Tue. Nov 26th, 2024

सिडियो साप, कहिले तिर्नुहुन्छ क्वाटरको विद्युत महशुल ?

cdo-sapशंकर श्रेष्ठ / ७ भदौ,  धादिङ – विद्युत महसुल नतिर्नेमा धादिङमा सरकारी निकायहरु अगाडि देखिएका छन् । निजी क्षेत्र र व्यक्ति भन्दा सरकारी निकायहरु नै अगाडि देखिएको तथ्य पत्ता लागेको छ ।

समयमै विद्युत महसुल नतिरेपनि नेपाल विद्युत प्राधिकरणले महशुल नतिर्ने सरकारी कार्यालयहरुको लाइन काट्न सकेको छैन ।

प्रमुख जिल्ला अधिकारीको क्वाटरमा खपत भएको विद्युत महशुल मध्ये ५ महिनाको विद्युत महशुल ११ हजार ५ सय ९८ रुपैया तिरेको छैन भने जिल्ला प्रशासन कार्यालयले विद्युत उपयोग गरेबापत प्राधिकरणलाई तिर्नुपर्नेमध्ये ३ महिनादेखि ३१ हजार २ सय ९३ रुपैया तिरेको छैन ।

त्यस्तै कर्मचारी मिलन केन्दले १९ महिना, भुमि सुधार कार्यालयले ११ महिना, जिल्ला मालपोत कार्यालयले ७ महिना, निलकण्ठ रेञ्जपोष्टले ५ महिना, खानेपानी कार्यालयले ६ महिना, महिला विकास कार्यालयले ४ महिनादेखि विद्युत महशुल प्राधिकरणलाई नबुझाएको नेपाल विद्युत प्राधिकरण धादिङका प्रमुख सत्यनारायण गामी जानकारी दिए ।

प्राधिकरणलाई बक्यौता नबुझाउनेहरुमा स्वास्थ्य क्षेत्र अझ अगाडि देखिएको छ । विद्युत उपभोग गरेबापत धादिङ जिल्ला अस्पतालले ३ महिनाको ८८ हजार ४ सय ६८ रुपैयाँ, सल्यानटार स्वास्थ्य चौकी (हेल्थपोष्ट)ले ४९ महिनाको ३ लाख ३४ हजार ७ सय ६५ रुपैया तिरेको छैन । कटुञ्जे स्वास्थ्य चौकीले २६ महिना, सालवास स्वास्थ्य चौकीले १४ महिना, मार्पाक उपस्वास्थ्य चौकीले १६ देखि विद्युत महशुल नतिरेको विद्युत प्राधिकरण धादिङले जनाएको छ ।

शहिद स्मृति संचार सहकारी सस्थाले ३४ महिनादेखि विद्युत महशुल बुझाएको छैन । साउन मसान्तसम्म ३४ महिनाको जरिवाना बाहेक १ लाख १६ हजार १ सय रुपैयाँ विद्युत महसुल नतिरेको प्राधिकरण धादिङका प्रमुख गामी जानकारी दिए । सामुदायिक संचार तथा विकास केन्द्रले ४१ महिनाको विद्युत महशुल प्राधिकरणलाई तिरेको छैन । यसरी तिर्न बाँकी रहेको रकम थप जरिवाना दस्तुर बाहेकको हो ।

विद्युत महशुल संकलन विनियावली २०५९ को विनियावली ७ मा विद्युत महशुलमा थप दस्तुर लाग्ने व्यवस्था अनुसार मिटर रिडिङ भएको ३ दिन भित्र महशुल तिर्दा ३ प्रतिशत छुट, ८ दिनदेखि २२ दिनसम्म महशुल तिर्दा विल बराबर, २३ दिनदेखि ३० दिनसम्ममा ५ प्रतिशत जरिवाना, ३१ देखि ४० दिनभित्र बिल तिरेमा १० प्रतिशत जरिवाना लाग्ने व्यवस्था छ । त्यस्तै ४१ दिन कटेपछि ६० दिनभित्रि महशुल तिरेमा २५ प्रतिशतले जरिवाना लाग्ने व्यवस्था छ । सोही विनियावलीको ८ मा मिटर रिडिङ भएको ६० दिनसम्म महशुल नतिरेमा सम्बन्धित मिटिरको लाइन जुनसुकै बेला पनि काट्न सकिने व्यवस्था छ । तर सम्पूर्ण कार्यालयले असार मसान्तमा आर्थिक कारोबार क्लोजिङ हुने भएपनि विद्युत महशुल बुझएका छैनन् ।

नेपाल विद्युत प्राधिकरण धादिङको साउन मसान्तसम्ममा जिल्लाभरबाट १ करोड १० लाख बक्यौता उठ्न बाँकी रहेको प्राधिकरण लेखा शाखाका राजु आचार्यले जानकारी दिए । पैसा नतिर्ने जुनसुकै निकायको विजुलीको लाइन काटिने प्राधिकरणले जनाएको छ ।

mahasul-dhading

About The Author

अन्य समाचारहरु: