२७ भदौ, धादिङ – २०७२ साल बैशाख १२ गतेको भूकम्पले ध्वस्त भएका धादिङको महादेवस्थान गाँउ विकास समितिका तीन ओटा विद्यालयमा निर्माण गरिएका नयाँ भवन समुदायलाई हस्तान्तरण गरिएको छ ।
युनाइटेड मिसन टु नेपाल धादिङ क्लष्टर र प्रयत्नशील सामुदायिक विकास समाज प्रयास नेपालले संयुक्त रुपमा भवन निर्माण गरी समुदायलाई हस्तान्तरण गरेको हो । महादेवस्थान गाविसको वडा नम्बर १ मासखर्कमा रहेको पञ्चकन्या प्राथमिक विद्यालय, वडा नम्बर १ कै घैराङमा रहेको घैराङ प्राथमिक विद्यालय र वडा नम्बर ५ मा रहेको रावलडाँडा निम्नमाध्यमिक विद्यालयमा निर्माण गरिएको नयाँ भवन आइतवार छुट्टाछुट्टै कार्यक्रम गरी हस्तान्तरण गरिएको छ ।
सम्बन्धित विद्यालयहरुमा आयोजित कार्यक्रममा क्षेत्रिय शिक्षा निर्देशनालय हेटौंडाका निर्देशक दिनेशकुमार श्रेष्ठले विद्यालय हस्तारण गरे । विद्यालय हस्तान्तरण गर्दै निर्देशक श्रेष्ठले भूकम्पले भत्काएका विद्यालयहरु जतिसक्दो चाँडो पूनर्निमाण गरेर गुणस्तरीय शिक्षा प्रदान गर्न सरकार लागि परेको बताए । पुनर्निमाण भैसकेका विद्यालयमा गुणस्तरीय शिक्षा उपलव्ध गराउनु अबको आवश्यकता रहेको भन्दै यसतर्फ केन्द्रित हुन अभिभावक तथा शिक्षकहरुसंग आग्रह पनि गरे । निर्देशक श्रेष्ठले भूकम्प प्रभावित जिल्लाहरुमध्ये विद्यालय पुनर्निमाण गर्न धादिङ अग्रस्थानमा रहेको पनि बताए ।
त्यसैगरी विद्यालय हस्तान्तरण कार्यक्रममा धादिङका जिल्ला शिक्षा अधिकारी गणेशप्रसाद ढकालले यूएमएन, प्रयास नेपाल लगायत अन्य सहयोगी राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरुसंग सहकार्य गरी विद्यालय पुनर्निमाण गर्न जिल्ला शिक्षाकार्यालय अघि बढेको धारणा राखे । पुनर्निमाण भएका विद्यालयहरुमा अब गुणस्तरीय शिक्षामा लाग्नु पर्ने धारणा पनि जिशिअ ढकालले राखे ।
विद्यालय हस्तान्तरण कार्यक्रममा नेपालीकांग्रेस धादिङका सचिव हरेराम बुर्लाकोटी, नेकपा एमालेका उपसचिव शंभुकुमार थापा, नेकपा माओवादी केन्द्रका प्रतिनिधि हेमराज भुजेल, नेपाल शिक्षक महासंघ धादिङका उपाध्यक्ष विष्णुप्रसाद अधिकारी, नेपाल शिक्षक संघका अध्यक्ष दिपक सिम्खडा, नेपाल राष्ट्रिय शिक्षक संगठनका सचिव प्रेम खरेल, महादेवस्थान गाविसका सचिव रमेश पौडेल, युएमएन धादिङका टिमलिडर शिवअधिकारी, प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालल लगायतले आआप्mना धारणा राखेका थिए ।
महादेवस्थान गाविसमा पुर्निमाण भएका विद्यालयहरुमा प्रति विद्यालय १२ देखि १४ लाख रुपैयाँसम्म खर्च भएको प्रयास नेपाल धादिङले जनाएको छ । विद्यालय पुनर्निमाणमा स्थानीय अभिभावकहरुले पनि लाखौं रुपैयाँ बराबरको जनश्रमदान गरेको अभिभावकहरुले बताएका छन् ।