१३ साउन, धादिङ – हेटौँडामा पहिलो पटक मिस नेवाः नारायणी प्रतियोगिता हुने भएको छ । नेवाः साँस्कृतिक पुचः मकवानपुरले प्रतियोगिता आयोजना गर्न लागेको हो ।
पुचःले बुधबार पत्रकार सम्मेलन गरि नेवारी भाषा, संस्कृतीको संरक्षण र विकास गर्ने प्रतियोगिताको उद्देश्य रहेको जानकारी दिए । प्रतियोगिताको बिजेताले मिस नेवाः नारायणीको उपाधीसंगै तीस हजार नगद प्राप्त गर्नेछ । उपाधीसँगै बिजेताले मिस नेपालमा सहभागी हुन पाउँनेछ भने हेटौँडा मुभी मेकर्सले बनाउँने फिल्ममा उपयुक्त भुमिकामा अभिनय गर्न पाउँनेछ ।
प्रतियोगिताको फस्ट रनरअपले नगद बीस हजार र सेकेन्ड रनरअपले नगद दश हजार सहित अन्य पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगितामा प्रमुख अतिथिको रुपमा मह जोडी अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य आउने टुङ्गो लागेको पुचःका अध्यक्ष विष्णुगोपाल महर्जनले बताए । पूर्व मिस नेपालद्वय मलिना जोशी, उषा खड्गी, नायिका आशिष्मा नकर्मी, कलाकार महेश शाक्य कर्मा लगाएत प्रतियोगितामा निर्णायक रहनेछन् । बरिष्ठ फोटोग्राफर राजभाई सुवालले फोटोसुट गर्ने प्रतियोगितामा रविन्द्र बज्राचार्यले कोरियोग्राफी गर्ने जनाईएको छ ।
एसएलसी उर्तिर्ण गरेका १६ बर्षदेखि २२ बर्षसम्मका नेवार युवतीले प्रतियोगितामा सहभागी हुन पाउने जनाईएको छ । प्रतियोगिताको प्रत्येक सहभागीका लागि एक हजार फर्म शुल्क र नौ हजार पाँच सय शुल्क तोकिएको छ । करीब ३५ दिनको प्रशिक्षण सहितको कार्यक्रम रहेको बताउँदै अध्यक्ष महर्जनले ग्ल्यामरलाई जोड नदिई रहनसहन, भेषभुषा, संस्कृतीलाई प्रतियोगितामा प्राथमिकता दिईने बताए । सहभागीलाई अफिसियल ड्रेस दिएर भेषभुषा, रहनसहन, संस्कृतीबारे काठमाडौँ भ्रमण तथा नेवारी भाषा नजान्नेलाई तालिम समेत दिईने उनले जनाए ।
सहभागी छनौटका लागि भदौ ५ गतेदेखि हुने अडिसन हेटौँडा, चितवन, बिरगञ्ज र चन्द्रनिगाहपुरमा गरिने बताइएको छ । करिब दश लाख २० हजार खर्च लाग्ने प्रतियोगिताबारे झण्डै लोप भईसकेको कटवाल प्रथा शैलीमा हेटौँडाको चोकचोकमा जानकारी दिईने पनि बताईएको छ । मिस नेवाः नारायणीको फर्म बिहीबारदेखि हेटौँडाको आकर्षण व्युटि पार्लर, ओम चलचित्र मन्दिर र एमसी ब्याङ्क्वेटबाट लिन सकिने पुचःका अध्यक्ष विष्णुगोपाल महर्जले बताए ।