Tue. Mar 4th, 2025

किन तीज मानू आमा म ?

तोलाकुमारी पाठक –

tola-pathak

आमा म प्रथम पटक रजस्वाला भएको वर्ष तपाईले मलाई हिन्दु महिला र तीजको  संस्कार सिकाउनु  भएको थियो । तपाईले जे जे भन्नु भयो मैले त्यहि माने । त्यो वर्षा दर खाए, तीजको दिन भोकै वसे, पानी पनि खाईन, वेलुका मध्य रात सम्म पूजा लाए । भोलिपल्ट खाल्सा थियो । पञ्चमीको पूजा गर्नका लागि खाल्साको दिन पनि तयारी गर्दै गयौ ।

पञ्चमी पनि लाईयो, धेरै रमाईलो भयो, हामी भूड्के पूजा लगाउने (पहिलो रजस्वाला भएको पहिलो पटक पूजा लगाउने) को ठूलै टिम थियौ । यसै गरी त्यो वर्ष चार दिन सम्म तिज माने । आमा, तपाईले भन्नु हुन्थ्यो हिन्दु महिलाहरुको महान चाड तीजलाइ मानिन्छ । अनि सिकाउनु भयो पार्वतीले पनि महादेव स्वामी पाउनका लागि तपस्या गरिन, तीजको व्रत वसिन भनेर पूजा गर्दा म पनि मख्ख पर्दै राम्रो स्वामीको लागि आरधाना गर्दै गए । मुखबाट एक पटक त फुत्कीएछ हे भगवान शिव जस्तै स्वामी पाउ सबै जना हासे ।

गाँउघरमा दिदिहरु किन आउनु भएको भनेर म जिज्ञासा राख्थे । महिलाहरुले वुहारी भएर घरमा काम गर्दा वस्दा बर्षाद भरी काम गर्दा, वुहारीको वुहार्तन सहन गाह्रो हुन्छ, महिलाहरुले धेरै समस्या भोगेकी हुन्छिन, कम्तिमा माईत गएर आफ्नो सुख र दुखलाई गितको माध्यमबाट व्यक्त गर्ने गर्दा पनि मन हल्का हुन्छ, भेटघाट हुन्छ पनि भन्नु हुन्थ्यो । गाउ घरमा दिदिहरु माईत आए पश्चात गाउने रमाउने पनि गरिन्थ्यो ।

 कलिलै उमेरमा मागि विवाह भयो । विवाहको दोस्रो वर्ष छोरा जन्मियो । १६ दिनको छोरा लिएर म माईत आए । अपशोच मलाई घरबाट कोही लिन पनि आउनु भएन र हाम्रो वास्ता सम्म गर्न छाडियो । त्यस वर्ष तिज मान्न सकिएन अर्को वर्ष मैले माईतमा वस्दै तिज मान्नु माने । म अरु संगि साथिहरुसँग तिजको दिन नाच गित (जात्रा) हेर्न गए । सबै संगिसाथीहरु गहना कपडामा सजिएर आएका थिए । तर मसँग आमा एउटा रातो साडी बाहेक केही थिएन । अनि गहना त केही थिएन सबैले मलाई अलि होच्याएको जस्तो लाग्यो ।

पहिले म धनि घरमा परेको छु भन्ने सुन्दा भेट्ने साथीहरुले मलाई त्यस दिन गहना पनि केही रहेनछ भनेर गिल्ली गरे । मैले त्यतिबेला व्यक्त गरिन तर मनमनै यो तिज हेर्ने रहर सेलाएको थियो । त्यस दिन बेलुका वर्षको वालक भएतापनी मैले व्रत वसे वेलुका तपाईले दिनु भएको फलफूल र दुध घिउ खाए ।

 दोस्रो दिन खाल्सा नपरी पञ्चमीको दिन परेछ । हामी पञ्चमी नुहाएर आयौ र पूजा लगाउने तरखरमा थियौ भाग्यले जुन घरमा मैले रजस्वला पश्चात पहिलो पूजा लगाईएको थियो त्यहि घरमा पञ्चमी पूजा लगाउन गयौ । जव हामी पञ्चमीको पूजा लगाउदै थियौ त्यस घरको आमाले मलाई इंकित गरेर भन्नु भो उ त अर्कै गोत्र हो । यहाँ न छोउ । तर आमा म आफ्नै जातमा विहे गरेकी थिएनी । उहाँले मलाई विर्षनु भयो । किनकी उहाँको छोरीहरु गहनामा सजिएका थिए अनि श्रीमान र घरको माया ममतामा अल्झिएको थिए । तर म विचरा न गहना कपडा न घरको संरक्षण मैले त्यतिवेला जीवनमा धेरै ठूलो विभेद पाए । मैले मनमनै अर्को निर्र्णय गरे ।

हाम्रो हिन्दु धर्ममा हामी महिला महिला वीचमैै विभेद छ । जति पाप लागोस यो मेरो अन्तिम पञ्चमि पूजा हुनेछ । त्यस वर्ष देखि तिजप्रति विस्तारै मोह हराउदै गयो । धेरै जसो तिजमा परिक्षा पर्ने हुनाले परिक्षा छ भनि टार्दै आए । आजको दिनसम्म आउदा मेरा साथीहरु धेरै राम्रो राम्रो साडी र गहनामा सजिएर सेल्फि हानेर फेसवुकमा राख्छन् । तर मलाई तिजले ल्याएको विकृति नै लाग्छ । किनकी आमा तपाईले त्यतिबेला पकाउनु भएको मसिनाको चामलमा कुहिनाबाट घिउ चुहाएर पकाएको खाना, गाउमा पाईने माल्द्धवा केरा, लोकल भैसीको दुघ घिउ, अचार, तरकारी होईन आजभोलि होटल, पार्टि प्यालेसको पार्टी, विदेशि साडी र गहनाले सहर सजिएको छ । गाउमा दिदी वहिनीहरुको जुन दुखको गित आज सुन्न पाईदैन ।

यहाँ त आमा धेरै विभेद विकृति छ । अर्को कुरा आमा एक दिन कताबाट हो फोन आयो तिजको कार्यक्रम छ, साडी लाएर नाच्न आउनु है ? मैले भनिदिए नमस्कार म साडी पनि लाउदिन तपाईकोमा तिज पनि मान्दिन । म पनि यहि समाजमा हुर्केकी एक महिला हु । म कसैलाई तिरस्कार गर्दिन तर देखावटि पनि गर्दिन । जुन पुरुष पाउनको लागि म विवाह अघि नै तपस्या गरे, व्रत वसे, त्यै पुरुषबाट जन्मीएको वच्चा लिएर जीवनभर तिरस्कृत भए ।

जुन ठाँउमा म पाप मुक्त हुन गए, त्यहिबाट मन कुड्याएर आशु झार्दै फर्के, जुन ठाँउमा म रमाईलो गर्न नाचगान गर्न जान्छु बोलाईन्छ त्यै ठाँउमा मेरो गहना र कपडाको तुलना गरिन्छ अनि गरिवी भएको कारण अपहेलित हुन्छु, अव भन्नुहोस आमा म किन तिज मनाउने ? म माईत आउन किन तीज कुर्ने ?

About The Author