सरिता श्रेष्ठ / ३१ भदौ, धादिङ – वित्तिय संस्थाहरुले कर्जा बढी दिन थालेपछि धादिङमा उद्योग दर्ता गर्नेको संख्या बढेको छ ।
घरेलु तथा साना उद्योग विकास समितिको कार्यलय धादिङका अनुसार साउन महिनामा मात्र उद्योग तर्फ ४० वटा र वाण्ज्यि तर्फ ६८ वटा उद्योग व्यवसाय दर्ता भएका छन् । साउन महिनामा २ वटा उद्योग खारेज भएका छन् ।
वित्तिय संस्थाबाट कर्जा लिनुभन्दा पहिले व्यवसाय दर्ता छ कि छैन भन्ने प्रमाण खोज्ने भएका कारण पनि व्यवसाय दर्ता गर्ने गरेको कार्यलयका उद्योग अधिकृत विजयकुमार भट्टराईले बताए ।
आर्थिक वर्ष ०७२/०७३ मा वाणिज्य प्रशासन तर्फ ३ सय ८८ दर्ता गरिएको छ भने २ सय ५३ वटा नविकरण गरेका छन् । ६ वटा खारेजी भएको छ ।
सञ्चालनमा रहेका उद्योग व्यवसायले धेरैलाई रोजगारी पनि दिलाएको छ । अहिले १३ सय ७६ महिला र ३४ सय ६८ पुरुष कामदारले यस्ता व्यवसायबाट रोजगारी पाएका छन् ।
आर्थिक वर्ष ०७२/७३ मा उद्योग दर्ता तथा नवीकरण र पुँजी वृद्धिबाट ४८ लाख २७ हजार ६८० रुपैयाँ र वाणिज्य दर्ता तथा नवीकरण र पुँजी वृद्धिबाट ३३ लाख ९५ हजार ७८५ रुपैयाँ गरी ८२ लाख २३ हजार ४६५ रुपैयाँ राजस्व संकलन भएको घरेलु तथा साना उद्योग विकास समिति धादिङले जनाएके छ ।
धादिङ जिल्लामा सञ्चालित घरेलु उद्योग तथा वाणिज्य व्यवसायमा ९० करोड ९४ लाख ३३ हजार ५ सय ३६ रुपैयाँ लगानी रहेको घरेलु तथा साना उद्योग विकास समिति धादिङले जनाएको छ ।
जिल्लाभरमा ६ हजार १ सय ६३ उद्योग व्यवसाय छन् । जिल्लामा ५० क्रसर उद्योग, ६९ वटा फिरफिरे (बालुवा प्रशोधन गर्ने) ३१ इँटा उद्योग सञ्चालनमा छन् ।