१४ साउन, धादिङ – आन्द्राको क्यान्सरबाट पीडित बक्सिङ खेलाडी इन्द्रबहादुर मगरको निधन भएको छ । दक्षिण एशियाली खेलकुद सागका काश्य पदक बिजेता मगरको उपचारका क्रममा निधन भएको हो ।
आन्द्राको क्यान्सरपछि ललितपुरको हरिसिद्धिमा उपचार गराइरहेका बक्सिङ खेलाडी मगरलाई बिहीबार राति आठ बजे डाक्टरले मृत घोषणा गरेका थिए । उनी दुई बर्षदेखि क्यान्सरको उपचार गरिरहेका थिए ।
२०२७ साल असार ३० गते तनहुँको आँवुखैरेनीमा जन्मिएका मगरले २०५५ सालमा काठमाडौंमै भएको आठौं दक्षिण एशियाली खेलकुदमा काश्यपदक जितेका थिए । उनले ५१ केजीमुनि तौल समूहबाट सो उपलब्धि हाँसिल गरेका हुन । त्यसको एक बर्षअघि उनले भारतमा भएको नेहरु कप बक्सिङमा पनि काश्य पदक जितेका थिए ।
२०४६ सालमा नेपाल पुलिसमा भर्ना भएपछि राष्ट्रय बक्सिङमा उनको तौल समूहमा उनले लगातार स्वर्ण जितेका थिए । उनी २०५६ सालसम्म पुलिस क्लवमा रहे । खेलाडीको रुपमा लामो समय योगदान गरेपछि उनी सन् २००० यता कोरियामा बस्दै आएका थिए ।