२५ साउन, धादिङ – पृथ्वीराजमार्ग अन्र्तगत धादिङको बेनिघाटमा रहेको सदाज्योति आयल स्टोरमा नेपाल गुणस्तर तथा नापतौल विभागले सिल गरेको छ ।
नापतौल विभागको संयोजकत्वमा जिल्ला प्रशासन कार्यलय धादिङ र प्रहरीको टोलीले सोमबार अनुगमनका क्रममा सिल गरेको हो ।
विभिन्न तरिकाबाट पेट्रोलियम पदार्थ ठगी गरेको गुनासो आउन थालेपछि विभागले धादिङबेसी र राजमार्गका ४ वटा पेट्रोल पम्पहरुको अनुगमन गरेको हो । अनुगमनका क्रममा पम्पले उपभोक्तालाई कम मात्रामा डिजेल दिएर ठगी गर्ने गरेको भेटिएको छ ।
अनुगमनका क्रममा जोगिमारास्थित त्रिशूलधारी आयल स्टोरमा रहेको ३ वटा मेसिन मध्ये दुईवटामा सिल गरेको छ । एउटामा हावा छिरेकोले अनुसन्धानका लागि र अर्को बिग्रिएका कारण सिल गरेको हो ।
त्यस्तै टोलीले धादिङबेसीमा रहेको भैरवी पेट्रोल पम्प, गंगासागर पेट्रोल पम्पमा पनि अनुगमन गरेको छ ।
राजमार्गका पम्पमा मिसावट हुने, तेल थोरै मात्रामा दिने गरी उपभोक्तालाई ठगी गरिरहेको भन्ने गुनासो आएपछि कारबाहीका लागि सिल गरिएको हो ।
अहिले स्याम्पल लिएको र ठगी गरेको प्रमाणित भए ठगी गर्ने पम्पहरुलाई आपूर्तिमा रोक्का गर्ने, कसुर अनुसारको जरिबाना वा दुबै खाले कारबाही हुने नेपाल गुणस्तर तथा नापतौल विभाग क्षेत्रिय कार्यलयका अधिकृत कमल शर्माले जानकारी दिए ।