आमा–बाबुको लागि शिशुको जन्म त एउटा रोमाञ्चक कुरा हो । सृष्टिले मानवलाई अजीबको संरचना गरेको छ की स्त्रीहरूमा मातृत्वको भावना स्वत नै उत्पत्ति हन्छ अर्थात् जागृत हुन्छ । र स्तनमा दूध आउन थाल्छ । आमा जब स्नेहले बच्चालाई दूध चुसाउन थाल्छिन्, तब बच्चा पनि भोकको कारण र आमाको सुखद् स्पर्शको कारण दूध चुस्ने प्रयास गर्दछ । अन्ततः आमाको वात्सल्य भाव एवं स्पर्शले स्तनबाट दूध चुहिन थाल्छ । स्तनपान शिशुको लागि अति जरूरी मात्र नभई फाइदाजनक पनि हुन्छ । बच्चा जन्मेको केही दिनसम्म त आमाले आफ्नो दूध चुसाउँछिन् । जब सुत्केरी महिला तंग्रेर हिँडडूल गर्न सक्छिन्, त्यसपछि कामधन्दाको चटारो शुरु हुन्छ । तर, एउटा व्यक्तिको लागि खाना जति आवश्यकता पर्छ उति नै दूध बच्चाको लागि आवश्यकता पर्छ । आमाको दूधमा उसको जन्मसिद्ध अधिकार हुन्छ । यसमा कोही पनि आमाहरू बच्चालाई उसको आफ्नो अधिकारबाट बञ्चित राख्न पाउँदैन, यदि बञ्चित राख्छ भने यो गलत हुनजान्छ । अर्थात् त्यसको असर बच्चालाई पर्न जान्छ र बच्चा रोगी, कमजोर, दुब्लो, पातलो हुनजान्छ । यसबीच स्तनपानको महत्व, स्तनपान गराउंदा आमाले ध्यान दिनुपर्ने कुरा लगायतका विषयमा पाविलन्युज डटकमका अस्मिता खतिवडाले जिल्ला स्वास्थ्य कार्यलय धादिङका पब्लीक हेल्थ नर्स गोमा गुरुङसंग गरेको कुराकानी
एउटा आमाले आफ्नो बच्चालाई स्तनपान गराऊँदा के–कस्ता कुरामा ध्यान दिनुपर्छ ?
– स्तनपान बच्चाको लागि अनिवार्य आवश्यकता हो । तर स्तनपान गराउँदा बच्चालाई कसरी राख्ने भन्ने कुरामा विशेष ख्याल राख्नुपर्दछ । अन्यथा बच्चालाई आमाको दूध अमृत समान हुँदा हुँदै पनि नकारात्मक असर पर्दछ । जब स्तनपानका लागि सहि स्थितिको प्रश्न उठ्छ यसमा दुईवटा कुराहरु अत्यन्त महत्वपूर्ण हुन्छ । पहिलो कुरा बसाइ आफूलाई शारीरिक रुपमा आरामदायी र सहज हुनुपर्छ । दोश्रो कुरा बसाईको स्थिति सहज बनाउनुसँगै शिशुलाई आफ्नो स्तनसम्म सहजरुपमा पु¥याउन सक्ने गरी बस्नुपर्छ । तपाईं हामीलाई कुन चाहीँ स्थिति उपयुक्त छ भन्ने कुरा शिशुलाई दूध चुसाउन कुन किसिमको बसाई सहज हुन्छ भन्ने कुरामा निर्भर हुन्छ । तपाइ हामीले जुनसुकै स्थिति रोजेपनि दूध चुस्ने बेलामा शिशुले आफ्नो टाउको थोरै पछाडि तिर तान्न सक्ने कुरा सुनिश्चित गर्नुपर्ने हुन्छ ।
स्तनपान गराउने केहि त्यस्ता उपयुक्त तरिकाहरु पनि छन् ?
– पक्कै पनि छन् । स्तनपान गराउंदा आफ्नो र शिशुको शरीरलाई समानान्तर राखेर अथवा सुतेर र पल्टिएर बस्न सकिन्छ । शिशुले जुन स्तनबाट दूध चुसिरहेको छ त्यसको अर्को तर्फको हातले शिशुलाई काखमा लिएर समातेर राख्ने र सहज हुनेगरी बस्ने गर्नुपर्छ । शिशुले दूध पिइरहेको स्तनपट्टकिै हातले समातेर अर्को हातले टाउको अड्याएर छड्के पारेर बोकेर सजिलोसँग बस्दा राम्रो हुन्छ । त्यस्तै पलेटी कसेर बसेर शिशुलाई दूध चुसिरहेको स्तनतिरको हातले अड्याएर उसको गोडा तल तिर पर्नेगरी सुताउने, यदि जुम्ल्याहा बच्चाहरु छन् र एकसाथ दूध चुसाउनु छ भने पलेटी कसेर बसी एउटा नरम तकीयाको सहायतामा दुबै स्तनमा एक/एक वटा शिशुलाई एकसाथ स्तनपान गराउन सकिन्छ ।
स्तनपानका फाइदाहरु के के छन् ?
– आमाको दूध पोषणका लागिमात्र नभएर यसले आमा र बच्चाहरूको स्वास्थ्यमा अत्यन्त सकारात्मक प्रभाव पार्दछ । शिशुलाई जन्मेको छ महिनासम्म स्तनपानमात्र गराउनु पर्दछ । आमाको दूध सुपाच्य हुन्छ र यसले शिशुको पेट गडबड हुने डर हुँदैन । आमाको दूध शिशुको नाक र घाँटीमा प्रतिरोधी तह बनेर बस्दछ । त्यसले रोग प्रतिरोधक क्षमता बढाउन पनि सहायता गर्दछ । स्तनपानले दम र कानको रोग शरिरमा लाग्नबाट पनि जोगाउँछ । केही शिशुलाई गाई भैंसीको दूधले एलर्जी हुनसक्ने संभावना रहन्छ तर आमाको दूध खानु शतप्रतिशत सुरक्षित छ । नियमित र निश्चित अवधिसम्म स्तनपान गर्ने शिशुहरूलाई पछि अन्न खुवाउँदा पनि असुहाउँदो र अस्वाभाविक रुपमा मोटो हुँदैनन् ।
स्तनपान गर्ने शिशुहरुमा शुरूदेखि नै आवश्यकताभन्दा अधिक खाने बानी नपर्ने हुँदा उनीहरुमा अस्वाभाविक रुपमा मोटोपना नदेखिने बिभिन्न अध्ययनहरुले देखाएका छन् । निश्चित अवधिसम्म स्तनपान गर्ने शिशुहरूलाई जीवनका पछिल्लो चरणहरूमा पनि रक्त क्यान्सर, मधुमेह र उच्च रक्तचाप जस्ता रोगहरुको खतरा तुलनात्मक रुपमा निकै कम हुन्छ । स्तनपानले शिशुको बौद्धिक क्षमता समेत बृद्धि हुन्छ । त्यस्तै स्तनपान गराउने आमा र शिशुको बीच भावनात्मक सम्बन्ध धेरै बलियो हुन्छ । यसका अलावा आमाको दूधमा धेरै प्रकारका प्राकृतिक रसायनहरु पनि रहेका हुन्छन् जसले शिशुको शारिरीक तथा मानसिक बिकासमा अत्यन्त महत्वपूर्ण भूमिका खेल्ने गर्दछ ।
दिनमा कति पटक स्तनपान गराउनु राम्रो हुन्छ ?
– बच्चालाई कतिपल्ट दूध चुसाउनु पर्छ, यसको केही निश्चित नियम छैन । प्रत्येक बच्चाको भोक भिन्दाभिन्दै हुन्छ । शुरू शुरूमा बच्चालाई दुई घण्टाको फरकमा स्तनपान गराउनुपर्छ भने पछि बच्चाको भोक र माग अनुसार आमाले दूध खुवाउनु पर्दछ ।
एक पटकमा चाहिं कति समय सम्म स्तनपान गराऊने त ?
– एऊटा स्तन कम्तीमा पनि १५ मिनेट सम्म चुसाउनुपर्छ । कतिपय आमाहरुको वानी एउटा स्तन २÷३ मिनेट चुसाएपछि छाडेर फेरी अर्को स्तन चुसाउने हुन्छ । तर यो एकदमै गलत हो । किनभने स्तन चुसाउन सुरु गरेको केहि समयमा त स्तनबाट पोषण तत्व भन्दा पनि पानीको मात्रा वढि हुन्छ । दुवै स्तन थोरै थोरै समय चुसाउंदा शिशुले पोषण तत्व भन्दा पानीको मात्रा बढि भएको दुध खाइरहेको हुन्छ । त्यसैले पनि कम्तीमा १५ मिनेट एउटा स्तन चुसाएपछि मात्रै अर्को स्तन चुसाउनुपर्छ ।
शिशुलाई आमाको दूध पुगेको छ/छैन कसरी थाहा पाउने ?
शिशुको तौल बढे नबढेको हेरेर प्रत्येक महिना शिशुको तौल कमसेकम ५०० ग्राम आधा किलो बढेको हुनुपर्छ । यदि शिशुको तौल एक महिनामा कम्तीमा पनि आधा किलो बढेको छैन भने शिशुले पर्याप्त मात्रामा आमाको दुध खान पाएको छैन भनेर थाहा पाउन सकिन्छ । तर यसका लागि नियमित रूपमा तौल लिनुपर्छ । यदि नियमित तौल लिन सम्भव छैन भने सामान्य वृद्धि अनुगमन अवलोकनबाट पनि थाहा पाउन सकिन्छ । जस्तैः तौल लिन सम्भव नभएका र लिन नजान्ने आमा वा अभिभावकले शिशुको हातमा र कम्मरमा नाडीमा कालो वा पहेंलो डोरा बाँधेर उसको वृद्धि भए नभएको हेर्ने चलन अझै गाँउघरमा छ । शिशुले २४ घण्टामा कति पटक पिसाब फेर्छ त्यो हेरेर दुध पुगे नपुगेको थाहा पाउने अर्को माध्यम पिसाब हो । दुध पर्याप्त मात्रामा पुगेको शिशुले एक दिनमा (२४ घण्टामा) कमसे कम ६ देखि आठ पटकसम्म पिसाब फेर्छ र पिसाबको रङ्ग सफा हुन्छ । तर यदि २४ घण्टामा ६ पटक भन्दा कम पिसाब फेर्छ र पिसाबको रङ्ग गाढा पहेंलो बाक्लो, एकदमै गन्हाउने छ भने त्यो शिशुलाई आमाको दुध पुगेको छैन भनेर थाहा पाउनुपर्दछ ।
जन्मिएलगत्तै नवजात शिशुलाई आमाको पहेंलो बिगौती दुधले के–कस्ता फाइदा पु¥याऊँछ ?
– एकदमै फाइदाजनक छ । पहिले त पहेंलो विगौती दुध खुवाउनु हुंदैन भन्ने चलन थियो । तर अहिले मानसिकतामा विस्तारै परिवर्तन आइरहेको अवश्था छ । जन्मिएलगत्तै नवजात शिशुलाई आमाको पहेंलो बिगौती दुध खुवाउँदा शरीरमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुन्छ । यसमा शिशुलाई वृद्धि गर्ने तत्व र भिटामिन ‘ए’ प्रशस्त मात्रामा पाइन्छ, जसले गर्दा आन्द्रालाई पनि परिपक्व बनाउन मद्दत गर्छ र आँखाको रोग र संक्रमणबाट बचाऊन मद्धत गर्छ । बिगौती दुध नवजात शिशुको लागि पहिलो खोप हो । तसर्थ नवजात शिशुलाई विधि पु¥याएर बच्चाले चाहे जति उपयुक्त मात्रामा ६ महिनासम्म आमाको दुध खुवाउनु अनिवार्य हुन्छ ।
कतिपय आमाहरुले त शारीरीक सुन्दरता (शारीरीक वनावट) विग्रन्छ भनेर पनि स्तनपान नगराऊने गरेको पाइन्छ नी ?
हो, यताकता तपाईले भन्नुभए जस्तै आमाहरु पनि भेटिन्छन् । वास्तवमा भन्नुपर्दा यो गलत बुझाई हो । शारीरिक सुन्दरता गुम्ने डरले शिशुलाई स्तनपान नगराउने महिलामा चाहिं शरीर भद्दा हुने समस्या देखिन्छ । व्यस्त दैनिकी र स्तनपानको महत्व बारे उचित ज्ञान नहुँदा गर्भावस्थामा वृद्धि भएको तौल घटाउन नसकेर महिलामा शरीरको आकार पहिलाभन्दा भद्दा हुने क्रम बढ्दै गएको पाइन्ट । सुरुमा स्तनपान गराउन अफ्ठ्यारो मान्ने सुत्केरी तौल घटाउन नसकेपछि डान्स सेन्टर, हेल्थ क्लब र मर्निङवाक धाउने क्रम पनि बढ्दै छ । यसरी आफ्नो दुध नचुसाएर बट्टाको दूध खुवाउंदा त्यसले एकातिर बच्चाको स्वास्थ्य बिग्रिरहेको हुन्छ भने अर्कातिर आमाको शरीर पनि सन्तुलित बन्न सक्दैन । सुत्केरी भएको दुई वर्षसम्म नियमित स्तनपान गराउँदा आमाको शरीरमा थुप्रिएको अनावश्यक बोसोजन्य पदार्थ बिस्तारै घट्दै जान्छ ।
स्तनपान नगराउँदा शरीरमा थुप्रिएको मोटोपना घट्न सक्दैन । त्यसले गर्दा पेट र स्तन क्षेत्रमा थुप्रिएको बोसो पनि घट्न सक्दैन । त्यसैले स्तनपानले शरिरको सौन्दर्यता विगार्ने होइन महिलाको शरीर सन्तुलित राख्नुका साथै रक्त अल्पता र पाठेघरको मुखमा हुने क्यान्सरको जोखिमसमेत घटाउन मदत पु¥याऊँछ । बच्चालाई दूध खुवाउँदा उत्पादन हुने अक्सिटोसिन हर्मनले पाठेघरलाई कसिलो बनाएर रक्तश्राव पनि कम गराउँछ । स्तनपान गराऊँदा शारीरीक वनावट विग्रन्छ की भन्नु भ्रम मात्रै हो । स्तनपान गराउँदा सौन्दर्यमा ह्रास आउने, शरीरको तौल घट्ने, स्तनको आकार बिग्रने आदि गलत धारणाहरु रहेको पाइएपनि यो सत्य भने होइन । आधुनिक विज्ञानले यी धारणाहरुलाई गलत पुष्टि गरिसकेको छ ।
स्तनपानलाई परिवार नियोजनको एउटा माध्यमको रूपमा पनि लिइन्छ ?
– ठिक कुरा उठाऊनुभयो, पटक शिशुलाई दूध चुसाउछिन् त्यतिनै बढि अस्थाइ गर्भनिरोधको अवधि बढेर जान्छ । स्तनपान भनेको आमाले शिशुलाई जन्म दिएपछि आफ्नो स्तनबाट निस्कने प्राकृतिक दूध चुसाउने क्रिया हो । गर्भधारणको प्रक्रियासँगै आमाको स्तनमा दूध बहन थालेको हुन्छ । सुत्केरी अवस्थामा नवजात शिशु सँगसँगै आमाले पनि खानपानमा उत्तिकै ध्यान दिनु जरुरी हुन्छ । आमा स्वस्थ भए बच्चा पनि स्वस्थ हुने भएकाले बच्चा सँगसँगै आमाको पनि खानपानमा ध्यान दिनुपर्छ । सामान्य अवस्थामा भन्दा सुत्केरी भएको बेलामा पोसिलो, भिटामिनयुक्त खाना खानु पर्दछ । त्यो भन्दा महत्वपूर्ण कुरा सुत्केरी अवस्थामा खानपान सँगसँगै आमा र बच्चाको सरसफाइमा समेत विशेष ध्यान दिनु पर्दछ ।
अन्तमा केहि भन्नु छ ?
– बच्चालाई दूध चुसाउनु अगाडि आमाले आफ्नो हात एवं स्तन सफा गर्नुपर्छ । स्तनपान गराउने समय आमा शोकाकुल, भोकाएको तथा थाकेको हुनुहुँदैन । गर्भावस्थामा स्तनपान गराउनु हुँदैन, स्तनपानको समय आमाले पौष्टिक आहार खाई रहनुपर्दछ । बच्चाको शारीरिक एवं मानसिक बृद्धि आमाको दूधमा नै निर्भर हुन्छ । र दूधले बच्चालाई बल एवं स्फूर्ति दिइरहन्छ । यस कुरालाई कहिल्यै बिर्सनु हुँदैन । ध्यानमा राख्नु पर्ने कुरा के हो भने आमाले खाएको पदार्थबाट नै राम्रा पोषक तत्वयुक्त दूधको उत्पत्ति हुन्छ । तसर्थ सन्तुलित आहार लिन अति आवश्यक मानिन्छ । अन्त्यमा, स्तनपानका विषयमा सबैलाई जानकारी दिने अवसर दिनुभयो । धन्यावाद ।