Tue. Mar 4th, 2025

विश्वले चिनेकी कान्छी गौरिका

Gaurika_Singh-large
२५ साउन, काठमाडौं – आइतबार राति ब्राजिलको रियो द जेनेरियोको एउटा पौडी पोखरीमा नेपाल र गौरिकाको नाम बारम्बार लिइयो । खेलका क्रममा उद्घोषकले नाम लिनुको कारण कुनै पदक जितेकोले भने होइन । सय मिटर ब्याकस्ट्रोकको स्पर्धामा नेपालकी गौरिका सिंह ३१ भएकी थिइन तर पनि उनको प्रशंशा कुनै पदक जित्ने खेलाडीको भन्दा कम थिएन । अन्य ३४ देशका खेलाडी सहभागी स्पर्धामा पहिलो चरणबाटै बाहिरिएकी गौरिकाभन्दा तल सामाओ, कोसोभो र केन्याका खेलाडी मात्र रहेका थिए ।

त्यहाँ गौरिकाको नाम बारम्बार आउनाको प्रमुख कारण उनी प्रतियोगिताकै सबभन्दा कान्छी खेलाडी भएर हो । २ सय ६ देशका ११ हजारभन्दा बढी खेलाडी सम्मिलित ‘रियो ओलम्पिक’मा सबभन्दा कम उमेरकी खेलाडी भएपछि उनको चर्चा चुलिएको छ । अहिले उनी विश्व चर्चित सञ्चारमाध्यमको खोजीको विषय हुन पुगेकी छिन् ।

१३ वर्षकी गौरिकाले गएको बिहीबार सञ्चार माध्यमसँगको कुराकानीमा भनिन्, ‘मैले कुनै दिन ओलम्पिक खेल्दैछु भनेर सोचेकी भने थिइन । मैले धेरै सानो उमेरदेखि पौडी खेल्न सुरु गरेकी थिएँ तर यसले मलाई यहाँसम्म पुर्‍याउनेछ भनेर विश्वास भने थिएन ।’ कान्छी खेलाडी हुनाको राजबारे उनको तर्क यस्तो छ, ‘मैले यसबारे खासै सोचेकी भने छैन । अरु सबै खेलाडी जस्तै म यहाँ खेल्न आएकी हुँ । त्यसैले अरुभन्दा म धेरै फरक छैन ।’ ‘द गार्डियन’, ‘एपी’, ‘रोयटर्स’लगायत प्रमुख सञ्चारमाध्यमले समेत उनलाई प्राथमिकतामा राखेर समाचार बनाएका छन् ।

आइतबार प्रतिस्पर्धाकै क्रममा गौरिकाले आफ्नो ‘स्विमसुट’ च्यातिएका कारण पौडन अप्ठ्यारो परेको बताएकी थिइन् । यस कुरालाई ब्राजिलसँगै विश्वभरका सञ्चारमाध्यमले प्राथमिकताका साथ ‘हाइलाइट्स’ गरे ।

गौरिका दुई वर्षको हुँदादेखि नै आफ्ना बुबासँगै बेलायतको लन्डन बस्न थालेकी हुन् । त्यहाँको बर्नेट कप्टहल क्लबबाट खेल्दै आएकी उनी आफ्नो उमेर समूहमा बेलायतका २० पौडीबाजमा पर्छिन् । गौरिका चार वर्षदेखि लन्डनमै रहेर ओलम्पिकको तयारीमा व्यस्त थिइन् ।

झण्डै ६ महिनाअघि भारतमा सम्पन्न १२ औँ दक्षिण एसियाली खेलकुद सागमा एक रजत र तीन कास्य पदक जितेकी उनले नेपाली पौडीमा तीन पल्ट राष्ट्रिय कीर्तिमान कायम गरेकी  छन् ।

जारी ओलम्पिकबाट बाहिरिए पनि उनले ‘हिट वान’ चरणमा पहिलो स्थान हासिल गरिन् । उक्त एक मिटर ब्याकस्ट्रोक उनले १ मिनेट ८ दशमलव ४५ सेकेन्डमा पूरा गरेकी थिइन । उनी आफ्नो राष्ट्रिय कीर्तिमान तोड्न १ दशमलव १४ सेकेन्डले चुकिन् । यो अपेक्षा विपरीत भए पनि नेपाली ओलम्पिकका लागि भने कीर्तिमान नै हो । हालसम्म नेपाली पुरुष पौडीबाजले समेत यो स्पर्धा १ मिनेट १२ सेकेन्डमा मात्र पूरा गर्न सकेका छन् ।

यता देश नेपालमा झन् गौरिकाको चर्चा चुलिएको छ । नेता, अभिनेता, खेलाडी, व्यवसायी लगायत सबै क्षेत्रका मानिसले उनलाई सामाजिक सञ्जालमार्फत बधाई दिएका छन् । उनीहरुको सार यस्तो छ । रासस

About The Author

अन्य समाचारहरु: