२ भदौ, चितवन – जिल्लामा गत आव २०७२/७३ मा मादक पदार्थ सेवन गरी सवारी चलाउने दुई हजार २ सय १० जना कारबाहीमा परेका छन् ।
मापसे गर्नेबाट रु २२ लाख २२ हजार राजस्व सङ्कलन गरिएको छ । दुर्घटनामा कमी नआए पनि दुर्घटनाका कारण ज्यान गुमाउनेको सङ्ख्यामा भने कमी आएको छ । आव २०७१र७२ मा मादक पदार्थ सेवन गरेका एक हजार १ सय ६८ जनालाई कारबाही गरी ११ लाख ६८ हजार रुपैयाँ राजस्व सङ्कलन गरिएको थियो ।
आव २०७१र७२ मा अधिकांश मोटरसाइकल चालकको मात्रै मापसे चेकजाँच गरिएको थियो भने आव २०७२र७३ मा मोटरसाइकलसहित कार, जिपलगायतका सबै प्रकारका सवारीमा मापसे चेकजाँच गरिएको थियो । गत आवमा एक हजार ८ सय ७४ मोटरसाइकल चालक र २ सय ३५ अन्य सवारी चालकलाई चेकजाँच गरिएको थियो । अघिल्लो आवमा एक हजार चारवटा मोटरसाइकल र ७९ वटा अन्य सवारीमा मापसे चेकजाँच गरिएको थियो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार आव २०७२र७३ मा २ सय ३० वटा दुर्घटना हुँदा ७५ जनाको मृत्यु भएको थियो भने १ सय १४ जना गम्भीर घाइते भएका प्रहरी निरीक्षक राजन भेटवालले जानकारी दिए । अघिल्लो आवमा १ सय ९६ वटा दुर्घटनामा ८३ जनाको मृत्यु भएको थियो भने १ सय १६ जना घाइते भएका थिए ।
“मापसे चेकजाँच कडाइ गरेपछि सहरी क्षेत्रमा दुर्घटनामा कमी आएको छ,” उनले भने । ट्राफिक प्रहरीले गत आवमा ५० हजार ७ सय ४० सवारी चालकलाई कारबाही गरी दुई करोड ९७ लाख १७ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । अघिल्लो आवमा ४९ हजार ९ सय सवारी चालकलाई कारबाही गरी दुई करोड ४९ लाख ९१ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको बताइएको छ । रासस