१ भदौ, धादिङ – धादिङ जिल्लामा सञ्चालित घरेलु उद्योग तथा वाणिज्य व्यवसायमा ९० करोड ९४ लाख ३३ हजार ५ सय ३६ रुपैयाँ लगानी रहेको घरेलु तथा साना उद्योग विकास समिति धादिङले जनाएको छ ।
जिल्लाभरमा ६ हजार १ सय ६३ उद्योग व्यवसाय छन् । स्थानीय सरोकारवालाको अनुगमन र व्यवसायीमा आएको सचेतनाले दर्ता गरेर मात्र उद्योग व्यवसाय सञ्चालन गर्ने प्रवृत्ति बढेको छ ।
सञ्चालनमा रहेका उद्योग व्यवसायले धेरैलाई रोजगारी पनि दिलाएको छ । अहिले १३ सय ७६ महिला र ३४ सय ६८ पुरुष कामदारले यस्ता व्यवसायबाट रोजगारी पाएका छन् ।
आर्थिक वर्ष ०७२/७३ मा उद्योग दर्ता तथा नवीकरण र पुँजी वृद्धिबाट ४८ लाख २७ हजार ६८० रुपैयाँ र वाणिज्य दर्ता तथा नवीकरण र पुँजी वृद्धिबाट ३३ लाख ९५ हजार ७८५ रुपैयाँ गरी ८२ लाख २३ हजार ४६५ रुपैयाँ राजस्व संकलन भएको घरेलु तथा साना उद्योग विकास समिति धादिङका उद्योग अधिकृत विजयकुमार भट्टराईले बताए ।
उनका अनुसार गत आवमा वाणिज्यतर्फ ३ सय ८९ फर्म दर्ता, २ सय ५३ नवीकरण र ६३ फर्मको पुँजी वृद्धि भएको छ । उद्योगतर्फ ५ सय ८१ वटा फर्म दर्ता, १ सय ४० वटा फर्म नवीकरण र २४ वटा फर्मको पुँजी वृद्धि गरेको छ ।
जिल्लामा ५० क्रसर उद्योग, ६९ वटा फिरफिरे (बालुवा प्रशोधन गर्ने) ३१ इँटा उद्योग सञ्चालनमा छन् । ब्लक उद्योग र इँटा उद्योग दर्ता गर्ने क्रम भूकम्पपश्चात् ह्वात्तै बढेको छ ।