Fri. Jan 31st, 2025

घरको काममा बालबालिकाहरुलाई पनि सहभागी गराऔं

asmita-khatiwadaअस्मिता खतिवडा –  छोराछोरीको पढाइमा असर पर्छ, समय पुग्दैन, होमवर्क भ्याऊँदैनन् आदी इत्यादी कुराको डरले हिजोआज शहर बजारका अभिभावकहरुले आफ्ना छोराछोरीलाई घरको स–साना काममा पनि सहभागि नगराउने गरेको देखिन्छ । सानै देखी अभिभावकले यस्तो बानी लगाइदिएकाले बालबालिका पनि घरको काम हामीले गर्ने हैन, बुबा ममीले गर्ने हो भन्ने मानसिकतामा छन् । विहानबेलुकी पानी भर्ने, घरको सरसफाई गर्ने, आफ्नो सरसफाई आफैं गर्ने, लुगा ओच्छ्यान मिलाउने लगायतका काम स–साना बालबालिकाले गर्न सक्छन् । यस्ता काममा सहभागि गराउँदै विस्तारै उनिहरुलाई अन्य काममा पनि सहभागि गराउँदै लैजानुपर्छ । बालबालिकाहरूलाई घरको काममा सहभागी गराउनाले उनीहरूमा आत्मविश्वास र आत्मसम्मान बढ्छ । विशेषज्ञहरूका अनुसार घरेलु काममा बालबालिकाहरू रमाउँछन् तर उनीहरूलाई रुचिपूर्वक काम गराउनुपर्छ र कामलाई बोझ बनाउनुहुँदैन ।

यसरी बालबालिकालाई घरको काममा सहभागि गराएमा के हुन्छ त ?

बालबालिकालाई घरको काममा सहभागी गराउँदा धेरै फाइदा हुन्छ । जस्तै–

–योजना बनाउन सिक्छन्
बालबालिकालाई जब कुनै कामको जिम्मेवारी दिइन्छ तब उनीहरू त्यसलाई आफ्नो खेलकुद, टिभि प्रोग्राम आदिका हिसाब बाट योजना बनाउँछन् । यसले गर्दा उनीहरू आफ्नो रुटिन कार्य र दिइएको कार्य सही तरिकाबाट सम्पन्न गर्न सक्छन् र बाल्यावस्थादेखि नै योजना बनाउन सिक्छन् ।
–अनुशासनमा रहन सिक्छन्
जब बालबालिकाहरूले काम गर्छन् तब उनीहरूले योजना बनाउनुपर्ने हुन्छ, जसका कारण उनीहरूले खेल र पढाइका लागि पनि समय प्राप्त गरून् । बिनाअनुशासन यो सम्भव हुँदैन । अनुशासन सफलताका लागि आवश्यक छ ।
–पढाईको बोझलाई हल्का महसुस गर्छन
पढाइको बोझका कारण बालबालिका मानसिक रूपबाट पूर्णरूपले थकित हुन्छन् । कहिलेकाहीँ यो थकान यति बढ्छ कि उनीहरू कुण्ठित हुन पुग्छन् । ओच्छ्यान लगाउनु, मन पर्ने खाना बनाउन सहयोग गर्नु, सरसफाइ आदि घरेलु कामले मनलाई रिल्याक्स गर्छ । बालबालिका पुनः उत्साहित र फ्रेस हुन्छन् । उनीहरूको स्ट्रेस लेवल नियन्त्रणमा रहन्छ ।
–व्यवहारिकता बढ्छ
बालबालिकाहरूले कामका साथमा व्यावहारिक एवं सामाजिक कुशलता पनि सिक्छन् । घर एवं घरबाहिरको अन्तरलाई बुझ्न थाल्छन् । उनीहरूको बाल्यावस्था सहजतापूर्वक युवावस्थामा पुग्छ । घरेलु काम सिक्न कुनै स्कुल वा संस्थामा जानु पर्दैन ।
–जिम्मेवारीको भावना बढ्छ
कसैलाई सहायता गर्नाले व्यक्तिमा आत्मसम्मानको भावना बढ्छ भने अर्को पटक काम गर्ने इच्छा जाग्छ र बिस्तारै–बिस्तारै कामप्रति जिम्मेवारीको अनुभूति हुन थाल्छ । त्यसपछि उनीहरू आफू र आफन्तजनप्रति जिम्मेवार बन्न थाल्छन् ।
–तर्क गर्ने क्षमताको विकास हुन्छ
घरेलु काम गर्दा उचित–अनुचित, सही–गलत बुझ्ने, तर्क गर्ने क्षमताको विकास हुन्छ भने व्यावहारिक र सामाजिक मूल्य–मान्यतासम्बन्धी समझदारी बढ्छ । उनीहरूले हरेक कामसित किन, के र कसरी भन्ने कुरामा नजर राख्न थाल्छन् । बिस्तारै उनीहरूले नैतिक र अनैतिकको भेद पनि बुझ्न थाल्छन् ।

यसरी बालबालिकालाई घरको काममा सहभागि गराउँदा धेरै कुरामा विचार भने पु¥याउनुपर्छ । जस्तै ः

–उमेर र क्षमतामा विशेष ध्यान दिनुपर्छ
काम दिनुभन्दा पहिले बालबालिकाको उमेर, शक्ति र क्षमतालाई ध्यानमा राख्नु जरुरी छ र त्यहीअनुरूप काम दिनुपर्छ ।
–प्रेमपूर्वक काम गराउनुपर्छ
कुनै पनि काम गराउँदा बालबालिकामा रुचि जगाउनुपर्छ ।
यसो गर उसो गर भनेर अह्राउनुको साटो हामीलाई तिम्रो सहयोग चाहिन्छ आउ संगै गरौं लगायतका कुरा गरेर बालबालिकालाई काममा हसभागि गडराउन सकिन्छ । यसरी प्रेमपूर्वक काममा लगाउँदा काम गर्ने रुचि पनि बढ्छ । जुन काम गराउन चाहेको हो त्यस विषयमा उचित शब्दमा स्पष्ट रूपमा भन्नुपर्छ । जस्तै– आफ्नो कोठा सफा गर्नुपर्छ भन्नुको साटो दराजमा कपडा, पुस्तकलाई टेबलमा तथा खेलौनालाई बास्केटमा राख भन्न सकिन्छ । त्यसपछि उनीहरूलाई कोठा सफा गर्ने कुरा थाहा हुन्छ ।
–उदाहरण दिएर सिकाउन सकिन्छ
बालबालिकालाई काम गराउनुभन्दा पहिले स्वयं आफैंले काम गर्न सकिन्छ, जसलाई हेरेर उनीहरूले काम सिक्छन् । आफ्ना साथमा बालबालबालिकालाई पनि काम गराउनुपर्छ । त्यसपछि उनीहरूले एक्लै काम गर्न थाल्छन् ।
–प्रशंसा गर्न ढिलाइ गर्नुहुँदैन
स्याबासी दिन लामो प्रतीक्षा गर्नु ठीक होइन । स–साना बालबालिका त आफूलाई दिइएको काम आफूले सुरु गर्ने बित्तिक अभिभावकको अनुहारमा प्रोत्साहन र स्याबासीको भाव देख्ने चाहना राख्छन् । त्यसैले सुरुमैै प्रशंसा गर्नुपर्छ, जसले उनीहरूको आत्मविश्वास र उत्साह बढ्छ ।
–तुलना गर्नुहुँदैन
कहिल्यै बालबालिकाको काम, काम गर्ने तरिका, योग्यता र क्षमताको तुलना गर्नुहुँदैन । हरेक बालबालिका अलग–अलग हुन्छन् । त्यसैले उनीहरूको काम गर्ने शैली, योग्यता एवं क्षमता पनि अलग–अलग हुन्छ ।

हिजोआज बालबालिकाले कामका साथमा केही कुराको आशा पनि राख्छन् । पुरस्कारका रुपमा उनिहरुलाई आवश्यक केहि कुरा दिन सकिन्छ । बालबालिकाको बानी विचार गरी अभिभावकले निर्णय गर्नु उचित हुन्छ ।

About The Author