७ साऊन, धादिङ- आर्थिक बर्ष ०७२/०७३ मा धादिङ जिल्लामा २० करोड १० लाख भन्दा बढि रकम फ्रिज भएको छ । जिल्लाका लागि बिनियोजित चालु तर्फको कुल बजेट २ अर्ब ९८ करोड ८१ लाख २ हजार ८ सय ६२ रुपैयाँ मध्ये २० करोड १० लाख १ हजार ५ सय ६६ रुपैया भन्दा बढि रकम फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालय धादिङका प्रमुख कोष नियन्त्रक यज्ञप्रसाद ढकालले बताए ।
जिल्लाका लागि पूँजीगत तर्फ ८० करोड ४ लाख ९८ हजार भन्दा बढी रकम बिनियोजन भए पनि ५७ करोड १५ लाख ७७ हजार रुपैयाँ मात्र खर्च भएको छ भने बाँकी २२ करोड ८९ लाख २१ हजार रकम फ्रिज भएको कोष नियन्त्रक ढकालले जानकारी दिए । बिनियोजन भएको बजेट समेत खर्च हुन नसक्दा जिल्लामा विकास निर्माणका काम प्रभावित भएको स्थानीयको गुनासो छ । यसैगरि धादिङ जिल्लामा गत वर्षको तुलनामा आर्थिक वर्ष २०७२/०७३ मा राजस्वमा वृद्धि भएको छ ।
गत आर्थिक वर्ष १९ करोड, ७५ लाख ८३ हजार राजस्व संकलन भएकोमा आर्थिक वर्ष ०७२/०७३ मा ५ करोड १५ लाख ४३ हजारले वृद्धि भइ कुल २४ करोड ९१ लाख २६ हजार १ सय ४६ रुपैया संकलन भएको छ । यो वर्ष राजस्वमा २६ दशमलब ०९ प्रतिशतले वृद्धि भएको कोष तथा लेखा नियन्त्रक कार्यालय धादिङले जनाएको छ ।