१७ साउन – भारतले वेष्ट इन्डिजसँगको दोस्रो टेस्टको पहिलो पारीमा एक सय ६२ रनको अग्रता लिएको छ । १२६–१ को अवस्थाबाट दोस्रो दिनको खेल सुरु गरेको भारतले पाँच विकेटको क्षतिमा तीन सय ५८ रन बनायो । भारतको पाँच विकेट अझै बाँकी छ ।
भारतका लागि लोकेश राहुलले महत्वपूर्ण भूमिका खेले । राहुलले १५ चौका र तीन छक्काको मद्दतमा एक सय ५८ रन बनाए । उनले पहिलो दिन नटआउट ७५ रन बनाएका थिए । राहुलले आफ्नो टेस्ट करिअरमा तेस्रो शतक बनाए । उनले गएको जुनमा जिम्बाबेसँगको खेलमा एक दिवसीय करिअरको पहिलो शतक बनाएका थिए ।
छैटौं टेस्टको ११ औं पारीमा तेस्रो शतक बनाएका राहुलले यसअघि अस्ट्रेलिया र श्रीलंकासँगको खेलमा शतक बनाएका थिए । उनले वेष्ट इन्डिजमा करिअरको पहिलो टेस्ट पारीमा सबै भन्दा धेरै रन बनाउने भारतीय क्रिकेटरको कीर्तिमान आफ्नो नाममा गरेका छन् ।
यसअघि यो कीर्तिमान पाली उमरिगरको नामा थियो । उमरिगरले १९५२–५३ को सिरिजमा वेष्ट इन्डिजमा खेलेको आफ्नो पहिलो पारीमा एक सय ३० रन बनाएका थिए । राहुलको विरेन्द्र सहवाग, विविएस लक्ष्मणसहितका पूर्व खेलाडीले प्रशंसा गरेका छन् । एजेन्सीको सहयोगमा