२३ भदौ, धादिङ – महिलामा हुने पाठेघरको मुखको क्यान्सरलाई रोक्न दोस्रो चराणको अभियान सुरु गरिएको छ । सरकारले सो रोगविरुद्धको खोप कार्यक्रमको दोस्रो चरण विहीबारदेखि सुरु गरेको छ ।
गत वर्षको फागुन १६ गते कास्की र चितवनमा खोप कार्यक्रम सुरु गरिएको थियो । छ महिनाको अन्तरमा दुई चरणसम्म दिइने खोपको दोस्रोचरण आजदेखि सुरु गरिएको बालस्वास्थ्य महाशाखाका खोप शाखा प्रमुख मुकुन्द गौतमले जानकारी दिए।
प्रथम चरणमा विद्यालयमा जाने कक्षा ६ का र विद्यालय नजाने १० वर्ष उमेरका १५ हजार किशोरीलाई खोप दिइएको थियो । निःशुल्करुपमा दिइने यो खोपको मूल्य दुई चरणको गरी २० हजार रूपैयाँ पर्न आउने गौतमको भनाइ छ ।
विहीवारदेखि विद्यालयमा जाने किशोरीलाई विद्यालयमा पुगेर खोप दिनुपर्ने र नजाने किशोरीलाई नजिकको स्वास्थ्य केन्द्रमा पुगेर खोप दिने भएकाले कार्यक्रम सञ्चालन गर्न कठिन भएको र दुई जिल्लाको परिणाम हेरेर मात्रै बाँकी जिल्लामा कार्यक्रम लैजाने सरकारको तयारी छ ।
गौतमका अनुसार पाठेघरको मुखको क्यान्सरको जोखिम भएका ३० देखि ६० वर्ष उमेरका महिलाका लागि पनि कार्यक्रम ल्याउने तयारी भइरहेको छ ।