रविना पौडेल / २७ साउन, धादिङ – धादिङमा भाइरल ज्वरोका बिरामी बढेका छन् । वर्षायामसँगै जिल्लामा रहेको जिल्ला अस्पताल धादिङ सहित दुई नीजि स्वास्थ्य संस्था, मेडिकलहरुमा पनि भाइरलका बिरामी बढेको अस्पतालले जनाएको छ ।
अस्पतालमा उपचारका लागि गएका बिरामी मध्ये ६५ प्रतिशत भन्दा बिरामी भाइरल ज्वरो र टाइफाइटको हुने गरेको जिल्ला अस्पताल धादिङका चिकित्सा अधिकृत पुर्षोतम पौडेलले जानकारी दिए ।
विशेष गरी जिल्लाको नलाङ, सलाङ, चैनपुर, कुम्पुर, मैदी, खरी लगायतका गाउँ विकास समितिबाट विरामी आउने गरेको अस्पतालका सुपरिटेन्डेन रसिला अमात्यले जानकारी दिइन् ।
अस्पतालमा दैनिक २ सय भन्दा बढी भाइरल ज्वरो र टाइफाइडका बिरामी आउने गरेको छ । २ हप्ता यता बिरामीको चाप बढेको अमात्यको भनाई छ ।
अमात्यका अनुसार गर्मी, प्रदूषित पानीको प्रयोग र व्यक्तिगत सरसफाइमा कमीका कारण भाइरल ज्वरोको सङ्क्रमण बढेको हो ।
हनहन्ती ज्वरो आउनु, आँखा दुख्ने टाउको दुख्नु, पेट दुख्नु र हात खुट्टाका जोर्नीहरु दुख्नु भाइरल ज्वरोका लक्षणहरु हुन् । यस्तो लक्षण देखा परेमा तुरुन्त नजिकैको स्वास्थ्य संस्थामा जाँच गराउनका लागि चिकित्सकहरुले सुझाव दिएका छन् ।