रबिना पौडेल / १८ साउन, धादिङ – यो घर नारायण घिमिरेको हो । घरको बरण्डामा टनक्क मिलाएर राखिएका काठको बक्सा मौरीका घारहरु हुन् । उनले बर्षाैदेखि सदरमुकाम धादिङबेसी स्थित शान्तबजारको आफ्नै घरमा यसरी नै मौरी पाल्दै आएका छन् ।
नेपाली सेनाको जागिरबाट रिट्याएर लिएर घर फर्किएका घिमिरेको मुख्य आम्दानीको स्रोत नै अहिले मौरी व्यवसाय भएको छ । ३ तले पक्की घरको छतमा र हरेक बराण्डामा मौरीका लागि घर राखेका छन् । ९ वर्ष यता मौरीपालनलाई नै मुख्या पेसा बनाउँदै आएका छन् ।
थोरै लगानी र कम मेहनतमा धेरै फाइदा लिन सकिने भएकाले मौरी पालनलाई व्यवसायिक ढंगबाट अघि बढाउदै गरेको घिमिरे बताउँछन् । घिमिरे भन्छन्–‘मह किन्न मानिसहरु पहिल्यै अढर गरेर घरमा नै लिन आउछन्, विक्रिको लागि समस्या हुँदैन ।’ खेरा जाने फूलका रसहरुको सदुपयोग गर्न, वरिपरीका बोटबिरुवामा परागसेसन गराएर राम्रो र रसिलोफल फलाउन सकिने भएकोले यस्तो पेशा रोजेको उनले बताए ।
घिमिरेसंग हाल १ सय ओटा आधुनिक घार छ । मानोको ५ सय रुपैयासम्ममा उनले घरबाट नै मह बिक्रि गर्ने गरेका छन् । वार्षीक ४ लाख रुपैया बराबरको मह बिक्रि हुने गरेको उनको अनुभब छ । मौरी पालन सुरु गर्छु भन्ने किसानहरुलाई घारै समेत बेच्ने गरेको घिमिरेले बताए । मह बिक्रिबाट भएको आम्दानिले २ छोरा र २ छोरीको पढाइ खर्च र परिवारको खर्च धानेको छ ।
पैसा कमाउन कि त जागिर नै खानु पर्छ, की ठूलै लगानी देखाउनुपर्छ नत्र बिदेशिनु पर्छ भन्ने कुरालाई चिर्दै नारायण घिमिरे उदाहरणीय मौरी पालक कृषक बनेका छन् । मौरी पालन सम्बन्धि धेरै तालिम र कार्यक्रमहरुले पनि उनलाई मौरी पालन गर्ने उर्जा थपिएको हो । १ हप्ते मौरी विकास साखागोदावरी–२०५६, १ हप्ते गण्डकी बी कन्सन, जिल्ला कृषि विकास कार्यलयले आयोजना गरेको मौरीपालन सम्बन्धि ३ दिने तालिम २०७० जस्ता तालिमहरुमा उनी सहभागी भएका छन् ।
उता चैनपुरकी तेजकुमारी अर्याल पनि धादिङबेसीको पुछारबजारमा आधुनिक मौरी पालनबाट सन्तुष्ट छिन् । चैनपुर – ८ सुनखानीकी तेजकुमारीले आफ्नै घरको कौसीमा मौरी पालिरहेकी छन् । एक विद्यालयको कार्यालय सहयोगीको जागिर गर्दै आएका तेजकुमारीले जागिर छोडेर घरको कौसीमा आधुनिक घारमा मौरी पालन सुरु गरेका हुन् ।
श्रीमान् विदेशमा भएकोले एक बर्षिय छोराको स्याहारसम्हारसंगै घरमै बसेर मौरीको हेरचाह गर्ने गरेकी छन् । श्रीमान्को सहयोगमा सुरु गरेको यो व्यावसाय अहिले उनी आफैँले सम्हाली रहेकी छिन् । तेजकुमारी भन्छिन् –“खासै धेरै लगानी र मेहनत नगर्दा पनि आम्दानी हुने भएकोले घरको काम र छोरोको हेरचाहा गर्दै मौरी पालन गरिरेकी छु । मेरो विचारमा विशेष गरी बेरोजगार र घर छोडेर बाहिर जान नमिल्ने महिलाहरुको लागि मौरी पालन व्यावशाय ज्यादै सहज, राम्रो हुन्छ ।”
२ वर्ष अघिबाट २ लाख लगानीमा सुरु भएको मौरी पालनबाट वार्षिक १ लाख ५० हजार सम्म आम्दानी गरिरहेकी छन् । उनले महलाई ६ सय रुपैया मानोमा, मौरीघारलाई ६ हजार ५ सय देखि ८ हजार सम्ममा बिक्रि गरिरहेकी छन् । वर्खा मौसममा मौरीलाई हुकाउन हिउदमा जस्तो सहज नभएकोले १५ बटा घार बेचेर १२ वटा मात्र राखेकी छन् ।
मौरी पालन सुरुमा उनी आफैले लगानी गर्नु परे पनि जिल्ला कृषि कार्यलयले पछि भनेको बेलामा घार उपलब्द गराएर, युवा लक्ष्यित अनुदान दिएर सहयोग गरकोले मौरी पालान गर्न ज्यादै सजिला भएको बताउछन् । वर्षायाममा चरण क्षेत्रमा समस्या, अरिङ्गाल, कमिला, माउसुलीहरुको जोखिमहरु लाई सामना गर्दै उनले मौरी पालन व्यवसाय गरिरहेकी छन् ।
नारायण र तेजकुमारी त उदाहरणका पात्र मात्र हुन् । उनीहरु जस्ता मौरी पालक कृषकहरु धेरै छन् । धादिङको नलाङ, जोगिमारा, नौविसे, मैदी, ढोला, नीलकण्ठ जस्ता गाउँ विकास समितिका किसानहरुले मौरी पालन गरेर प्रशस्त लाभ लिगिरहेका छन् । तर अझै पनि किसानहरुले आधुनिक प्रविधिसंग जोडिन नसकेकोले जिल्ला कृषि बिकास कार्यालयले त्यसतर्फ ध्यान दिनुपर्ने किसानहरु नै बताउँछन् ।
जिल्ला कृषि बिकास कार्यालयले पनि मौरी पाल्न चाहने कृषकहरुलाई बिभिन्न सल्लाह तथा सहयोग उपलब्ध गराउँदै आएको छ ।