१९ पुस, धादिङ – माघ ७ गते साँझसम्म मस्यौदा तयार पारेर पनि ८ गते देशमा नयाँ संविधान जारी गर्न सकिने नेकपा एमालेका स्थायी समिति सदस्य एंव पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले बताउनु भएको छ ।
विवादित विषयमा दलहरु सहमति नजिक पुगिसेकको स्पष्ट पार्नुहुँदै उहाँले माघ ८ मा नयाँ संविधान जारी हुने जिकिर गर्नुभयो । प्रेस चौतारी धादिङले शनिबार धादिङबेसीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पाण्डेले सहमतिबाट संविधान जारी नभए प्रक्रियाबाट भएपनि संविधान जारी हुनेमा विश्वस्त पार्नुभयो । सबैको चित्त बुझ्ने गरी संसारका कुनै पनि देशमा संविधान जारी नभएको स्मरण गराउनुहुँदै पाण्डेले कसैले जलाउछु भन्दैमा संविधान जारी गर्नबाट पछि नहट्ने ठोकुवा गर्नुभयो ।
देशमा राजतन्त्रको अन्त्य हुने समययमा पनि कसैले विश्वास नगरिरहेको समयमा राती १२ बजेबाट गणतन्त्र स्थापना भएजस्तै संविधान जारी हुने संभावना बलियो रहेको नेता पाण्डेको दावी गर्नुभयो । विपक्षहरुले १५ सय जनताको साथ लिएर आन्दोलन गर्दैमा संविधान निर्माणमा अवरोध नहुने बताउनुभयो ।