२४ साउन, धादिङ – बूढीगण्डकी जलविद्युत् आयोजना प्रभावित स्थानीयहरुले अनुदान र मुआब्जा माग गरेका छन् ।
प्रभावित क्षेत्र गोरखा र धादिङका स्थानीयले घर बनाउन रु दुई लाख अनुदान रकम र रोक्का गरिएको जग्गाको मुआब्जा माग गरेका हुन् ।
गोरखा उद्योग वाणिज्य सङ्घअन्तर्गत आरुघाट उद्योग वाणिज्य सङ्घको पहलमा आइतबार आरुघाटमा भएको भेलाले अनुदान रकम वितरणमा ढिलाइ भएको र मुआब्जा वितरणमा आलटाल गरिएको भन्दै सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।
भूकम्पपछि जिल्लाका अन्य गाविसका भूकम्पपीडितसँग अनुदान वितरणका लागि सम्झौता सकिएको भए पनि बूढीगण्डकी डुबान क्षेत्रमा अहिलेसम्म अनुदान सम्झौता सुरु नगरिएको भन्दै उनीहरुले अनुदान वितरणको प्रक्रिया सुरु गर्न आग्रह गरेका हुन् ।
गोरखाका विभिन्न १४ गाविसस्थित बूढीगण्डकी डुबान क्षेत्रका भूकम्पपीडितले अनुदान सम्झौता गर्न पाएका छैनन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण उपक्षेत्रीय कार्यालय गोरखाले भने बूढीगण्डकी प्रभावितले छिट्टै निजी आवास निर्माण प्रयोजनका लागि अनुदान सम्झौता गर्न पाउनुको साथै घर बनाउने अनुदान रकम पनि पाउने बताएको छ ।
आरुघाट उद्योग वाणिज्य सङ्घका अध्यक्ष बुद्धिप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको भेलामा धादिङ र गोरखाका बूढीगण्डकी आयोजना प्रभावित स्थानीयहरुको सहभागीता थियो।