Thu. Feb 27th, 2025

रुपैयाँका ५ दाना पनि नबिकेपछि भैसीलाई स्याउ

buffallo-eating-apple२९ भदौ, बाजुरा –  तपाई अचेल बाजुराको जुकोट पुग्नु भएको छ भने अनौठो नमाने हुन्छ । त्यहाँका वस्तुभाउ धमाधम स्याउ खाइरहेका भेटिन्छन् ।

पोहोरभन्दा दोब्बर उत्पादन भएपछि गाउँभरि स्याउकै छेलोखेलो छ । बिक्रीका लागि बजार भने छैन । बेच्न नपाएर स्याउका दाना बारीमै कुहिन थालेपछि किसानहरू चौपायालाई खुवाउँन थालेका छन् ।

जुकोटमा अधिकांश परिवारका २र४ सय वटासम्म स्याउका बोट छन् । लटरम्म फलेका दानाले स्याउबारी राताम्मे देखिन्छन् । बजार पुर्‍याउन सके स्याउबाटै लाखौं रुपैयाँ आम्दानी गर्न सक्ने यहाँका किसानहरूको आम्दानी भने शून्य बराबर छ ।

भूपेन्द्र शाहीको बारीमा ४ सय बोटमा लटरम्मै छन् । तर उनले अहिलेसम्म स्याउ बेचेर मुस्किलले सय रुपैयाँ कमाएका छन् । ‘गाउँतिर स्याउ किन्ने कोही छैन,’ उनले भने, ‘कुहिने अवस्था आएपछि गाईभैंसीलाई खुवाउनुपरेको छ ।’

यति बेला जुकोट पुग्ने छरछिमेक र इष्टमित्रले बोक्न सकेजति सित्तैमा पाउँछन्। अपरिचित र किन्न चाहनेले डेलिसस, पञ्चमुखे, गोल्डेनलगायत जातका स्याउ रोजी-रोजी रुपैयाँका ५ दाना पाउँछन् । सदरमुकाम पुर्‍याउन सके त्यही स्याउ दानाको २० रुपैयाँसम्म पर्छ ।

यहाँका किसानले स्याउ बिक्री गर्नुपरे लगभग एक दिन टाढा पर्ने कोल्टी वा दुई दिन लाग्ने सदरमुकाम मार्तडी पुर्‍याउनुपर्छ त्यती परसम्म किसानले डोकोमा पुर्‍याउन सक्दैनन् । भरिया खोजेर डोकोमा स्याउ पठाउँदा ज्याला बढी लाग्नेने उनीहरू बताउँछन् ।

जुकोटमाथि देबाले र सैदेवो लेकमा मात्रै स्थानीयका स्याउबारी छन् । स्याउ खेती गर्ने परिवार संख्या ७० भन्दा बढी छ । त्यहाँबाट गाउँमा ओसार्न पनि केही घण्टा लाग्छ । गाउँमा कोल्डस्टोरसमेत नभएकाले स्याउ भण्डारण गर्न सकिँदैन । कान्तिपुर दैनिकबाट

About The Author

अन्य समाचारहरु: