्टा दुई तलाको सानो घर निर्माण गर्दा २५ प्रतिशत लागत खर्च कम लाग्ने बताइन्छ ।

   वालहरू कम बनाउनुहोस्
घर निर्माण गर्दा भित्रपट्टि कम सङ्ख्यामा वाल राख्दा फाइदा हुन्छ । बाहिरी वालको दाँजोमा भित्री वालको मोटाइ पनि पातलो बनाउनु राम्रो हुन्छ । यसले घरमा ठाउँ बढी उपलब्ध हुन्छ भने खर्च कम लाग्दछ । साथै, घरमा भ¥याङका खुट्किला ज्यादा घुमाउरा तथा धेरैको सट्टा चुस्त र कम बनाउनुपर्छ । यसले लागत र ठाउँ दुवै बचत गर्न सकिन्छ भने घरलाई भद्दा देखिनबाट पनि जोगाउँछ ।

घर बनाउने सामानको छनोट
घरको सम्पूर्ण खर्चको ६५ प्रतिशत खर्च घर बनाउने सामानमा लाग्दछ । यसैले, भान्सा कोठाका सामान, बिजुलीका सामान, पाइप, काठ, सिलिङमा प्रगोग गरिने सामान, सजावटका सामान र अन्य सामान सस्तोमै गुणस्तरीय पाइने ठाउँमा खरीद गर्नुपर्छ । एकै गुणस्तरका सामान पनि ठाउँअनुसार महँगो पर्ने भएकाले बजार भाउ बुझेर खरीद गनु राम्रो हुन्छ । देखिने र आवश्यक ठाउँमा महँगो सामान प्रयोग गरे पनि नदेखिने र अनावश्यक स्थानमा कम मूल्यका बलिया सामान प्रयोग गरेर खर्च घटाउन सकिन्छ ।

    ठेकेदारको छनोट
सरकारले गर्ने काम मात्र होइन, निजी घरहरू निर्माण गर्दा पनि नाफाखोर ठेकेदारका कारण लागत बढ्ने गरेको छ । त्यसैले, घरको लागतअनुसारको काम गर्न सही ठेकेदारको चयन महत्वपूर्ण हुन्छ । ठेकेदार इमानदार र अनुभवी भएमा निर्माण सामग्रीको सदुपयोग हुनुका साथै व्यवस्थापन पनि राम्रो हुन्छ । यसबाट कम खर्चमै पनि गुणस्तरीय काम गर्न सकिन्छ ।

 पिल्लर वाला घर मात्रै भुकम्पले नढाल्ने रहेछ भन्ने सोच गाऊँघरका अधिकांश मानिसहरुमा देखिन्छ, माटोको जोडाइमा ढुंगाको घरलाई भूकम्प प्रतिरोधी कसरी बनाऊन सकिन्छ ?
– त्यस्तो होइन । २०७२ साल बैशाख १२ को भुकम्पमा कंक्रिटका घर या भनौ ढलान गरेर पिल्लर हालेर बनाइएका घरहरुमा पनि ठुला–ठुला क्षती पुगेका उदाहरणहरु छन् । घरको के को बनाउने भन्दा पनि घर बनाऊँदा के कस्तो कुरामा ध्यान दिनु भन्ने कुरा बढि महत्वपुर्ण हुन्छ । विधि पु¥याएर काम गर्ने हो भने ढुङ्गा माटोको घरलाई पनि बलियो बनाऊन सकिन्छ । माटोको जोडाइमा ढुंगाको घरलाई भूकम्प प्रतिरोधी बनाउन मुख्यतया, निर्माण स्थलको छनौट र माटो परीक्षण पहिलो काम हो । त्यस्तै भवनको आकार प्रकार र नाप कस्तो कति राख्ने भन्ने विषयमा पनि पहिल्यै निक्र्यौल गर्नुपर्छ । यस्तै निर्माण सामग्रीहरु जस्तै ढुंगा, माटो, काठ, डण्डी जस्ता कुराहरु कमसल प्रयोग गर्नु हुँदैन । माटोको जोडाइमा ढुंगाको घरको जग लगाउँदा गारोवाला जग लगाउनुपर्दछ । माटो अनुसार जगको न्यूनतम नाप तोकिएको हुन्छ ।

यस्तै गारो लगाउँदा गारोको अधिकतम लम्बाइ, उचाइ, प्यानल साइज र न्यूनतम मोटाइमा ख्याल गर्नुपर्छ । गारोको न्यूनतम मोटाइ ३५० देखि ४५० मिलिमिटरसम्म हुनुपर्दछ । यदि गारोको लम्बाइ धेरै लामो भयो भने आड दिने गरी छुट्टै गारो उठाउनुपर्दछ, जसलाइ अंग्रेजीमा बट्रेस भनिन्छ । यस्ता गारो ३ मिटरभन्दा टाढा राख्नु हुँदैन । यसको न्यूनतम मोटाइ मुख्य गारो बराबरको हुनुपर्दछ  र आधारको न्यूनतम चौडाइ गारोको उचाइको ६ भागको १ भाग हुनुपर्दछ । साथै माथिको चौडाइ कम्तीमा गारो बराबर हुनुपर्दछ । चुली गारोले गारोको उचाइ बढाउने हुँदा सकेसम्म काठ वा जस्ता पाताको हलुका चुलीगारो राख्नुपर्दछ ।

माटोको जोडाइमा ढुंगाको घर बनाउँदा झ्याल ढोका राख्दा विशेष ध्यान पुर्याउनुपर्छ । झ्याल र ढोका गारोको कुनाबाट कम्तिमा ६०० मिलिमिटर टाढा राख्नुपर्छ । झ्याल ढोकाको बीचमा कम्तिमा ६०० मिलिमिटर गारो लगाएको हुनुपर्छ । झ्याल ढोकाको लम्बाइ बढीमा गारोको लम्बाइको ३० प्रतिशत हुनुपर्दछ ।

ढुंगाको गारोमा ठाउँ ठाउँमा पुरै गारोका चौडाइ भरिको कैँची मार्ने ढुंगाहरु राखिएको हुनुपर्छ । दुईवटा कैँची मार्ने ढुंगा बीचको फरक तेर्सो पट्टी ४ फिट र ठाडो पट्टी २ फिट भन्दा बढी हुनुहुँदैन । यदि कैँची मार्ने ढुंगा गारोको चौडाइ जत्रो नपाइएमा कम्तीमा गारोको ३ चौथाइ लामो ढुंगा एकआपसमा खप्टाएर राख्न सकिन्छ । सूर र जोर्नीमा ठूलो चाक्लो ढुंगाको प्रयोग गर्नुपर्दछ ।

भवनमा जग, जगको माथिल्लो सतह, झ्यालढोकाको तल्लो र माथिल्लो सतह, चुली गारोको भिरालो सतह, भुँइको सतह र छानाको सतहमा पुरै गारोभरि तेर्सो पट्टीहरु दिनुपर्दछ । सुर र जोर्नीमा उचाइतर्फ ५०० देखि ७०० मिलिमिटरको दुरीमा स्टिचको प्रयोग गर्नुपर्छ । ढलानको तेर्सो पट्टी नपाइएको खण्डमा काठको पट्टी प्रयोग गर्न सकिन्छ ।

झ्यालढोकाको कमजोर ठाउँहरु जस्तै जोर्नी, कुना र झ्यालढोकाको छेउमा ठाडो फलामे डण्डीहरु हाल्नुपर्दछ । ठाडो फलामे डण्डीहरु जगबाट सुरु भई छानाको सतहसम्म जानुपर्दछ । ठाडो फलामे डण्डी नपाइएको खण्डमा ठाडो काठ पनि प्रयोग गर्न सकिन्छ । यस्तै छाना लगाउँदा पनि विशेष ध्यान पुर्याउनुपर्छ । लचकदार छाना लगाउनुपर्दा जस्तापाता जस्ता हलुका सामान प्रयोग गर्नुपर्दछ । छाना तथा तल्लाहरु गारोसँग उपयुक्त तरिकाले बाँधेको हुनुपर्दछ । लचकदार तला र छानामा चौकुने बन्धन पनि राख्नुपर्दछ ।

अन्तमा,     
– अबको पुनः निर्माण सोच, विचार र सावधानीका साथ गरौं । हचुवा र हेलचक्राईं नगरौं । धादिङ जिल्लामा पनि एनसेटले काम गरिरहेको छ । हाम्रा इन्जिनियर साथीहरु, प्राविधीक टोलीहरु तपाईंहरुकै गाउँ ठाउँमा खटिरहनुभएको छ । उहाँहरुको सल्लाह सुझाव लिन सक्नुहुन्छ । त्यस्तै सहयोग चाहिएमा धादिङबेशीमा रहेको एनसेटको कार्यलयमै पनि सम्पर्क गर्न सक्नुहुनेछ । सरकारले घरका विभिन्न मोडल निकालेको छ । विभिन्न संस्थाहरुले पर्चा पोष्टर निकालेका छन् । रेडियो, टेलिभिजन, पत्रपत्रिकामा पनि पुननिर्माणकै चर्चा चलिरहेको छ । खोजी गरौ, विधी पु¥याएर बलियो घरमा निर्माणमा लागौं । धन्यावाद ।

About The Author

अन्य समाचारहरु: