२६ भदौ – इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा साबिक विजेता लिसेस्टर सिटी पराजित भएको छ । लिभरपुलले लिसेस्टर सिटीलाई ४–१ ले हरायो । लिभरपुलको जितमा रोबर्टो फिर्मिनोले दुई तथा साडिओ माने र एडम लालनले एक एक गोल गरे ।
लिसेस्टरका लागि जेमी भर्डीले एक गोल फर्काए । १३ औं मिनेटमा फिर्मिनोले गोल गर्दै लिभरपुललाई सुरुवाति अग्रता दिलाए । ३१ औं मिनेटमा मानेले अग्रता दोब्बर पारे । ३८ औं मिनेटमा लिसेस्टरका भर्डीले गोल गरेपछि पहिलो हाफमा लिभरपुलले २–१ को अग्रता लियो । ५६ औं मिनेटमा लालनले गोल गर्दै लिभरपुललाई ३–१ को अग्रता दिलाए । खेलको अन्तिम समयमा फिर्मिनोले व्यक्तिगत दोस्रो गोल गरेपछि लिभरपुलले ४–१ को जित दर्ता र्गयो ।
जितपछि लिभरपुल सात अंकसहित पाँचौं स्थानमा उक्लिएको छ भने चार खेलबाट चार अंक मात्रै जोडेको लिसेस्टर सिटी १५ औं स्थानमा छ । लिसेस्टरको यो सिजन लिगमा दोस्रो हार हो । अर्को खेलमा टोटनह्यामले स्टोक सिटीलाई ४–० ले हराएको छ ।
टोटनह्यामको जितमा सन हेयुङ मिनले दुई तथा डेल अली र ह्यारी केनले एक एक गोल गरे । हल सिटी र बर्नलीले १–१ को बराबरी खेले ।